June 12, 2024, Wednesday
२०८१ जेष्ठ ३०
1:37:26 pm

गाउँ आएको बाटोः आँसुको नदी

मुनाराज शेर्मा
२०८१ जेष्ठ २६

2.9K

गाउँमा सडक आएपछि एक्कासी आएको परिवर्तनले कसरी ग्रामीण जीवनमा असरहरु ल्यायो भन्ने पक्षलाई चलचित्र ’गाउँ आएको बाटो’ले सुक्ष्म ढङ्गले दर्शाउन सफल भएको छ ।

बाँसको काम गर्ने गाउँले किसान, राई माइलाले चोयाबाट बुनेको चिम नबिकेको दृश्यले मन कटक्क खान्छ । मात्र एउटा बहुराष्ट्रिय कम्पनीको त्रिपालले सयौं वर्षअघिको मौलिक रैथाने सीपलाई खर्लप्पै खान्छ । बाँसको सामान बिक्दैन । हाम्रो रैथाने ज्ञान आजको आजै बनेको होइन । यो बन्न पुस्तापुस्ताको योगदान छ । तर पुँजीवाद र बजारवादले त्यो सिध्याउन अलिकति पनि समय लगाएन । रैथाने ज्ञान समाप्तिको समस्या अहिले विश्वव्यापी संकट हो । पुँजीवाद र बजारवाद आदिवासी रैथाने ज्ञानको समाप्तिमा मुख्य जिम्मेवार छ भन्छ सिनेमाले । सारा विश्व नै यो पीडाले आक्रान्त छ भन्ने सिनेमाको मुख्य सन्देश हो ।

दयाहाङ राईको समुच्च अभिनय छ, ’गाउँ आएको बाटो’मा । पाखा, खोल्सा, डाँडा काटेर चिम किन्छु भन्नेको घरमै पुर्याउँदा “त्रिपाल किनेँ, तिम्रो चिम चाँहिदैन,“ भनेर अस्वीकार गर्दा र चिम नबिक्दा राई माइलाको अनुहारमा आएको निरासाको जुन मुस्लो छ, त्यो हाम्रो दुःखको अविश्राम मुस्लो हो । त्यो भाव अनुहारमा निर्माण गर्नु, चिम बुन्ने र बेच्नेले भोगेको दुःख शब्दमा नबोलिकन अनुहार र शरीरको भावभङ्गीले भन्नसक्नु लरतरो कुरा होइन । यो संसारभर रैथाने उत्पादन गर्ने र घरेलु उद्योग चलाइरहेका आम उत्पादकहरुको दुःख हो । चोया काढ्न पर्याङको भारी घिसार्दै घर आएको दृश्यले सुरु भएको सिनेमा सारा प्रयासहरु असफल भएपछि थातथलो छोडेर त्यही गाडी चढ्न त्यही बाटो रोजेर हिंडेको दृश्यबाट सिनेमा सकिन्छ । राई माइलाको जीवनप्रतिको लगाव मरेको छैन । मानिस बाचिन्जेल हरेक समस्यासँग जुध्न वैकल्पिक उपायहरुसँग बाँच्नुपर्छ भन्ने चिन्तन सिनेमाको हो । धेरै बोलेर भन्दा सहमतिमा जीवन अगाडि लैजाने माइलाको स्वभाव देखिन्छ । भुईंमान्छे भएकै उनको जीवनमा त्यस्तो ठूलो उद्देश्य छैन । मानिसले सपनाहरू उसको ल्याकतअनुसार नै राख्छ तर त्यो सपना पूरा गर्न हरेकलाई उत्तिकै जटिलता महसुस भए पनि धनसम्पत्ति हुनेले त्यो सहजै पूरा गर्न सक्दछ । संस्कृति, धनसम्पत्ति, सीपको आपसी द्वन्द्वमा समाज जेलिएको देखिन्छ । एउटा टेलिभिजन खरिद गर्न पनि भुईंमान्छेलाई कति जटिल छ, उसको जिन्दगी नै त्यही उद्देश्य प्राप्तिमा लाग्दालाग्दै समाप्त भएको छ । त्यही ठाउँमा लाहुरेलाई ट्याक्टर किन्नभने कुनै समस्या भएन । हामीले देख्दै आएको प्राकृतिक रुपमा पहाडका सुन्दर गाउँहरुको अव्यक्त दुःख सिनेमाले बोलेको छ । एउटा सानो सपनाको झ्याङमा अल्झिएर साना मान्छेहरुको आयु समाप्त भइराखेको कथाले दर्शकको मन चुडाउँछ ।

