हिम्मत र परिश्रम गर्न सके देश मै केही गर्न सकिन्छ । देश भित्रै कयौं अवसर र सम्भावनाहरु छन् । लाखौं युवा विदेशमा श्रम दैनिक रुपले बेचिरहेका बेला कसैले देश भित्रै सफल व्यावसाय गरिरहेका छन् । तिनै मध्ये एक हुन यमुना तुम्सा सङ्यक । धकुट्टाको चौबिस थुममा जन्मेका यमुना तुम्सा सङ्यकले अहिले धरान १२ चतरालाइनमा चौविसे सङ्यक ढाका उद्योग सफल रुपले सन्चालन गरिरहेकी छन् ।
ढाका याक्थुङ समुदायको परम्परागत सीप मानिन्छ । पछिल्लो समय ढाका व्यावसायबाट कयौंले राम्रो आम्दानी गरिरहेका छन् । धेरैले रोजगार पाउनुका साथै आयको स्रोत समेत बनेको छ । ढाका कपडा विशेषगरि हातेतानबाट बुनेर तयार गरिन्छ । उक्त कपडा महिलाका लागि साडीदेखि विभिन्न फेसनेवल डिजाईनका कपडा तयार गरिन्छ । पुरुषका लागि कोट, दाउरासुरुवाल बालबालिकाका लागि पनि आवश्यक पोसाक तयार हुन्छ । यस्तै विभिन्न डिजाईनका कपडा विगत तीन वर्षदेखि आफै ढाका उद्योगबाट उत्पादन गरेर देशदेखि विदेशसम्म व्यापार गरिरहेकी छन् यमुना तुम्सा सङ्यकले । दुईवटा तानबाट व्यावसाय शुरु गरेकी उनले अहिले करिब एकसय वटा तानबाट दैनिक ढाका कपडा उत्पादन गरिरहेकी छन् ।
याक्थुङ समुदायको परम्परागत सिपलाई यसरी आधुनिक रुपले व्यावसायिकरण गर्नु सांस्कृतिक र व्यावसायिक रुपले पनि राम्रो मानिन्छ । लेखक तथा अन्वेषक राजकुमार दिक्पालका अनुसार याक्थुङहरुले परम्परागत रुपले विकास गरेर ल्याएका कपडा बुन्ने सिपलाई ढाका नभनेर थाका भनिन्छ । थाकाबाट अपभ्रंश भएर ढाका भनिएको हो । उहाँ लेख्नुहुन्छ– ‘उइले युमाले तान हालेर यस्तो कपडा बनाउदा थाक–थाक गर्दै आवाज आउथ्यो, तानमा थाक–थाक गरि आवाज आउँदा तानमा बुनेको कपडालाई थाका भनियो ।’ याक्थुङ समुदायमा तान बुन्ने सीप युमाले सिकाएको भन्ने जनविश्वास पनि छ । आज भन्दा करिव ७०–८० वर्ख पहिले प्रतेक याक्थुङ घरमा तान हुन्थ्यो । उक्त तानबाट आफैले बुनेको कपडा मात्र लगाउने गर्थे । आधुनिक युगको विकासँंगै तान बुन्ने परम्परागत सीप लोप हुने अवस्थामा पुगेको बेला यसरी व्यावसायिक रुपले ढाकाको उत्पादन गर्नु परम्परागत सिपलाई संरक्षण गर्नुका साथै रोजगारीको सिर्जना पनि हुनेछ ।
