June 12, 2024, Wednesday
२०८१ जेष्ठ ३०
1:37:26 pm

गाउँ आएको बाटोः जुन बाटोले सपनाको सौदाबाजी गर्छ

संगीता रोका मगर
२०८१ जेष्ठ २७

4.3K

हामी कलाकार राजेश हमालको दबदबाको बेला पहिलो फिल्म हेरेको पुस्ता । त्यो पनि छिमेकी भाउजूले दाइजोमा ल्याएको चौध इन्चको एलजी टिभीमा सिडी लगाएर पहिलोपटक हेरेको । हरेक शनिबार नेपाल टेलिभिजनमा आउने एउटा नेपाली चलचित्र हेरेर हुर्किएको पुस्ता ।

फिल्म भनेकै एउटा कल्पनाको जिन्दगी हो जहाँ रोनाधोना, गीत, नृत्य हुन्छ भनेर बुझेको पुस्ता । कथामा नायक हुन्छ जो कहिले गलत कार्य गर्दैन । खलनायक हुन्छ जसले कहिले सही काम गर्दैन । अनि एकपक्षीय सांस्कृतिक दबदबा फिल्ममा पनि हेरिन्थ्यो । मानसिकता नै कस्तो बनेको थियोभने फिल्म भनेको अलग्गै दुनियाँ हो जसमा हामी हुन सक्दैनौँ ।

कबड्डी फिल्मकी मुख्य नायिका रिश्मा गुरुङसँग मेरो अनुहार हल्काफुल्का अनुहार मिल्नुको संयोगले सोच्दै नसोचेको फिल्म क्षेत्रमा म पनि जोडिन आइपुगेँ । म भर्खरभर्खरै फिल्म लाइनमा छिर्दै थिएँ । जो दाङमा रहेर फिल्म मेकिङमा काम गर्दै हुनुहुन्छ, उहाँ अग्रजहरुले मलाई नुमाफुङ हेर्न सिफारिस गर्नुभयो र मैले नुमाफुङ हेरेँ ।

Advertisement

नुमाफुङमै पहिलोपल्ट हो, आफूजस्तै चिम्सा अनुहारलाई पर्दामा हेरेको । आफूजस्तै लुगा लाउनेहरुलाई पर्दामा हेरेको । अनि बल्ल थाहा पाएँ, हाम्रो पनि फिल्म बन्दोरहेछ । हाम्रो जीवनजस्तै फिल्म पनि बन्दोरहेछ ।

उनै निर्देशक नवीन सुब्बाको फिल्म ‘गाउँ आएको बाटो’ हलहरुमा लाग्ने भएपछि घोषणा भएको मितिले म उत्साहित थिएँ । तर डर पनि थियो किनभने यस्ता फिल्महरु फिल्म हलमा लामो समय चल्दैनन् । हेर्न त पहिलो शो नै हेर्न मन थियो तर मेरो श्रीमान् आइतबार बिहानमात्रै दाङ आइपुग्ने हुनाले उसले सँगै हेर्न जाउँला भनेको भएर हाम्रो टिमले आइतबारको शो हेर्ने योजना बनायौँ ।

म आइतबारको योजना अनुसार नै ढुक्क भएर बसेको थिएँ । त्यही बेला दाजुको फोन आउँछ साँझको ५ः३० बजे, “आजै हेरौँ फिल्म”, त्यसपछि हतारहतार म तयार भएर पन्ध्र मिनेटमा हलमा पुगेँ । बाहिर वेटिङ रुममा केही दर्शकहरु बसिराखेका थिए । हाम्रो टिम पाँचजनाको थियो र मैले सोचेँ, आज आएर ठिक गरिएछ ।

फिल्म निर्धारित समयभन्दा पन्ध्र मिनेट ढिलो सुरु भएको थियो । पर्दामा दयाहाङ राई देखिएनन्, मेरै बा देखिए । उसै पनि मेरा बाको कद काटीकुटी दयाहाङको जस्तै छ। अस्ति ’घर ज्वाईं’को सुटिङको बेला मगर पहिरन लगाउँदा पछाडिबाट र टाढाबाट दुरुस्तै मेरा बाजस्तै देखेको थिएँ । घर फर्किएपछि बालाई मैले फोटो देखाउँदा बा हाँस्नुभएको थियो ।

अँ त, पर्दामा मेरै बा देखिए । पशुपति राई मेरै आमा देखिइन् । अनि बिन्द्रे चाहिँ मेरै भाइ विकास । यसमा मेकअप र कस्ट्युम डिजाइनको उत्कृष्ट काम थियो ।

बाँसका चोयाबाट विभिन्न सामग्री बनाउन पोख्त माइलाको सीप हेरेर माइलीले बिहे गरेको जस्तै काठ र निगालोका सामानहरु बनाउन सिपालु मेरा बाको सीप हेरेर मेरी आमाले बिहे गरेकी हुन् । नत्र त मध्य किशोरावस्थामै घरको र भाइ बहिनीको जिम्मेवारी लिएर बसेका मेरा बासँग त्यो बेला हातमा भएको काठ र निगालो बनाउने सीपबाहेक अरु थोक कुनै सम्पत्ति थिएन ।

कथा अघि बढ्दै जान्छ । गाउँमा बाटो आइसकेपछि बाटोमात्रै होइन, थेरै थोक गाउँ आइपुग्छ । ईन्द्रीयहरुलाई भ्रममा पार्ने बहुराष्ट्रिय कम्पनीहरुका उत्पादन, जोसँग गाउँको सीपमूलक उत्पादनहरुले मुकाबिला गर्न सक्दैनन् ।

