May 22, 2024, Wednesday
२०८१ जेष्ठ १०
1:37:26 pm

मैले चिनेको उपेन्द्र सुब्बा

सुमन लिङ्देन
२०८१ बैशाख २०

2.6K

फागुनको अन्तिम साता हुनुपर्छ, शिल्पी थिएटर काठमाडौंमा प्रस्तुत नाटक ‘झोडा’ को विशेष मञ्चनमा झोलातुम्बी बोकेर हतास-हतास पूर्व चारखोलबाट हुँइकिएको छु। बसाइको प्रपञ्च सिजन जीले मनसरा स्टुडियो (कबड्डी फ्लिम्स्) मा मिलाउनु भएको छ। ज्यान सामान्य हाउभाउमा छैन, बासस्थान नपुगी लुङाहरूको हाइज्याकमा परिगएँ। कुनै रेष्टुरेन्ट हुनुपर्छ, लुङाहरू गरम मुडमा छन्। भुपेन्द्र तुम्बाहाम्फे, किरण चाम्लिङ, सिजन सर र मानहाङ लावती लुङाहरुको कुरा बडो उत्साहजनक भैरहेको छ।

ए, कहिलेकाहीँ त जीवनको स्वतन्त्र श्वास लिन मनलाग्छ। सुखदुःख गफ गर्न मन लाग्छ। प्रेमका किस्साहरू सुन्न र सुनाउन मन लाग्छ। ज्यान गरम र जिन टोनिकवाला भैरहेको छ। साँझको रमझमले सडक तातिएको छ। यस्तो समयमा लुङाहरुको गफ र मुड ? कठै, कामकै धाउन्नमा छ। नजिकका सबैलाई ती कामदारी जनरुको हर्कत देखेर लाग्दो हो, कामबाट बचेखुचेको थोरै समय पनि चोरेर काममै खर्च गर्ने कस्ता लोभी र जब्बर लुङाहरु?

भोलिपल्ट बिहान उठ्नु पा छैन, लुङाहरू कामकै कुरामा व्यस्त एवं व्यग्र छन्। आँखा भर्खरै खोल्या छु, स्टुडियोमा उपेन्द्र दाइ टप्लक्क आइपुग्नु भो। आजभोलि ज्यान र मस्तिष्कलाई जवान राख्न दैनिक हिँड्ने कुरा विभिन्न पोडकास्टमा सुनैकै हो। कामकै हतास हाउभाउको देखिने वहाँ सोफामा राम्रोसँग बस्न नपाउँदै प्वाक्क मनघोचक प्रश्न तेर्स्याउनु भो -भाई, विदेश हिडेको त हैन नि?

Advertisement

जीवनको उकालीओरालीमा, देउरालीचौतारीमा, उर्जा र निराशाहरुमा दाइहरुको आढ हुन्छ, भरोसा लाग्छ। ‘झोडा’ को विशेष मञ्चनमा छु। मनकारी लुङाहरूसँग उर्जा लिन र सुखदुःख बाढ्न हतारहतार नेपाल मण्डल पुगिरा छु। दाइ अझ सोध्नुहुन्छ- ‘भाई, विदेश हिँड्या त हैन नि? यो प्रश्न चोरखोल इलाम आइपुग्दासम्म मनसपटलमा  रहिरह्यो। ऐेले यसो गम खान्छु, दाईले जवाफ, संघर्ष र उत्प्रेरणा यही एउटै प्रश्नमा सोध्नु भा र छ। के र छ ? बिसौनीमा कुरा गरुँला।

खैर, ऐलेलाई सुब्बा दाइकै बारे कुरा गरौँ। उपेन्द्र सुब्बा उर्फ साहित्य र कलालाई तङ्सिङ गर्नसक्ने साम्बा, फेदाङमा।

प्रारम्भमा उपेन्द्र सुब्बालाई कविको रुपमा चिनेको हो। ‘सिर्जनशील अराजक’ नामक साहित्यिक अभियानले ६० को दशकमा पहिचानको पक्षमा रैथाने सौन्दर्यको आन्दोलन प्रखर रुपमा चलायो। सोही अभियानका तीन मध्येका एक सदस्य हुन् उपेन्द्र सुब्बा। डाँडा माथिको घामजुन र गढतिरका राँकेभूत (सन् २००२), हङ्ग्रायो भोक र पाङ्ग्रा (सन् २००४), खोलाको गीत (सन् २०१३) वहाँको कविताका गज्जप दस्तावेजहरु हुन् भन्ने लाग्छ। लाटो पहाड (सन् २०१४) मार्फत आख्यानमा दरिलो पर्दापण गरे, जुन पुस्तकले २०१५ को पद्म श्री पुरस्कार पनि हासिल गर्यो। खासगरी, कबड्डीको सिरिजबाट चलचित्र जगतमा पटकथा लेखनमा उदाए। अघिल्लो वर्ष प्रदर्शन भएको ‘जारी’ चलचित्रबाट निर्देशकको रुपमा प्रारम्भमै इतिहास रचेका उपेन्द्र सुब्बाको दोस्रो निर्देशन ‘मनसरा’ प्रदर्शनीको मुखमा रहेको छ।