Advertisement

सिनेमाका सानासाना कथाहरुको अन्तरसम्बन्धलाई निर्देशकले ताजापन र जीवन्तता दिएकै कारण दर्शकलाई निरन्तर तानेर राख्न सफल भएको छ । वास्तवमा जोकोही भुईंमान्छेको जीवनमा खुसी अतिदुर्लभ हुन्छ । त्यो बेलाबखतमात्र बाहिर आउँछ, यस पक्षलाई निर्देशकले न्याय गरेका छन् । जस्तो, रक्सी बेचेर आएको बाह्रसय रुपैयाँले माइलामाइलीमा कत्रो आनन्द संचार हुन्छ ! त्यो खुसी पनि उत्सव मनाएजस्तो नगरी साउतीमा मनाउँछन् उनीहरु । कति गोप्य र जतनसाथ लुकाएर राख्छन् खुसीलाई ! यस्तै सानासाना घटनाको मेहेरोमा जीवनलाई सङ्गाल्दै, सम्हाल्दै गाउँलेहरुले आफ्नो जिन्दगी डोर्याइरहेको कथाहरुले वास्तवमा एउटा गाउँ बाँचिरहेको हुन्छ ।

कथित विकासको कारण मानिसहरूले सयौं वर्षदेखि निर्माण, संरक्षण गरी आएको र जीविकोपार्जन गर्ने सीपलाई विस्थापित गर्दा हाम्रो इतिहास, संस्कृति समेतबाट विस्थापित होइन्छ । बाँसको काम मुन्धुममा पनि उल्लेख छ । पहिलो घर बाँसकै बनेको कथा छ । त्यही सीपले समाज चली आयो । पशुपालन खेती दैनिकी चल्यो । त्यो हाम्रो इतिहास, परम्परा संस्कृति बन्यो, आर्थिक नीति बन्यो । जीवन र समाज चलाउने समाजशास्त्र बन्यो । तर त्यसलाई त्रिपालले एकै झपटमा विस्थापित गर्यो, इतिहास, संस्कृति, परम्परा, जीवन जिउने आधार नै समाप्त गर्यो ।

राज्यको एकलकाँटे नीतिले घरेलु उत्पादन विस्थापित गरेर बहुराष्ट्रिय उत्पादन बेरोकटोक बेच्न दिने नीतिको पर्दाफास भएको छ सिनेमामा । हामीले भन्दै आएको कुरा हो, राज्यले नै हाम्रो स्थानीय उत्पादनको संक्षरण र प्रवर्द्धन गरिदिनुपर्यो । नत्र कम्तीमा यो फस्टाउने नीति राज्यले बनाउनुपर्यो । तर, उल्टै घरेलुु मदिरा अखाद्य भन्दै नष्ट गर्ने, मुद्दामामिलाको झन्झटमा फसाइदिने नीति राज्यको छ । जबकि, त्यो कोदोको रक्सी, जाँड सदीयौं पुरानो आदिवासी रैथाने ज्ञान हो । विदेशी मदिरा खुलेआम बिक्रीवितरण हुने, रैथाने उत्पादनमा बन्देज लगाउने नीतिको कलात्मक प्रतिरोध छ सिनेमामा । विकसित देशले आफ्नो स्थानीय उत्पादनलाई ब्राण्डिङ गरेर अन्तर्राष्ट्रियकरण गरी मनग्य आम्दानी गर्छ, हामी त्यो किन्छौं तर हाम्रै रैथाने उत्पादनलाई निषेध गर्छौं । हामी पछाडि धकेलिनुमा रैथाने सीपविरुद्धको नीति जिम्मेवार छ भन्छ सिनेमाले ।

माइलाले शहरमा बेच्न ल्याएको फिपी बिक्दैन । शहरले रैथाने सीपलाई अस्वीकार गर्दै गरेको अवस्था हो यो । शहर प्लास्टिक, धातु, कस्मेटिक उत्पादनसँग बढी मोह राख्दछ । शहर विज्ञापनमा विस्वास गर्छ । शहरले ग्रामीण भुईंमान्छेको आत्मालाई महसुस गर्दैन । अस्वीकार गर्छ उसको सीपलाई । शहर कसरी कृत्रिम हृदय बोकेर बाँचेको छ ! शहरले किन कुनै ग्रामीण किसानको सीपसँग उसको परिवारको भोक, स्वास्थ्य, उद्देश्य, सपना सबै जोडिएको हुन्छ, त्यो हामीले खरिद गर्दा पूरा हुन्छ, यसो गर्नु हाम्रो दायित्व हो भन्दैन ? तर गाउँ चुपचाप शहरले पठाएको कोकाकोला स्वीकार गर्दै उत्सव मनाउँछ । शहर छिरेपछि छोरीले बाबु नचिनेको अभिनय गर्नुपरेको छ । त्यही बाबुको अगाडि निर्लज्ज व्यभिचार गर्छ शहर । यो जटिल प्रश्न सिनेमाले वर्तमान समयलाई गरेको छ ।

