लण्डन । बेलायतको ‘मोस्ट वान्टेड पर्सन’ बनेकी एक ठग महिलालाईे किङ्स क्राउन कोर्टले आठ वर्षको जेल सजाय सुनाइएको छ। उनीबिरुद्द कालो धनलाई शुद्द गर्ने (मनी लण्ड्रीङ) को मुद्दा चलिरहेको बेला भागेर बेपत्ता भएकी सारा प्यानेज्कालाई स्पेनमा निकै लामो समयको खोजीपछि भेटिएकी थिइन् ।
योर्क निवासी (अहिले ४८ वर्षीया) सारा प्यानिज्का सन् २०१३ मा १ अर्ब पाउण्ड बराबरको एक मोबाइल फोन घोटालाको मुद्दा चलिरहेको बेला बेपत्ता भएकी थिइन् ।
नौ बर्षसम्म भागेरै बिताएकी सारा प्यानिज्का गत फेब्रुवरी महिनामा स्पेनका सान्ता बारब्रा, तारागोनामा कुकुर डुलाउँदै गर्दा प्रकाउ परेकी थिइन् । उनी बेलायत फिर्ता सुपुर्दगी भएको झण्डै चार महिनापछि लण्डनको अदालतले उक्त फैसला सुनाएको हो ।
सुरुमा उनलाई सन् २०१० तिर भएको एक दशौं लाख पाउण्ड स्टर्लिङ बराबरको भ्याट (भी. ए. टी.) ठगी काण्डमा उनको संलग्नता रहेको र जसबाट उनले अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेको थियो । जुन आरोपका लागि अदालतमा हाजिर नभए पनि उनलाई सन् २०१३ मा दोषी ठहर्याइ आठ वर्षको सजाय सुनाइएको थियो ।
तर यस पटक भने गत जुन १० शुक्रबारको दिन उनलाई अदालतमै उपस्थित गराइयो ।
न्यायाधीश सारा प्लाश्केस क्यू. सी. ले पुरानै फैसला सुनाउँदै प्यानिज्केलाई तुरुन्तै जेल चलान गर्न आदेश दिइन् ।
अफशोर (विदेशमा रहेका) खाताहरू मार्फत कालो पैसा सेतो बनाउने योजनाको उनी हिस्सा भएको प्रमाणित भएपछि प्यानिज्काले कम्तीमा पनि चार बर्षका जेलमा बस्नु पर्ने भएको छ । त्यसपछि उनले परोलका लागि निवेदन गर्न सक्नेछिन् ।
सन् २०१६ मा उनको अनुपस्थितिमा अदालतले २४ लाख पाउण्ड उनीबाट जफत गर्न आदेश पनि दिएको र उक्त रकम नतिरेमा थप नौ बर्ष जेलमा बस्नु पर्ने फैसला सुनाएको थियो । तर उनले आजसम्म उक्त रकम तिरेकी छैनन् जसको ब्याज पाँच सय अड्तीस प्रति दिन थप भइरहेको छ ।