उपेन्द्र दाइलाई बढिबढाउ गरेको त हैन वहाँमा कलाको फरक चेत छ जस्तो लाग्छ।  वहाँको पात्रहरु सामान्य लाग्छन्। कतै गाउँघरमा देखेको, भेटेर कुरा गरेको झैँ लाग्छन्। ति पात्रहरुले ठुलठुला दर्शनका कुरा गर्दैनन्। नाराको विगुल घन्काउँदैनन्। तर यथार्थमा उनका पात्रहरूले ती सबैथोक भनिरहेको हुन्छ। सोही कारण पनि उपेन्द्र सुब्बा सामान्य लागेरै गज्जप लाग्छन्। उनको रचनगर्भ रैथाने संस्कृति हो। जनजीविका हो। मुन्धुम हो।
‘मुन्धुम’ थिबोङ याक्थुङ लिम्बुहरुको वेद मात्र हैन बरु यो त उनीहरूको जीवन पद्धति हो। कला हो। साहित्य हो। जीवन दृष्टिकोण हो। औषधि बिज्ञानदेखि लिएर अर्थराजनीति सम्मका जीवनयापनको अवयब हो। राई, सुनुवार, याख्खा आदिले मुन्धुमलाई आफ्नै शब्दावलीले पुकारेको पाइन्छ।

यहाँ थिबोङ याक्थुङको दर्शन साहित्य ‘मुन्धुम्’ को चर्चा गरौँ। खासगरी, लिम्बु समुदायलाई बुझ्न उनीहरूको साप्पोक चोमेन (पेटपुजा) देखि लिएर साम्दाखुङ् (चोला उठेको आत्मालाई पितृलोकमा मिलाउने काम/तारान्तार गर्ने कर्म) सम्मको कर्मकाण्ड बुझे पुग्छ भनिन्छ। मुन्धुमका दुई प्रकारले चिनिन्छ । थुङसाप मुन्धुम र पेसाप मुन्धुम। मौखिक रुपमा प्रचलन रहिआएको मुन्धुम थुङसाप मुन्धुम हो, जुन् मौखिक रुपमा पुस्तान्तरण हुँदै आयो। साम्बा, फेदाङमा, तुम्याहाङहरुले यसमा मुख्य भूमिका खेले। त्यस्तै, पुस्तकको रुपमा लिखित मुन्धुम नै पेसाप मुन्धुम हो। जीवन दृष्टिकोण सम्बन्धी एउटा कथा छ मुन्धुममा, त्यहि कथाको दृष्टिशार झै लाग्छन् उपेन्द्र सुब्बा।

