लन्डन । ग्रेटर रसमूर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेको अध्यक्षमा मान गुरुङ र लिला सेलिङ निर्वाचित भएका छन् । आइतबार अल्डरसटस्थित एम्पायर हलमा भएको वार्षिक साधारणसभाले आलोपालो नेतृत्व गर्नेगरी अध्यक्षमा दुईजना चयन गरेको हो ।
प्रमुख निर्वाचन आयुक्त एकेन्द्र गुरुङका अनुसार उनीहरुले १८/१८ महिना कार्यभार सम्हाल्नेछन् । जीआरएनसीको विधान संशोधन गरेर दुई वर्षको कार्यकाललाई तीन वर्ष बनाइएको छ ।
नवनिर्वाचित अध्यक्ष गुरुङ यसअघि अध्यक्ष थिए भने माबो उपाध्यक्ष थिइन् । नयाँ कार्यसमितिको पहिलो १८ महिनाको कार्यकाल गुरुङले सम्हाल्नेछन् ।
नयाँ कार्यसमितिको ४ उपाध्यक्षमा सुष्मा गुरुङ (महिला), उत्तर गुरुङ, डा. विशाल गुरुङ र जीत मेन्याङ्बो चयन भएका छन् भने महासचिवमा सुशीला मगर, सचिवमा सुनील राना, कोषाध्यक्षमा श्याम श्रेष्ठ र सहकोषाध्यक्षमा सुमन पुन चयन भएका छन् ।
यस्तै, मिडिया सेक्रेटरीमा मिलन तमु र सदस्यहरुमा गोमा राना, हेमकुमार गुरुङ, नारायण गिरीलगायत चयन भएका छन्। कल्चर सेक्रेटरी, स्पोर्ट्स सेक्रेटरीलगायत खाली पदपूर्ति कार्यसमितिले नै गर्ने निर्वाचन समितिले जनाएको छ ।
नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई आइतबार नै प्रमुख निर्वाचन आयुक्त गुरुङले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।
निर्वाचनका लागि एकेन्द्र गुरुङको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । जसमा क्या.रि. महेन्द्र लिम्बू, रन्जिता मल्ल, वाचस्पती रेग्मी र आसबहादुर गुरुङ थिए ।