February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

बेलायतमा कांग्रेस नेताहरूसँग एनपीसीसी यूकेको भेटघाट कार्यक्रम सम्पन्न

1.1K

लन्डन । भ्रमणका लागि बेलायत आइपुगेकी नेपाली कांग्रेसकी महिला नेत्री तथा कांग्रेस पार्टीका सह-महामन्त्री डीना महालक्ष्मी उपाध्यायले प्रवासका पार्टीनिकट समितिहरू आपसमा नमिलेपछि केन्द्रीय नेताले बिगारेको आरोप लाउने गरेको गुनासो गरिन्।

मंगलबार नेपाली जनसम्पर्क समिति बेलायतले फेल्थामस्थित नमस्ते गोर्खा रेस्टुरेन्टमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले भनिन्, ‘ खासमा मलाई जनसम्पर्क समितिको कार्यक्रममा जान मन पर्दैन। जब कार्यक्रममा आयो, खाली नेताले बिगार्‍यो भन्छन् । आफूले बिगारेको चाहीँ सम्झिदैनन् । ल यहाँको समस्यामा कुन चाहीँ नेताले बिगार्‍यो ? त्यो त हामीले थाहा पाउन पर्‍यो नि त ! केन्द्रीय सभापतिले बिगार्‍यो कि? उपसभापतिले बिगार्‍यो कि ? मैले बिगारें कि? कस्ले बिगार्‍यो? त्यो त भन्नुपर्‍यो नि !’

कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी उनले पार्टीको सिस्टम बनिसकेको उल्लेख गर्दै जनसम्पर्क समितिलाई निर्वाचन समयमा गराउनु, सदस्यता वितरण गराउनुलगायतको कुरा निर्दिष्ट गरेपनि संसारभरी जनसम्पर्क समितिको झगडा गर्ने समस्या भएको गुनासो गरिन् । ‘केको झगडा हो, मलाई थाहा छैन । किन झगडा गरेको, मलाई थाहा छैन’, उनले भनिन्।

Advertisement

उनले नेपाली जनसम्पर्क समितिमा भागबन्डा मिलाउने भन्दा पनि स्वतन्त्र प्रतिस्पर्धा हुनुपर्ने धारणा राखिन् ।

उक्त कार्यक्रममा बोल्दै विशेष अतिथि पूर्व मन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य दिलमान पाख्रीनले भूपू गोर्खाहरूको समस्या समाधान गर्न नेपाल सरकार अग्रसर हुनुपर्ने बताए । उनले भने, ‘राजदुत त एउटा नेपाल सरकारको कर्मचारी जस्तो न हो । उनीहरू मात्र बसेर यो हाम्रो समस्या समाधान हुँदैन। हामीले अर्को बिकल्प अपनाएका छौं, अहिलेको परराष्ट्रमन्त्री आरजु देउवासँग मेरै नेतृत्वमा डेलिगेसन लगेर बसिसकेका छौं ।’

यस समस्या समाधानका लागि एक उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्ने उनको भनाइ थियो । त्यसमा नेपालको परराष्टमन्त्री या परराष्ट सचिव र बेलायतको पनि सोही पदस्थसहितका उच्चस्तरीय समिति बन्नुपर्ने उनको जिकिर छ ।

यस्तै सोही कार्यक्रममा बोल्दै अर्का विशेष अतिथि राष्ट्रिय सभा सदस्य तथा नेपाली कांग्रेस पार्टी कार्यालय मुख्य साचिव कृष्ण पौडेलले प्रत्येक भातृसंस्थाहरूको अधिवेशनका लागि एउटा निर्देशक समिति बनाउदै गरेको बताए । उक्त समितिले ०८१ को चैतभित्र कुनैपनि भातृसंस्थाहरूको अधिवेशन गर्नैपर्ने बाध्यकारी अवस्था सिर्जना गर्ने जानकारी दिए । नेपाली जनसम्पर्क समितिको पनि पार्टीले उचित समयमा उचित निर्णय माग्ने उनले बताए ।

एनसीसी यूकेका कार्यवाहक सभापति रितेस पाण्डेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका अर्का विशेष अतिथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठानका पूर्व उपसचिव तथा नेपाल सांस्कृतिक महासंघ गण्डकी प्रदेशका संयोजक चोलेन्द्र पौडेल थिए भने अतिथिहरूमा पूर्व एपसीसी यूकेका सभापति तथा सूचना तथा प्रचारप्रसार विभागका केन्द्रीय सदस्य विनोद मोक्तान, महासमिति सदस्य तस्वीर लामा, महासमिति सदस्य तथा नेसाका अध्यक्ष केशबहादुर गुरुङ, पूर्व महासमिति सदस्य तथा एनआरएनए आइसीसीका सल्लाहकार विश्व आदर्श पण्डित, महाधिवेशन प्रतिनिधि सुर्य नेम्बाङ, एनपीसीसी यूके र एनआरएनए यूकेका पूर्व महामन्त्री आरके त्रिपाठी, जसपाका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख अर्जुन थापा, वरिष्ठ पत्रकार भगिरथी योगी, पाँचथरका पूर्व नगर सभापति तथा जिल्ला समिति सदस्य मोहन नेम्बाङ, एनपीसीसी क्यानडाका उपसभापति डा. जितु पाध्य र वर्तमान उपराष्टपतिका सल्लाहकार बिनोद पौडेल रहेका थिए ।

उक्त भेटघाट कार्यक्रमको संचालन एनपीसीसी यूकेका महामन्त्री तथा महासमिति सदस्य इन्द्रहाङ लिङ्देनले गरेका थिए ।