मुन्धुममा वर्णीत कथा अनुसार – ए, उबेला महाशुन्य थियो। जलचर, थलचर, ब्रम्हाण्ड अस्तित्वमा थिएन। सर्वशक्तिमान सर्वब्यापी तागेरानिङ्वाभूमाङले संसारको सृष्टि गर्ने निधो गरे। उँभो भ्वाङ उँधो भ्वाङ, ब्रम्हाण्डको मन्थन भो। ग्रहउपग्रह, तारामण्डल बने। यो सृष्टिको वर्णनलाई सकसक मुन्धुममा व्याख्या गरेको पाइन्छ। सृष्टि त भयो तर संसार सुहाएन। पृथ्वी लोकलाई सुन्दर बनाउन तागेरानिङवाभूमाङले पोरोक्मीमाङ यम्फामीमाङलाई पृथ्वीलोकमा दुत पठाए। पोरोक्मीमाङ यम्फामीमाङले सृष्टि रचना गर्न, मानवचोला रचना गर्नलाई गरेको अभ्यास बढो रोचक छ। यसलाई साम्जिक मुन्धुममा वर्णीत पाइएला। मुन्धुमानुसार, मानवचोलारहित पृथ्वीलोक सुन्दर देखिएन। पोरोक्मीमाङ यम्फामीमाङले मानवचोलाको कल्पना गरे। सुन, हिरा एवं वहुमुल्य रत्नजडीत मानव आकृति बनाए। मानव आकृति देखेर याम्फाम्मी दङ्ग परे, खुशी भए। तर वहुमुल्य रत्नजडीत मानव त वाचाल भएन। आवाज निस्किएन। तब बोलचाल गर्ने, हावभाउ देखाउने मानवचोला कसरी बनाउने भनेर यम्फामी तागेरानिङ्वाभूमाङको ध्यानमा लिन भए। उनले मालिङ्गो बाँसको धुलो, खरानी, लेउ आदिजडीत पञ्चतत्व मिश्रित मानवचोला बनाए। त्यो मानवआकृतिले हाउभाउ देखायो। आवाज निकाल्यो। यम्फामीले सोचे झैँ वाचाल भो। तब पो, “थुक्क तेत्रो बहुमुल्य रत्नजडीत मानिस चै नबोल्ने यस्तो लेउमाटोले बनेको चै बोल्ने” भनेर भन्दा लेउमाटोले बनेको मानिसको शिर ढलिहालेछ। उक्त शिर ढलेको, माङगेन्ना ढलेको मानिसको माङगेन्ना उठाउनु पर्‍यो। उक्त कथाको सार नै हरेक वर्ष थिवोङ याक्थुङ लिम्बुले साकमुरा वादेम्मा(गालिश्राप वहन्ती) गर्नुपर्छ, माङगेन्ना उठाउनुपर्छ भनिन्छ।

चलचित्र जारीको ट्रेलर

मिथकलाई त सारको रुपमा बुझ्ने होला। चौबाटोमा उभिएको सालिक, चौहद्दीमा विराजमान मिक्लाजोङ पहाड झै बुझ्नुपर्ने होला, जसलाई जताबाट हेरे पनि अर्थ लाग्छ। केही न केही विषयको दृष्टिगोचर हुन्छ। पोरोक्मीमाङ यम्फामीमाङ प्रयुक्त लेउमाटो, पञ्चतत्व मिश्रित मानिस बोल्नु जीवनको सामान्यीकरण हो जस्तो लाग्छ। उपेन्द्र सुब्बाको सिर्जनामा पाइने सामान्यपन पनि यहि हो। जो सरल र सामान्य भएरै उत्कृष्ट लाग्छन्।

वर्तमान समयमा नेपाली सिने जगतमा आसलाग्दा केही नवीन पक्षहरु पर्दापण भएकै हुन्। मौलिकता, आफूत्वका केही पक्षहरु झल्केकै हुन्। नुमाफूङ निर्देशक नवीन सुब्बा भन्नुहुन्छ, ” हाम्रा सिनेमाहरु अन्तर्राष्ट्रियकरण हुनैपर्छ। सँगसँगै चलचित्रको घरेलु बजार पहिला सुधार हुनुपर्छ।” यस भनाइले धेरै कुरालाई इङ्कित गर्ला। वर्ष २०८० को ‘इलाम साहित्य महोत्सव’ मा अतिथिका रुपमा आएका निर्देशक मीन भामसँग केहिक्षण कुरा गर्ने र सुन्ने मेसो मिलेको थियो। ‘बासुल्ली’, ‘कालो पोथी’ हुँदै ‘शाम्बाला’मार्फत अन्तर्राष्ट्रिय सिनेमञ्चमा प्रभावशाली उपस्थिति जनाएका मीन भामको एउटा कुरा गज्जप लाग्यो। मौलिकतालाई कथा वा पात्रमा मात्रै होइन, प्रविधिमा पनि सोच्न सकिन्छ, भन्ने कुरा बढो गम्भीर थियो ।

नेपाली सिनेमाको प्राविधिक मौलिकपन के होला त ? निर्देशक भामले भने,”नेपाल भन्नेबित्तिकै संसारभरका मान्छेले जे पनि त्रिकोणमा हेर्दा रहेछन् । हाम्रो झण्डाको आकार त्रिकोणीय छ । मठमन्दिरका गजुर, घरको छाना, हिमाल सबै त्रिकोणीय छन् । सबै कुरा त्रिकोणीय छन् भने मैले सिनेमा बनाउँदा त्यसैगरी प्राविधिक मौलिकतामा पनि कहीं न कहीं भेटाउनुपर्छ । अब बन्ने सिनेमामा क्यामेरालाई पनि ४५ डिग्रीदेखि ९० डिग्रीसम्म राखेर खिचौं। त्यसैले हाम्रो सिनेमाको मौलिकतामा प्रविधिलाई पनि जोड्नुपर्छ।”

