June 12, 2024, Wednesday
२०८१ जेष्ठ ३०
1:37:26 pm

‘गाउँ आएको बाटो’ एउटा गतिलो दस्तावेज- प्रा.डा.कृष्ण भट्टचन

प्रा.डा.कृष्ण भट्टचन
२०८१ जेष्ठ २४

3.9K

चलचित्र ‘गाउँ आएको बाटो’ पाका र नयाँ पुस्ता, आदिवासी र गैरआदिवासी अधिकारवाला, कर्तव्यवाहक, बौद्धिक, अध्येता, विद्यार्थी, अधिकारकर्मी, समुदाय सबैले हेर्नैपर्ने र मनन् गर्नुपर्ने सामुदायिक चलचित्र रहेछ ।

‘गाउँ आएको बाटो’ हेर्दा मानवशास्त्री क्लीफर्ड गर्टजको लेख ’डिप प्लेः नोट्स अन द बालानीज ककफाइट’को याद आयो । गर्टजका अनुसार इन्डोनेशियाको बालीमा प्रथाजनित कुखुरा लडाउने (ककफाइट) खेल सतहमा हेर्दा धेरैले खेल्न र हेर्न मनपराउने मनोरञ्जनात्मक र नियमित बाजी खलिने खेल हो, तर गहिरिएर हेर्दा यो खेलमा बालीको आदिवासी समाज र उपनिवेशवादी राज्य, सरकारको संरचना र व्यवहार, र दुवै बीचको सम्बन्ध उजागर हुन्छ । ककफाइटमा डबल टेक्स्ट (दुईवटा पाठ) भएजस्तै यस चलचित्रमा पनि डबल टेक्स्ट छ । एउटा टेक्स्ट ककफाइटमा जस्तै चलचित्रमा देखिन्छ, अर्काे टेक्स्ट छोपिएकोले खोलेर पढ्नुपर्ने हुन्छ ।

‘गाउँ’ शहरी जीवनको सन्दर्भमा ’गाउँ’ हो तर आदिवासीको लागि परापूर्वकालदेखिको ऐतिहासिक थातथलो हो । फिल्मले आदिवासीको थातथलोमा बाटो आएपछि एउटा आदिवासी परिवारले भोग्न बाध्य कथा र व्यथा, सपना र विपना, आशा र निराशा, संघर्षको कथाको माध्यमबाट सबै आदिवासीको कथा भन्छ । बाटो आउँछ, र बाटोसँग गाडी, ट्याक्टर, बाहिरको मानिस, माल सामान, पैसा, मूल्य मान्यता, संस्कृति, सेवा सुविधा, बानी व्यहोरा, आदि पनि एकमुष्ट आउँछन् ।

Advertisement

यो भनेको प्रकृतिको दोहन गर्ने र आदिवासीलाई पनि व्यक्तिवादी तथा अनावश्यक आवश्यकताको उपभोक्तावादी बनाउने बजार अर्थात, पुँजीवादमात्र नभएर सँगसँगै उपनिवेशीकरण, नश्लीय सर्वोच्चता, भुमण्डलीकरण, हिन्दूकरण, क्रिश्चियनकरण, सैन्यकरण पनि सँगसँगै आउने हो । यो भनेको एक ढिक्का रहँदै आएको आदिवासी समुदाय र सामुहिक जीवनपद्धति वर्ग, लिंग र तहगत उँचनिचमा खण्डीकरण हुने हो । आदिवासीको सामुहिकता सिध्याएर व्यक्तिवादीतालाई, भूमिको सामुहिक संरक्षकत्वलाई मासेर लालपुर्जामा लाने र त्यो पनि चाहेको बेला राज्यले खोस्ने हो ।

भौतिक वा दृश्य वा मूर्त ’बाटो’ आउनुअघि अनेक अभौतिक वा अदृश्य वा अमूर्त ‘बाटो’ ’गाउँ’ अर्थात् खम्बु (राई) लगायतका आदिवासीहरूको थातथलोमा आइसकेको थियो र चलचित्रमा देखाईएको खम्बु (राई) माइला (दयाहाङ राई), माइली (पशुपति राई) र बिन्द्रे (प्रशन राई)को परिवारमा पुरूषले जानेको सीप बाँसबाट चित्रा बनाउने र महिलाले जानेको सीप रक्सी पार्ने परम्परागत कामबाट हातमुख जोर्नुपर्ने अवस्था यसअघिको अनेक ‘बाटो’ अनेक रूपमा आएको परिणाम हो ।

