काठमाडौं । यस वर्षको काव्य–सन्ध्या कार्यक्रम अगस्ट १६ मा हुने भएको छ । साहित्य संगालो बेलायत र नेपाली बुक्स युकेको आयोजनामा हुन लागेको कार्यक्रममा आठजना कविले प्रस्तुति दिनेछन् ।
पहिलो काव्य–सन्ध्या कार्यक्रम गत वर्ष सेप्टेम्बर २८ मा युकेको एल्डरसटमा सम्पन्न भएको थियो । करिब सयजना दर्शकमाझ आठैजना कविहरूले कविता वाचन गरेका थिए अगस्ट १६ मा एल्डरसटकै सुसी मोटो रेस्टुराँमा काव्य सन्ध्याको दोस्रो संस्करण कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
साहित्य संगालो युकेका संयोजक साहित्यकार केदार संकेतका अनुसार सारंगी र टुङ्गनाको धुनमा कविहरूले कविता वाचन गर्नेछन् । ‘हामीले कार्यक्रमलाई पुरै साहित्यमय बनाउने सोचेका छौँ । प्रमुख अतिथि, माला, खादा र कुनै औपचारिक उल्झनबिना विशुद्ध कवितामय साँझ बनाउने तयारी गरेका छौँ’, संकेतले भने ।
यस वर्ष पनि आठ जना कविहरूले आफ्ना तीन–तीन थान कविता नेपाली मौलिक बाजा—टुङ्गना र सारंगीको साथमा प्रत्यक्ष प्रस्तुत गर्नेछन् ।
गत वर्ष कविता वाचन गरेका कविहरूमा नरेश काङमाङ राई, डा. सङ्गीता स्वेच्छा, जीवन तिवारी, शान्ति लिम्बु, निर्भीकजङ्ग रायमाझी, खुपेन सुनुवार, मुकेश राई, डा. रूपक श्रेष्ठ, रहेका थिए ।