खैर, अब अघिल्लो प्रदर्शनमा आएको ‘जारी’ र प्रदर्शन मुखमा रहेको ‘मनसरा’ को वारेमा संक्षेपमा कुरा राखौं।

जारी र मनसरा दुवै सिनेमा बन्दादेखि नै कहीँ न कहीँ यी सिनेमाको नजिक छु। जारी निर्माणताका पूर्वमा रंगकर्मलाई निरन्तरता दिन सिजनजी दमक आए। यहाँ रहँदारहँदै ‘जारी’ वारे कुरा भएको थियो। ‘जारी’ बन्यो। दाम्मी चल्यो। चलचित्रले केही मुद्दाहरु छोडे। लिम्बू सौन्दर्य चिन्तन, संस्कृति, मानक लगायतका कुराहरु इतर समुदायले बुझे, जुन बडो गज्जपको कुरा थियो। प्रारम्भमा यसको नाम युप्पारुङ थियो। पछि इतर समुदायले पनि बुझ्नेगरी ‘जारी’ भनियो। सफर रहँदारहँदै पनि जारीमा केही कमजोरी नभेटिने भने हैन। ऐलेलाई उहीँ युप्पारुङ वारे संक्षेपमा कुरा राखौं।

चलचित्र पश्चात् युप्पारुङ(युप्पालुङ) वारे

जानिफकिरहरुले विभिन्न अर्थ लाए। लिम्बुहरुको यक, थुम, युक्पुन्देन फरक पर्ने भएकाले पनि रीतिरिवाजमा केही फरक आएको हुनुपर्छ। पूर्व चारखोल(इलाम) आसपास चै के रहेछ त युप्पालुङको भावार्थ? यहि जिज्ञासाले गाउको तुम्भाक्सा(बृद्द) सँग कुरा गरेको थिएँ । कुराको सार यस्तो थियो:

लिम्बू समुदायमा विवाह संस्कृतिको मेक्काम्(लगन) विधिसँग यसले अर्थ राख्दछ। प्रायःजसो मेक्काम् विधि साँझ गरिन्छ। नालिसाङ् (बेहुला) र सिसामे (बेहुली) लाई आसन गराईसकेपछि नाम्सारी, लासारी राखि धुपबत्ती, फूल, अक्षेताले उनीहरूलाई पवित्रीकरण गरिन्छ। बाँकी जीवनसँगै बिताउने हुनाले बेहुलीको प्राचिन उत्पती थलो ‘माङगेनायक’ बेहुलाको माङगेनायकमा मिलाउने मुन्धुम सुरु गरिन्छ। यो मुन्धमपस्चात फेदाङमाले चाँदीको सिक्कालाई चकमकले हिर्काउँदै मुन्धुम फलाक्न सुरु गर्छ – ‘आजबाट यो माङगेनायकको/ठाउँको फलना नाम गरेको सिसागेन मेन्छिन्(तरुण युवती) र यो माङगेनायकको यो नाम गरेको नालिङगेन फूङवा(तरुण युवक) बिबाह बन्धनमा बाँधिएको जुन, घाम र आकासले देख्यो। देवी, देवताले देख्यो। हावा पानीले देख्यो। पृथ्वीमा भएका सारा पशु, प्राणी र किराफट्याङ्ग्राले देख्यो। … हामी सबैले देख्यौँ। यो विवाहको साक्षी हामी छौँ है।’ भनि फलाक्छ। यो एक किसिमले मौखिक मुचुल्का नै हो।

