February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

चौथो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा सुगुपलाई चार अवार्ड

1.4K

काठमाडौँ । लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘सुगुप’ले ४ वटा अवार्ड प्राप्त गरेको छ । राजधानीको सभागृहमा ३ दिने कार्यक्रमसहित सम्पन्न चौथोँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव –२०८१ मा सुगुपलै पब्लिक च्वाइस, उत्कृष्ट छायांकन, उत्कृष्ट सम्पादन र उत्कृष्ट पाश्र्व संगीत गरि ४ ओटा अवार्ड हात पारेको हो ।

सुगुपले पब्लिक च्वाईस अवार्डसहित नगद रु. ३५ हजार हात पारेको छ । उत्कृष्ट छायांकनको लागि युवराज राई, उत्कृष्ट सम्पादनमा बिपिन मल्ल र उत्कृष्ट संगीत अशोक लोहोरुङले ग्रहण गरेका थिए ।

लिम्बू जातिमा प्रसव पिडा अथवा सुत्केरी ब्यथाको कारण ज्युँदो या मृत बच्चा जन्माउने क्रममा अथवा प्रसुति व्यथाकै कारण अकालमा मृत्यु हुने महिलालाई सुगुप नाम दिइने गरिन्छ । सुगुप भएर मृत्युवरण गरेकी महिलालाई गरिने मृत्युु संस्कार सामान्य मृत्युमा गरिने संस्कारभन्दा केही अलग हुन्छ । सुगुप भएको महिलाको मृत्यु संस्कार गर्न येबा (बिजुवा) हरुको महत्वपूर्ण भूमिका रहन्छ ।

Advertisement

वियोगान्त कथा बोकेको चलचित्र सुगुपभित्र वैवाहिक संस्कार, रितिथिती, गरीबीभित्रको पीडालाई सामाजिक समस्याको रुपमा देखाईएको छ ।

लिम्बू जातिमा गर्भावस्थाको बेला साप्पोक चोमेन पुजा अनिवार्य गर्नुपर्ने हुन्छ । बिजुवा फेदाङ्माहरुबाट बिशेष मुन्धुमद्वारा आमा र बच्चाको स्वास्थ्य लाभको निम्ति प्रकृति, खोलानाला, देवीदेउराली, माङहरुसँग बल आशीर्वाद माग्ने परम्परा र धार्मिक विश्वास रहिआएको छ ।

यस्तो पुजा आराधना गर्दा र नगर्दा हुने असर र यस्ले निम्त्याउन सक्ने दुर्घटनालाई चलचित्रमार्फत छर्लङ्ग रुपमा देखाईएको छ ।

पूर्व नेपाल ताप्लेजुङको रमणिय स्थलहरु नाल्बू र साँबा, याङ्वरक पाँचथर, तेह्रथुम, काठमाडौं, मकवानपुरको कुलेखानीको पर्यटकीय स्थलसहित भारतको आसाममा छायाङ्कन गरिएको चलचित्रको निर्देशन लोकेन साँबा लिम्बुले गरेका हुन् । साँवा यस चलचित्रका कथाकार र निर्माता पनि हुन् । देवेन्द्र खापुङ सुर्केलीले पटकथा तयार पारेका हुन् ।

चलचित्र सुगुपमा प्रेम सुब्बा, यासेली योङहाङ, मौसम ईम्बुङ लिम्बू, (फुलेन्देको बाउ), बबिता नेयोङहाङ, सुम्निमा खापुङ, डम्बरकुमारी पयाङगो मेन्याङबो, योमन सोदेम्बा, सागर केरुङ, रुकमान लिम्बू, निता लिम्बू, पन्ना आङबो, एम के योङहाङ, तीर्थ मादेम्बा, उदय बेघा, लिला सेत्लिङ माबो, ईन्द्र पंधाक, युवराज ईश्बो, थानाहाङ तिगेला शैलेन्द्र कुमार नाल्बो, रबिन इन्द्र सेर्पा लगायत कलाकारहरुको अभिनय रहेको छ ।