April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बेलायतमा विश्व मेला सम्पन्न

2K

लन्डन । बेलायतमा विश्व मेला सम्पन्न भएको छ । बेजिंगस्टकमा ‘बेजिंगस्टक मल्टिकल्चरल फोरम’द्वारा संसारका विभिन्न देशहरूबाट आएका समुदायले आ-आफ्ना परम्परागत संस्कृति प्रदर्शन गर्न ‘विश्व मेला’ सम्पन्न गरेको हो।

शनिबार स्थानीय इस्ट्रप पार्कमा सम्पन्न मेलामा २७ देशका ७५ वटा संस्थाहरूले सहभागिता जनाएका थिए। मेलामा सबै समुदायले आ-आफ्नो समुदायको सांस्कृतिक झलक, नृत्य प्रदर्शन गरेका थिए।

बिहान दस बजेदेखि सुरू भएको उक्त कार्यक्रमको सुरूमा आ-आफ्नो देशका राष्ट्रिय एवं जातीय पोशाक लगाएका समूहले स्थानीय सांसद मारिया मिलर, नेपाली राजदूतावास, बेलायतका नियोग उपप्रमुख रोशन खनाल, बेजिंगस्टक तथा डिन काउन्सिलका मेयर डेभिड लिक, काउन्सिल लिडर डा पल हार्भे, काउन्सिलरहरूसहित भएर सांस्कृतिक परेड गरेका थिए।परेडपछि भएको विभिन्न देशबाट आएका स्थानीय समुदायको तर्फबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको  थियो।

Advertisement

सो अवसरमा बेजिंगस्टक स्थित बेजिंगस्टक नेपाली समुदायको तर्फबाट लिम्बू जातिको धाननाचसहित ‘माथि माथि सैलुंगे’ मा भन्ने गीतमा नाच पनि प्रस्तुत गरेका थिए। नेपाली कलाकारहरूले लगाएका लिम्बू जातिको पहिरनको बारेमा धेरै बेलायती र अन्य देशका स्थानीयबासीले चासो राखेका थिए ।

मेलालाई सम्बोधन गर्दै नेपाली राजदूतावासका खनालले संसारका विभिन्न देशहरूबाट बेलायत आएर बसोबास गर्नेहरूले एकापसमा सहकार्य गर्दै आ-आफ्नो देशको संस्कृति र परम्परा जोगाउन गरेको प्रयास सराहनीय भएको बताइन्। यसका लागि स्थानीय काउन्सिल तथा मेयरको भूमिकाको प्रशंसा पनि गरिन्।