लन्डन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देश विकासमा विदेश बस्ने नेपालीहरुको ठूलो भूमिका रहेको बताए । चारदिने बेलायत भ्रमणका क्रममा रहेका लामिछानेले ‘एकपटकको नेपाली संधैको नेपाली’ भन्ने आफ्नो पार्टीको धारणा रहेको प्रष्ट पारेका हुन्।
मंगलबार अल्डरसटस्थित एम्पाएर हलमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले उक्त नारालाई सार्थकता दिन अन्य पार्टीबाट सम्भव नभएकाले एकपटक आफ्नो पार्टीलाई देश बनाउने जिम्मा दिन पहल गर्न आग्रहसमेत गरे ।
लामिछानेले आफू पनि विदेशमा बसेको र विदेश बस्ने नेपालीको समस्याबारे भुक्तभोगी भएकाले यस सम्बन्धमा संसदमा बारम्बार आवाज उठाउने गरेको दाबी गरे ।पछिल्लो समय पारित भएको नागरिकता विधेयकबारे आफ्नो पार्टीले संयुक्त छलफल गरेर मात्र अघि बढाउनुपर्ने अडान लिएपनि आफूखुसी पारित गरिएको लामिछानेको भनाइ थियो ।
विश्वभर नेपाल र नेपालीको नाम उच्च राख्ने भूपू गोर्खाहरूलाई वेवास्ता गर्न नहुने र उनीहरुको माग तथा मुद्धा यथाशक्य चाँडो सम्बोधन गरिनुपर्ने पनि उनले बताए । आफू नेपाल फर्किएलगत्तै यस विषयमा पहल गर्ने उनले बताए ।