काठमाडौं । लिम्बू भाषामा आधारित चलचित्र ‘थेत्लङ’ हङकङमा प्रदर्शन हुने भएको छ । आयोजकका अनुसार चलचित्र जनवरी २३ का दिन जोर्डनस्थिन व्लु ओसन रेस्टुरेन्टमा प्रदर्शन हुनेछ ।
यसअघि सिक्किम, नेपाल र अमेरिकाको विभिन्न स्थानमा चलचित्र थेत्लङको सफल प्रदर्शन भैसकेको छ । कोरोना महामारीबाट मुक्ति पाउँदै गर्दा हङकङमा विभिन्न विधाका नेपाली चलचित्रहरू प्रदर्शन हुन लागेकोमा लिम्बू भाषाको चलचित्र ‘थेत्लङ’लाई पहिलो प्राथमिकता दिइएको आयोजकले जनाएको छ । एक पत्रकार सम्मेलन गर्दै आयोजकले भन्यो, ‘कोरोना निक्कै नियन्त्रण भइसकेको अवस्था छ । हङकङमा सामाजिक गतिविधिहरू सुरू भएको छ । नेपालबाट विभिन्न विधाका चलचित्रहरू आउन सुरु हुन थालेको छ । सबैभन्दा पहिला थेत्लङ चलचित्र प्रदर्शन हुन गइरहेको छ ।’
सेनेहाङ समाज र ताम्लिङ समाजको आयोजना साथै किरात याक्थुङ चुम्लुङको सहयोगमा हुन लागेको हो प्रदर्शन कार्यक्रमका लागि नेपालबाट निर्माता मनि ताम्लिङ र विशाल सेनेहाङ हङकङ जाने भएका छन् ।
चाइनिज नयाँ बर्षको दिन प्रदर्शन हुन गइरहेको उक्त प्रदर्शन कार्यक्रम १२ बजे सुरु हुने आयोजले जनाएको छ । कार्यक्रममा सबैलाई उपस्थित भइदिन आयोजकले आग्रह गरेको छ ।
ग्र्याजुएसन लेभलमा अध्यापन भइरहेको उपन्यास ‘थेत्लङ’ देउमान लिम्बू होन्दोकले लेखेका हुन् । उक्त उपन्यासलाई निर्देशक तथा लेखक सागर केरुङले चलचित्रको पटकथामा ढालेका छन् । सिक्किमका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रमा विशाल सेनेहाङ, दिव्या सुब्बा, सङ्गीता सम्बाहाम्फे, शर्मिला याक्सो, मुनाहाङ लिम्बू, सोनु ताम्लिङलगायतले अभिनय गरेका छन् ।
चलचित्रमा दिनेश माङ्मुको नृत्य, कुल्बा सुब्बा, राजु आङ्देम्बे, मणि ताम्लिङ र पविन आङ्देम्बको संगीत छ । मणि ताम्लिङ निर्माता रहेको चलचित्रमा बिराज लिम्बु सह निर्माता छन् ।