April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बेलायत र हङकङमा जन्मिएकाहरुको नेपाली नागरिकता निरन्तरताबारे गम्भीर छलफल

2.8K

काठमाडौं । बेलायत र हङकङमा जन्मिएकाहरुको वंशजको नेपाली नागरिकता निरन्तरताबारे छलफल भएको छ । ५ जुलाई अपरान्ह काठमाडौंमा संविधान संसोधनमार्फत सुनिश्चित गर्ने अभियानका रणनीतिबारे गम्भीर रुपमा छलफल भएको हो ।

ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता अभियानका लागि गठित सर्वदलीय संसदीय फोरमका संयोजक पूर्वमन्त्री शेरबहादुर तामाङको अध्यक्षतामा सम्पन्न बैठकले ब्रिटिश गोर्खाहरुको बलिदान, सन्धी, सम्झौता र उनका पेन्सनबाट राष्ट्रलाई प्राप्त हुने दिर्घकालीन बैदेशिक मुद्राका विषयमा छलफल गरेको छ । सबै पार्टीका शीर्ष नेताहरुसँग गम्भीर छलफल गरी पार्टीहरुमा ह्विप जारी गर्ने परिस्थिति निर्माण गरी अध्यादेशमार्फत संविधान संशोधन गर्न पहल गर्नपर्ने निर्णय गरेको हो ।

बैठकमा पूर्वमन्त्री बसन्त नेम्बाङ, सुरेशकुमार राई, यज्ञराज सुनुवार, हेमकुमार राई र राजेन्द्र राई उपस्थित थिए । त्यसैगरी कानूनी सल्लाहकार संविधानवीद डा चन्द्रकान्त ज्ञवाली साथै क्याप्टेन हिमाल राई र योगिता राईको सहभागीता रहेको थियो ।

Advertisement

बैठकमा गत असार ३ गते संसद सचिवालयमा दर्ता गरिएको ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ चालु संसद अधिवेशनमै सशक्त रुपमा छलफल गराउन सक्दो पहल गर्ने र छलफलको विषय ब्रिटिश गोरखाहरुले परिस्थितीबस बेलायती अंगीकृत नागरिकता लिएता पनि उनका वंशजको नेपाली नागरिकता संविधान संसोधनमार्फत निरन्तरता रहने र बेलायत÷ हङकङमा जन्मिएका गोरखा सन्ततीहरुले वंशजको आधारमा वंशजको नेपाली नागरिकता प्राप्त गर्न सक्ने संवैधानिक व्यवस्था सुनिश्चित हुनुपर्नेमा केन्द्रित हुनपर्ने निर्णय गरेको छ ।

संवैधानिक तथा कानूनी पक्षमा कानूनी सल्लाहकार डाक्टर चन्द्रकान्त ज्ञवाली र विजिएनसीसी नेपालकी संयोजक अधिवक्ता योगिता राईले सुझाव राखेका थिए । त्यसैगरी राजनीतिक परिस्थिति र भावी रणनीतिका विषयमा संसदहरुले आफ्ना धारणा राख्दै यथासम्भव चाँडो ब्रिटिश गोरखाहरुको वंशजको नेपाली नागरिकता निरन्तरताको सुनिश्चितता गरिछाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।