त्यसपछि मिलेर जीवन गरिखान बेहुलाबेहुलीलाई कसम ख्वाईन्छ। बेहुलाबेहुलीको श्रीवृद्धि, सौभाग्य र उत्तोरोत्तर प्रगतिको कामनार्थ सफल दाम्पत्य जीवनको लागि फेदाङमाले तागेरानिङ्वाभुमाङ, युमामाङ, थेवामाङसँग बल, शक्तिको लागि प्रार्थना गरिदिन्छ। … त्यो मुन्धुम अनुष्ठानमा प्रयोग गरिएको सिक्का नै युप्पारुङ हो। उक्त युप्पारुङ बेहुलिलाई देखाउँदै फेदाङमाले त्यसको अर्थ बेहुलीलाई पुन: सम्झाउँछ; ‘यदि, तिमी सत्य र साँचोमा गल्ति नगरी बसेको खण्डमा पनि तिम्रो श्रीमानले तिमीलाई हेला गर्‍यो भने, कुटपिट गर्‍यो भने, सहनै नसक्ने वचनले पिरोल्यो भने र तिम्रो आत्मासम्मानमा गहिरो चोट दियो भने यही सिक्काले हानेर छोडेर जानू, यो घाम जुनको कस्सम तिमीलाई बात लाग्ने छैन । तर सत्यमा डगमग गरी विवाहको मान मर्‍यादा उल्लङ्घन गरेको खण्डमा भने तागेरानिङ्वाभूमाङ र यो युप्पारुङले पीर दिनेछ’। यति फलाकिसकेपछि फेदाङमाले उक्त सिक्का बेहुलालाई दिन्छ र बेहुलाले उक्त सिक्कालाई बेहुलीको बर्कोमा बाँधिदिन्छ। सिनेमामा प्रयुक्त उक्त सिक्का नै युप्पारुङ हो।

युप्पारुङले लिम्बू समुदायमा विशेष भूमिका खेलेको हुन्छ। युप्पारुङ लिम्बू सामाजिक जीवनमा बिहेको प्रसङ्गसँग जोडिने रीत हो। यसले सम्बन्ध विच्छेदको अधिकारसम्म बोकेको हुन्छ। तुत्तु तुम्याहाङ कहन्छन्; “विवाहको रीत बसेपछि यो प्रचलन रहेको हो। प्रारम्भमा लिम्बू समुदायमा सिन्दुर हालिदिने चलन थिएन,विवाह साक्षी युप्पारुङ नै थियो।”

चलचित्र मनसराको ट्रेलर

मनसरा
मनसराको टिजर हेर्दा चै कताकता फितलो लागेकै हो। जब ट्रेलर सार्वजनिक भो, सिनेमाप्रतिको उत्साह दोब्बर बढेर चौगुना पुग्यो। अब हलको प्रतीक्षा छ। खास के हो त मनसरा? नामबारे कुरा गरौँ। उबेला जेठ मसान्ततिर धानको ब्याड छर्न बाजे थुन्चेका थुन्चे भिजाएको बीउ लिएर खेत जान्थे। धानको भिजाएको बीउ एकै किसिमको हुन्थेन। थोरै भएपनि अरू बीउबिजन मिसाइन्थ्यो। त्यसलाई मनसरा भनेकोसम्म भनेको थाहा छ। धानको लागि मनसरा सर्वनाम हो। उपसर्गमा अरु नामहरू जोडिन्थे।

किन मिसाइन्थ्यो मनसरा ? यसबारे बाजेले भन्नुभएको केही कुराहरू याद छ । एकै किसिमको बीउ छर्‍यो भने पछि धान राम्रोसँग फल्दैन। कालपोके लाग्छ। हावाहुरीले ढाल्छ। यही जनव्याबहारको कुरालाई सिनेमाको नाम दिईएको बुझिन्छ। सारको रुपमा यसलाई यसरी बुझे भो । यो लोकमा लोकसृष्टि धान्न सहारा चाहिन्छ। मेलमिलाप चाहिन्छ। वास्तवमा एकअर्काको विश्वास चाहिन्छ। तब न मनसरा। जनजीवनका लोकोक्ती, व्यवहार तथा प्रयोजनको कुरालाई बिम्बनको रुपमा सिनेमाको नाम ‘मनसरा’ न्यायोचित नै लाग्छ। ट्रेलर अनुसार सामुदायिक विविधताको सम्बन्ध संयोजित छ। प्रेम छ। खुवाको कथा छ। एकल महिलाको संघर्ष र व्यवधान छ। ट्रेलर मार्फत यतिसम्म अढ्कल काट्न सकिन्छ।

ए… अम्लिसो कुचो हेर्दामा फूच्चो
        बोलिमा सुन्दा छुच्चोमा छुच्चो

        छालाको रंग नै माक्सुन्दा जस्तो
        हेर्दामा खेरी प:पन्दा जस्तो …
        हिँड्दामा खेरी अ:अन्धा जस्तोलाई कहाँ पत्याउनु हुन्छ होला हजुरनीले! हजुरनीको खुट्टामा पनि सुहाउँदिन होला म त।

उपेन्द्र सुब्बाको दोश्रो निर्देशन ‘मनसरा’ कति रुचाइने हो, त्यो हेर्न बाँकि नै छ। ज्या साङ दाइ… शुभकामना छ हई।