April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

डा महाविर पुन युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरद्धारा सम्मानित

4.3K

लण्डन । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा नेपाली वैज्ञानिक डा महाविर पुन मगरलाई युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरले सम्मान गरेको छ । युनिभर्सिटीमा आयोजित एक कार्यक्रममा डा पुनले गरेको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

कार्यक्रममा डा पुनले आफ्नो कामहरु भिडियो मार्फत प्रस्तुतीकरण गरेका थिए । पुनले जनस्तर र विदेशीको सहयोगबाट स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्य लगायतका २० भन्दा बढी क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम गरिरहेको जानकारी दिए ।

आफ्नो कामहरु भिडियोमार्फत प्रस्तुत गर्दै डा महाविर पुन ।

कार्यक्रममा उपस्थित विद्यार्थी एवम् अन्य सहभागीहरुले राष्ट्रिय आविष्कार केन्द्र र महाविर पुनको बारेमा जिज्ञासा एवम् टिप्पणीहरु राखेका थिए । सो कार्यक्रमका आयोजक समेत रहेका बिज एजुकेशन कन्सलटेन्सीका प्रबन्ध निर्देशक हरि कार्कीले कार्यक्रममा सहभागी सम्पूणलाई धन्यवाद व्यक्त गर्दै डा. महाविर पुनको स्वागत एवम् सम्मान गरेका थिए ।

Advertisement

नेपालको खोज अनुसन्धान तथा प्रविधिको क्षेत्रमा पुर्याएको योगदान र उनको कर्मको प्रतिफल स्वरुप गरिएको सम्मान कार्यक्रममा नेपाल एजुकेशन काउन्सील युकेका पदाधिकारीहरु बसन्त नेपाल, लेखनाथ गैरे, गणेश खड्का, कृष्ण खनाललगायत सयौँको उपस्थिति रहेको थियो ।

महावीर पुन एक नेपाली वैज्ञानिक, शिक्षक, सामाजिक उद्यमी हुन् । वायरलेस प्रविधिद्वारा देशका ग्रामीण क्षेत्रमा सूचना प्रवाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सञ्जाल परियोजनामार्फत इन्टरनेट सञ्जाल विस्तार गर्न सफल महावीर त्रिभुवन विश्वविद्यालयभित्र रहेको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पनि हुन् ।

पुनले सन् २०१२ मा सूचना तथा प्रविधि मार्फत देश विकासका सम्भावनाहरूको खोज र आविष्कार गर्ने उद्देश्यले मुनाफारहित संस्था राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरेका थिए ।

नेपालको विकास र उन्नति कसरी गर्न सकिन्छ भन्ने उद्देश्य सहित स्थापित राष्ट्रिय आविष्कार केन्द्र मार्फत थुप्रै सामाजिक कार्यहरू हुँदै आईरहेको छ ।