यस्तो बाटो कहिले युद्ध, कहिले सन्धि, कहिले मुलुकी ऐन, कहिले संविधान तथा ऐन, कहिले राष्ट्रिय वन, कहिले राष्ट्रिय निकुञ्ज, कहिले संरक्षण क्षेत्र, कहिले सामुदायिक वन, कहिले विद्यालय, कहिले चाडपर्व, कहिले राजमार्ग, कहिले पत्रपत्रिका, रेडियो र टिभीजस्ता आमसञ्चारको बाटो भएर आयो । यो बाटो आदिवासीले सामुहिक निर्णयबाट बनाएको बाटो होइन । यो बाटो उपनिवेशवादी, नश्लवादी, ब्राम्हणवादी राज्य तथा सरकारले आदिवासीहरूसँग स्वतन्त्र, अग्रिम जानकारीसहितको मञ्जुरी लिएर बनाएको पनि होइन ।

यी सबै बाटोहरूले आदिवासीलाई आफ्नै भूमिमा गरीब, शरणार्थीको हैसियत बनायो, बनाइरहेको छ । सामाजिकीकरण गर्ने संस्कृत आदर्श भएको खसनेपाली भाषी विद्यालय र बाटोसँग आएको लाहुरे पसल, टेलिभिजन, कोकाकोला, गगल्स, र्याप गीत, आदिले बाँकी रहेको प्रथाजनित सामुहिक जीपद्धतिलाई समाप्त पार्न थाल्यो । जानेको सीप चित्रालाई प्लाष्टिकले विस्थापन र घरेलु रक्सीको अपराधीकरणले सरल आदिवासी जीवनलाई नारकीय बनाएको देखाइएको छ । दयाहाङजी, पशुपतिजी र प्रशनजीको अभिनय उत्कृष्ट, मौलिक प्रशंसनीय छ । बाँसको भिन्न आवाजदेखि मातृभाषीले खस नेपाली बोल्दासमेत मिहिन कुराहरूमा ध्यान दिएको प्रष्टै देखिन्छ ।

आदिवासीको सामुहिक जीवनपद्धति व्यक्तिवादी भन्दा सामुहिकतावादी र पाकाबाट नयाँ पिंढीमा ज्ञानको हस्तान्तरण हो । तर हाल नयाँ पुस्ताको उपभोक्तावादी सपना र चाहनाको पछि दगुर्नुपर्ने अवस्था आयो । तर त्यो सपना र चाहनाको अकाल मृत्यु भएको देखाइएको छ ।

आदिवासी थातथलोको टालोमा आदिवासी सामुहिक जीवनपद्धति हिङको गन्ध छ, तर हिङ सकिएर गन्ध बाँकी भएको भन्दा पनि उपनिवेशवादी, नश्लवादी, ब्राम्हणवादी राज्य, सरकारले लुटेर यस्तो गन्ध बाँकी रहेको हो । ’गाउँ आएको बाटो’ले उठाएको समसामयिक शाश्वत प्रश्न हो, अहिलेको घडिमा आदिवासीको ऐतिहासिक थातथलोमा भइरहेको सांस्कृतिक संहार कसरी रोक्ने हो ? यसको उत्तर लुटेको हिङ फिर्ता अर्थात् आदिवासीको भूमि फिर्ता र आत्मनिर्णय हो, जुन हामी सबैले ढिलोचाँडो खोज्नैपर्ने हुन्छ ।

समग्रमा, चलचित्रमार्फत नवीन सुब्बाले जस्तो आदिवासीको कथा शुद्ध कलामार्फत सामुदायिक चलचित्र निर्माण गर्न सके आदिवासीको जीवन, कथा, व्यथा, चुनौति र संघर्ष, आदिको दस्तावेजीकरण हुने र विश्वभरीका अधिकारवालालाई जागरुक, कर्तव्यपालकलाई सचेत, भुत्ते हुँदै गएको आदिवासीको आन्दोलनको दाँत तिखो बनाउन र धारिलो हुँदै गएको नश्लवादी, उपनिवेशवादी, ब्राम्हणवादीको दाँत भुत्ते बनाउनुपर्ने आवश्यकता बोध दुवैले गर्नेछन् ।

अब नवीन सुब्बाको यस्तो विश्वस्तरीय गहन कार्यलाई अझ माथि, धेरै माथि उठाउन सबै आदिवासीको समुदाय, प्रथाजनित र गैरप्रथाजनित संघसंस्था र यसका नेतृत्वपंक्ति र सदस्यहरू, लगानीकर्ताहरू र आदिवासीको मूल्यमान्यतामा आस्था तथा विश्वास भएकाहरू सबैले सक्दो सहयोग तथा योगदान गर्न अत्यावश्यक छ ।

समुदायको लगानीमा समुदायको सहयोगमा टिम तथा समुदायको सामुहिक सरसल्लाहबाट विश्वस्तरीय आदिवासीको अर्थपूर्ण कथा भएको चलचित्रको लागि समुदाय तथा सम्पूर्ण टिम र निर्देशक नवीन सुब्बालाई हार्दिक बधाई तथा पूर्ण सफलताको शुभकामना ।