काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मजदुर आन्दोलनले नै कम्युनिष्ट आन्दोलनलाई शिक्षा दिएको भन्दै नेपाली कम्युनिष्ट आन्दोलनमा मजदुर वर्ग र सङ्गठनहरूको ठूलो भूमिका रहेको बताए ।
एकीकृत ट्रेड युनियन महासंघ, नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले संगठन नै बल भएको र आन्दोलन नै शक्ति भएको हुँदा सृजनामा लाग्न मजदुर आन्दोलनले नै शिक्षा दिएको विचार व्यक्त गरे । उनले नेपालको मजदुर आन्दोलन र कम्युनिष्ट आन्दोलनको सम्बन्ध अन्योन्याश्रित भएको भन्दै यीनिहरु एक सिक्काका दुईवटा पाटो भएको विचार व्यक्त गरे ।
नेता नेपालले छिट्टै केन्द्र लगायत सबै प्रदेशका सरकारहरूले पूर्णता पाउने बताए । भर्खरै उपनिर्वाचन सम्पन्न भएको भन्दै अब सबै सरकारहरुले पूर्णता पाउने बताएका हुन् । अध्यक्ष नेपालले अब पार्टीको ध्यान समाजवादी मोर्चा बनाउने कुरामा केन्द्रित हुनेसमेत बताए ।
उनले पार्टी दोश्रो चरणको संगठन सुदृढिकरणको अभियानमा जुटेको जानकारी दिदै पहिलो चरणको अभियानबाट प्राप्त भएका अनुभवका आधारमा अघि बढ्ने बताए । पार्टीभित्र पद ओगट्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने र जनताको भावना अनुसार संगठनहरू चल्नुपर्ने उनले बताए ।
मजदुर आन्दोलनले नै कम्युनिष्ट आन्दोलनलाई शिक्षा दिएको भन्दै मजदुर संगठनले औपचारिक तथा अनौपचारिक क्षेत्रमा रहेका मजदुरको हित हुने गरी काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा अध्यक्ष नेपालले संगठनको पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्रसमेत प्रदान गरेका थिए ।