लन्डन । बेलायतमा २/२ गोर्खा राईफल्स क्लर्क्स प्लाटूनका बाबुजीहरुको वार्षिक भेला कार्यक्रम भएको छ ।
पाकिस्तानी कम्युनिटी सेन्टर रेडिङमा २२ जुलाई २०२३ शनिबार भेला कार्यक्रम भएको हो । झन्डै ४५ जना सहभागी भएको भेला ढकबहादुर र सुशीला गुरुङले नेतृत्व गरेका थिए । गत वर्षको वार्षिक भेला बेजिङ्गस्टोकमा लालप्रसाद गुरुङ बीईएम र सुधा गुरुङले आयोजना गरेका हुन् ।
होममेड सेलरोटी, बिबिक्यूसहितको स्वादिष्ट खानपान, दिदीबहिनीहरुको अचार प्रतियोगिता, सन्त मामाको प्रख्यात स्वादिष्ट मेसिङ्ग, नाचगान, राफल ड्र साथै विविध खेलहरु खेलेर मनोरन्जन गरिएको थियो । विगतका वर्षहरुमा झैं सरोज बस्नेतले मनोरन्जनको जिम्मा लिएका थिए । उनको लाईभ प्रस्तुति साथमा चित्र आले, डम्मरसिंह सुनवार, पूर्ण पुन, डेविड मुखियाका साथै लालप्रसाद गुरुङले गोपाल योञ्जनको सदावहार राष्ट्रिय गीत ’बनेको छ पहराले यो छाती मेरो…’गाएर सबैलाई मन्त्रमुग्ध पारेका थिए ।
त्यस्तै गोमा राना, लक्ष्मीप्रसाद शर्माले कविता वाचन, भीम रानाले अंग्रेजीमा कविता वाचन, ढकबहादुर गुरुङले शाही सम्बोधनको क्यारीकेचर प्रस्तुति दिएका थिए ।
कार्यक्रममा बाबुजीहरुको आँखामा पट्टि बाँधेर कुर्सीमा बसाइ श्रीमतीहरुले अगाडिपट्टि २/२ जीआर क्लर्क्स प्लाटून अनि पछाडिपट्टि २/२ गोर्खा राईफल्स लेखिएको लाली रंग (रातो) को टिशर्ट पहिराएर आँखा खोल्न लगाउने कार्यक्रम पनि राखिएको थियो ।
कार्यक्रमको आकर्षण १९८१ सालमा अवकाश प्राप्त गरेका २/२ जी आर क्लर्क्स प्लाटूनका सबैभन्दा सिनिएर सदस्य स्व. क्याप्टेन धनबीर क्षत्रीकी श्रीमती पवित्र क्षत्री र छोरा विवेक क्षत्री थिए ।
बिहान ११ बजेबाट सुरु भएको कार्यक्रम रातीको ९ बजेसम्म चलेको थियो ।