लण्डन – बेलायतमा गोर्खा भूतपूर्व सैनिकका सन्तानद्धारा ल फर्म सञ्चालन हुने भएको छ । सैनिकका सन्तानले खोलेको यो पहिलो ल फर्म हो ।
गोरखा सलिसिटर्स लिमिटेड नाम गरेको सो ल फर्म सोलिसिटर उत्तरमान तिगेला लिम्बूले सन्चालनमा ल्याउन लागेका हुन् । पूर्व गोरखा सैनिकका पुत्र तिगेला सो ल फर्मका संस्थापक तथा प्रिन्सिपल सोलिसिटर हुन् । तिगेलाले फर्म सन्चालनका लागि सोलिसिटर्स रेगुलेसन अथोरिटी (एसआरए) बाट अनुमति प्राप्त भइसकेको बताए ।
गोरखा सोलिसिटर्स लिमिटेड ल फर्मका संस्थापक तथा प्रिन्सिपल सोलिसिटर तिगेला नेपालमा पनि अधिवक्ता तथा नोटरी पब्लिक थिए । तत्पश्चात हङ्कङमा १० वर्ष एक्युट एण्ड कम्पनी लिमिटेडअन्तर्गत इमिग्रेसन एण्ड लिगल कन्सल्ट्याण्टका रुपमा काम गरेका थिए । सन २०११ मा बेलायत आएका तिगेलाले ब्रुनेल युनिभर्सिटी लण्डनबाट सन् २०१३ मा कानुनमा ग्राजुयट डिप्लोमा इन ल गरी युनिभर्सिटी अफ वेष्ट लण्डनबाट सन् २०१५ मा लिगल प्राक्टिस कोर्स उत्तीर्ण गरेका छन् । तिगेलाले नेपालको त्रिभुवन युनिभर्सिटीबाट बिएल, बिए, र युनिभर्सिटी अफ वेष्ट लण्डनबाट एलएलएम डिग्री हासिल गर्नुभएको छ । तिगेलाको बुबा सेकेण्ड ७ जिआरका २११३७८२२, आशिकराम लिम्बु हुन ।
लण्डन ह्यारो स्थित कोर्टनी स्मीथ सोलिसिटर्सबाट २ बर्षे तालिम पूरा गरी सन् २०१७ देखि सोही ल फर्ममा सोलिसिटरका रुपमा उनी कार्यरत छन् । इमिग्रेसन, फेमली म्याटर, प्रोपर्टी कन्भेयान्सिङ र ब्यक्तिगत दुर्घटना लगायतका क्षेत्रमा तिगेलाले विज्ञता हासिल गरेका छन ।
रिटायर्ड गोर्खा आर्मी तथा बिधवाहरुका बयस्क छोराछोरीहरुको युकेको बसोबास सम्बन्धी बेलायतको अदालतहरुमा मुद्दा दायर गरेर अहिलेसम्ममा सयौं गोर्खाका छोराछोरीहरुको मुद्दा जित्न सफल भएका छन् ।
बेलायतमा गोर्खा भूतपूर्व सैनिकका सन्तानहरुले विभिन्न क्षेत्रमा प्रगति गर्दै आईरहेका छन् ।