नवीन सुब्बा निर्देशित ’नुमाफुङ’ हेरेपछि म यस्सै पनि सुब्बाको कामप्रति लोभिएको थिएँ । ’गाउँ आएको बाटो’को व्यग्रप्रतीक्षा थियो । प्रिमियरमा हेरेँ । आजबाट हलहरुमा ’गाउँ आएको बाटो’ले तपाईंहरुको बाटो हेर्नेछ ।
सिनेमा हेरिरहँदा म कतै आफ्नै बाल्यकाल पुग्थेँ त कतै आफ्नो बुबाको कष्टपूर्ण संघर्षमा खिइएका युवावय उमेर देख्थेँ । सिनेमाभरी कहिँ न्यानो आँसुका ढिक्काहरु छुटे, कहिँ खित्का त कतै मनभरी बादल मडारिइरह्यो ।
मलाई यो सिनेमा आफ्नै विगतको नोस्टाल्जिया जस्तो लागिरह्यो । बिन्द्रे; म जस्तै दूरदराजको ग्रामीण भेगमा हुर्किएका केटाकेटीहरुको प्रतिनिधि हो । उसको बालसुलभता, हठ, उपद्रो घुर्क्यांइमा मेरै साना भाइहरु देखेँ । आफैंलाई भेटेँ ।
बिन्द्रेको टिभी हेर्ने सपना समानान्तर ढंगले बाँचेर आएको हो मेरै पुस्ता पनि । एउटा दशैँमा नयाँ लुगा नलगाउने सर्तमा हामीले बुबालाई टिभी किनिदिन जोडबल गरेका थियौँ । यस्ता कैयौं दृश्यले मलाई उद्वेलित बनाइरह्यो । भित्र कतै चिमोटिरह्यो ।
बिन्द्रेको बाउ वर्गीय समाजले डामेको निम्नवर्गीय ‘आम बाउहरुको’ प्रतिनिधि हो । सबै, सबैतिरबाट पिल्सिएर पनि हार–थकान नमान्ने, जिउने जिजिविषा जोगाइराख्ने भुइँमान्छेहरुको छायाँ हो । बिन्द्रेको बाउले आफ्नो उमेर र उर्जा दुईछाक टार्न, आधारभूत आवश्यकता पूरा गर्नमा कुनै कसर बाँकी नराखेजस्तै, मेरा बा आफ्नो उमेरमा कोइलाखात धाएको सम्झेर उद्देलित भएँ । बिन्द्रेको जस्तै मेरा बा हाम्रो भोक मेटाउन मलेसिया हिँडेका थिए । फर्किँदा क्षयरोग बोकेर आएको दिन सम्झेर आत्तिएँ ।
बिन्द्रेका बाउ, छोरालाई टिभी किन्ने सपना बोकेर चोक/ल्ली/सडकतिर भौंतातिइरहन्छ। अनेकन काम गर्ने तिकडम लगाउँछ । फर्की आउँदा उनले के ल्याउँछन् त ? जवाफ पाउन सिनेमा हेर्नुपर्छ ।
सिनेमामा तपाईंले दयाहाङ्ग राईलाई भेट्नु हुनेछैन । छन् त केवल बिन्द्रेको बाउ । त्यही बाउ जो आफ्नो सन्तानको खातिर आफ्नो बलबुताले भ्याउने जे–सुकै काम गर्न तयार छ । हरेक श्रमजीवी/मजदुर बाउ, जसको सारा जिन्दगी दुःखको चक्कीमा घुमिघुमी पिसिन्छ ।
पशुपति राइको भुमिकामा हाम्रै आमाहरूको स्वभाव झल्किन्छ। उनको चरीत्र निर्वाह यस्तो लाग्छ कि, उनको अर्को नाम अभिनय हो।
’गाउँ आएको बाटो’ त्यही कट्मेरो विकासको कथा हो जसले भुइँमान्छेहरुलाई थोरै दिए जस्तो गरेर उनीहरुबाट धेरै खोस्यो । उनीहरुलाई आशा त दियो तर भरोसा दिएन ।
सिनेमाले तपाईंलाई विमर्श गर्ने एउटा ठाँउमा पुर्याएर छाड्छ; के विकास भन्नु भौतिक पूर्वाधार निर्माणमात्रै हो त ? विकासले रैथाने सीप र आदिवासीहरुको अवस्थालाई न्यायीक हिसाबले कसरी उकास्नुपर्छ ?