म आफ्नै गाउँ सम्झिन्छु । गाउँमा अहिले तिर्खा लाग्दा खाइने दुध, दही, महीलाई कोक, फेन्टाले प्रतिस्थापन गरिसकेको छ । मेलामा जिउ तातिएको बेला स्वात्त पार्ने कोदो, जौको जाँडलाई बियरले प्रतिस्थापन गरिसकेको छ । भोक लागेको बेला खाने भुटेको मकै र पोलेको आलुलाई मःम, चाउमिन र चटपटेले प्रतिस्थापन गरिसकेका छन् । हामी सानो छँदा चाडपर्वमा मात्रै खाइने पाइने चामल, त्यो नभए आजभोलि कसैले खाना खाँदैन ।

तर याद गर्नुभएको छ ? गाउँमा कोकाकोला जाँदैन, कोलाकोला जान्छ । फेन्टा जाँदैन, फुन्ता जान्छ । माउन्टेन ड्यु जाँदैन, माउन्टेन भ्यु जान्छ । कहिले नाम नसुनेका प्याकेट फुड भेटिन्छन् । अधिकांश प्याकेट फूडमा उत्पादन मिति, प्रयोग गरिएका सामाग्री र समाप्त मितिं (एक्सपायरी) भेटिंदैन ।

गाँउमा आफ्नै बारीमा उत्पादन गरेर वर्षदिनभित्र खाइने सोझा सिधा गाउँलेलाई यो कुरा थाहा हुँदैन कि यी प्याकेटका खानेकुराहरु निश्चित समयभन्दा पछि उपभोग गरियोभने यी विष हुन् भनेर । जिब्रोलाई भुलाउने बहुराष्ट्रिय कम्पनीका यस्ता खानेकुराहरुलाई मीठो बनाउन कति रासायनिक तत्त्व मिसाइएको हुन्छ भनेर सोझा गाउँलेहरुलाई कसरी थाहा होस् !

बिन्द्रेका बा र मेरा बामा एउटा कुरा को फरक छ । कि बिन्द्रेका बा बिन्द्रेको सपना पूरा गर्न विदेश जाँदैनन् । बरु डुल्छन् धरानका गल्लीगल्ली । तर मेरा बा अरबको गर्मीमा पसिना बगाउँछ्न् र हाम्रो घरमा पहिलोपटक बासँगै टिभी पनि आएको थियो । बिन्द्रेका बा विदेश जाँदैनन् यसैले गाउँ आएको बाटोले अन्ततः सपना देखाएर जिन्दगी नै लैजान्छ । गाउँबाट गाउँको मौलिकता लैजान्छ । बिन्द्रे टिभीहेर्न नपाएर छट्पटिंदा अनि धरानका गल्लीहरुमा माइला फिपी बिक्री नभएर छट्पटिंदा बरु माइला विदेश गए पनि हुन्थ्यो भन्ने लागिरह्यो । देश भन्नु, देशप्रेम पनि एउटा फगत भावना नै त हो । फेरि घरी लाग्थ्यो, बिन्द्रेले त्यस्तो सपना, रहर नै किन देखिराखेको होला, जसले आफूसँगै परिवारको खुसी नै धरापमा पारिदियो । वा माइलामाइलीले अलि राम्रोसँग सम्झाएको भए हुने, यो सपना अहिले पूरा गर्न सकिँदैन अलि समय लाग्छ भनेर । सायद पहिलो सन्तान गुमाएको भएर होला, बिन्द्रेले घुर्की लाउँदा उसको सबै रहर पूरा गरिदिन उद्दत छन् । त्यसो पो नगर्नुपर्थ्यो कि ? तर, त्यसो हुँदैन । बिन्द्रेको सपनाको दुखद अवसान हुन्छ र चलचित्र सकिन्छ।

विकास सबैको अधिकार हो । यातायात, सञ्चार, खानेपानी आधारभूत अधिकार हो । तर समुचित र दियो विकास, अनि यसको असरबारे हामी दीर्घकालीन रुपमा नसोच्दा अहिले विकासले विनासको रुप लिएको छ । हामीले जसरी यसको फाइदा लिनुपर्ने थियो, त्यो रुपमा लिइरहेका छैनौँ ।

न त सरोकारवाला पक्षबाट नै पर्याप्त पहलहरु भएका छन् । एकातिर यहाँ उत्पादन भएका उत्पादनहरुले बजार पाउँदैनन् भने अर्कोतिर बाहिरबाट आयात गरेका वस्तुले हाम्रो दैनिकी चलिरहेको छ । तर हामी अन्जान छौँ यसको दीर्घकालीन असर के हुन्छ भनेर ।

गाउँगाउँमा बाटो त पुगेको छ, तर यससँगै गाउँका उत्पादन बजारीकरण गरेको भए फलदायी हुने थियो । तर अफसोच, गाउँ जाने गाडीले मान्छे बोकेर शहर पुर्याउँछ र गाउँ रित्तिंदो छ । गाउँ पुगेको बाटोले गाउँलाई रैथाने उत्पादन र मौलिक कला संस्कृतिको हब बनाउनुपर्थ्यो। तर अफसोच, गाउँ पुगेको बाटोले तिनको तस्वीर खिचेर शहरको प्रदर्शनीमा राख्छमात्रै !