मानिसहरु संघर्ष गर्दागर्दै पनि सानो उद्देश्य पूरा गर्न नसक्दा कसरी आफ्नो थातथलो छोड्न बाध्य हुन्छ, सिनेमाले छोराको लागि टेलिभिजन किन्न कसरी आमाबाबु लागिपर्छन्, तर असफल भएर आफ्नो पुर्खौली ठाउँ छोड्न बाध्य हुन्छ्न्, तर पनि जीवनसँग भने हार्दैनन्, त्यस्तो एक अथक भुइँमान्छेको कथा हो, ’गाउँ आएको बाटो ।’ सम्पूर्ण जीवन निरासा, असफलताले भरिए पनि बाँच्नुको विकल्प छैन । कायर भएर आत्महत्या गर्दैन जुझारु मान्छेले । यो संसारमा जहाँ गए पनि आखिर हामीजस्तै संघर्षशील मान्छे छन्, आफ्नो कर्म गरेर खान केहीले छेक्दैन भन्ने आशावादी चिन्तन छ । मान्छेले बनाएको हो यो समाज, आफन्त फेरि पनि बनाउन सकिन्छ । नयाँ विकल्पहरु प्राप्त गर्न सकिएला, जीवनलाई सधैं दुःखलेमात्र घेर्दैन होला नि ! एउटा झिनो आशा बोकेर गाउँ छोड्छ राई माइला ।

राज्यले भनेजस्तो पहाडी गाउँमा बाँच्न सजिलो छैन ।
राज्य भन्छ, गाउँ रित्तो भयो, बाँझो भयो, फर्क । तर, उसको रैथाने सीपको जगेर्ना गर्ने हो भनेमात्र गाउँ गरिखान लायक छ भन्छ सिनेमाले । र नीतिमा परिवर्तन आवश्यक छ भन्छ सिनेमाले ।

बच्चाहरुको छुट्टै अव्यक्त संसार हुन्छ । उनीहरुको आफ्नै सपना हुन्छ । पढाइ त वयस्क मानिसहरूले नानीहरुमाथि लादेको अनुशासन हो भन्छन् विज्ञहरु । छुट्टै खेलनियम, चालचलन, खुसी, नेतृत्व, समूहगठन, मित्रता, चञ्चलता, रिस, आवेग हुन्छ बच्चाहरूमा । एउटा बच्चा आफ्ना वयस्क अभिभावकहरुका बाध्यताबीच बलजफ्तीले बाँचिरहेको हुन्छ भन्ने बालमनोविज्ञानको सुक्ष्म पक्षलाई चलचित्रले प्रस्तुत गर्न सफल भएको छ । आमा, बाबु र छोराको सम्बन्धलाई कसिलो प्रेम, वात्सल्य र अभिभावकत्वको डोरीले बाँधेर बुनेको सिनेमा हो यो ।

कला, जीवन, संघर्ष, संस्कृतिको मेहेरोमा एउटा राई गाउँको अबोध राई माइलाको जिन्दगीको कथा हो, त्यसैले यो सिनेमामा शहरीया तडकभडक केही पनि छैन । आधुनिक रसरङ्ग छैन ।रङ्गीन सपनाहरुको तानाबाना छैन । यो निक्खुर गाउँको सोझो राई माइलाको जिन्दगीको कथा हो । उसको दैनिको हो । यति बुझ्योभने यो सिनेमा हेर्ने दर्शकले आफूलाई गर्वानुभुति अनुभूत गर्छ । नवीन सुब्बालाई नेपाली फिल्ममेकरहरुका सत्यजीत रे भन्ने गरिन्छ । उनलाई व्यापारिक हलिउड, बलिउड सिनेमा ट्रेण्डले भन्दा कलाको पक्षबाट हेरेर उनको सिनेमाको मुल्यांकन दर्शकहरुले गर्छन् । हामी हलमा जाँदा एउटा अब्बल दर्जाको आर्ट मुभी हेर्न जाँदैछौं, जसले नेपाली सिनेमा वृत्तमा फरक प्रस्तुति दिएको छ, त्यो सिनेमाले अरु कुनै सिनेमाबाट प्रभावित नभई निक्खुर नेपाली मौलिक कथा भन्छ सोचेर जब हेरिन्छ, तब नवीन सुब्बाको सिनेमालाई त्यही उचाइबाट मुल्यांकन गरेर हेरिन्छ । ’गाउँ आएको बाटो’ले त्यो उचाइ ग्रहण गरेको महसुस हुन्छ । नेपाल बहुजातीय, बहुसांस्कृतिक राज्य भएकोले यो देशभित्र विद्यमान सयौं सांस्कृतिक कथाहरु हाम्रै कथा हुन् भन्ने विशाल छाती र उदार हृदयले हेर्यौंभने हामीले नवीन सुब्बाको सिनेमाबाट भरपुर आनन्द लिनेछौं । यो यस्तो नेपाली सिनेमा हो जसले अन्तर्राष्ट्रिय सिनेमा महोत्सवहरुमा नेपाली सिनेमाको ब्राण्डिङ गर्न सफल भएको छ । निश्चय नै, भोलि यो प्रकारको नेपाली सिनेमाले विश्वबजारमा सम्मानजनक स्थान बनाउनेछ । त्यतिबेला हाम्रो सिनेमाले नेपाली अर्थतन्त्रमा पनि निश्चित प्रतिशत भरथेग गर्नेछ । त्यो दिन विश्वका उत्कृष्ट मञ्चहरुमा हामी ’गाउँ आएको बाटो’जस्तो नेपाली सिनेमाकै कारण सम्मानित भइराखेका हुनेछौं ।