सांस्कृतिक मोहले ढाका व्यावसायमा आकर्षित भएका यमुनाले धनकुटादेखि धरानमा झरेर स्थापित हुनु उति सजिलो थिएन । तर पनि निरन्तर लागि परेमा अवश्य सफल भइन्छ भन्ने मान्यतालाई चरितार्थ गर्दै अहिले उनको ढाका उद्योग स्थापित भएको छ । व्यावसाय शुरु गर्दा आफुले संघर्ष गरेका दिनहरु सम्झदा कहाली लाग्ने यमुना बताउछन् । धनकुटामा केही समय पढाउने काम पनि गरेका उनले स्नातकोत्तर गरेकी छन् । जागिरमा उति ईच्छा नभएरै आफू ढाका व्यावसायतिर लागेको बताउछिन् । उसो त ढाका उद्योगलाई यहाँसम्म पुर्याउन उनि एक्लैले सम्भव थिएन । बीचमा बहिनी नुमा तुम्सा सङयकको सहयोग पाए पछि व्यवसायलाई अगाडि बढाउन झन् सजिलो भयो । अहिले दिदी – बहिनी मिलेर ढाका उद्योगलाई व्यावस्थित रुपले अगाडि बढाई रहेका छन् । विशेषतः नुमा तुम्सा सङ्यक फेसन डिजाईनमा सिपालु छिन् । उनले डिजाईन गरेका ढाकाका विभिन्न पोसाकहरु धेरैले मन पराउदै आएका छन् ।
सांस्कृतिक जागरण र पहिचानका लहरले अहिले ढाका कपडाको बजार पनि फराकिलो बन्दै गएको छ । चौबिसे सङ्यक ढाका उद्योगबाट उत्पादित ढाका कपडा हाते तानबाट मिहेनतका साथ बुनिएकोले क्वालिटिमा तलमाथि नहुने दिदिबहिनी बताउछन् । व्यावसायबाट पैसा कमाउन भन्दा ग्राहकलाई चित बुझ्दो सामान उपलब्ध गराउनु नै पहिलो लक्ष रहेको पनि बताउछन् । अहिले ढाका कपडाको माग अत्यधिक बढेको अवस्था छ । ग्राहकको माग अनुसार पुर्याउन गार्हो भैइरहेको नुमा तुम्सा सङ्यक बताउछिन् । उनिहरुले अहिले विश्वको करिव दुई दर्जन भन्दा बढी देशहरुमा नेपाली ग्राहक माझ ढाका पोसाक निर्यात गरिरहेका छन् । पछिल्लो समय प्रविधिको विकाससँगै सामाजिक सन्जालले कुनै पनि व्यावसायलाई व्यापिकरण गर्न महत्वपूर्ण भूमिका खेलेको छ । चौबिसे सङ्यक ढाका उद्योगबाट उत्पादित ढाका कपडालाई व्यापिकरण गर्नमा पनि सामाजिक सन्जालले धेरै सजिलो बनाई दिएको कुरा दिदिबहिनी स्वीकार्छन् । कोरोना महामारीले कुनै पनि क्षेत्र अछुत रहेन । कोरोना महामारीका कारण ढाका व्यावसायलाई पनि धेरै नै प्रभाव पारेको यमुना बताउछन् ।
हाल उक्त उद्योगमा प्रत्यक्ष – अप्रत्यक्ष रुपले एक सय जना भन्दा धेरै महिला दिदी बहिनीले रोजगार पाईरहेका छन् । आफुहरु व्यावसायिक रुपले सफल भएर पैसा कमाउनु भन्दा धेरै जनालाई रोजगार दिन सक्नु नै सबैभन्दा ठूलो सन्तुष्टि रहेको दिदिबहिनी बताउछन् । ढाका बुनाईमा मिहिनेतका साथ काम गरियो भने महिनाको २० देखि २५ हजार सम्म कमाउन सक्छन् । विदेश गएर दुख गर्नु भन्दा महिला दिदिबहिनीहरुले स्वदेशमा बसेर यति कमाई गर्नु ठूलो कुरा हो । ढाका बुन्न सीप सिक्न चाहाने महिला दिदिबहिनीलाई चौबिसे सङ्यक ढाका उद्योगले निशुल्क सीप सिकाउनुका साथै त्यही रोजगार पनि दिई रहेको छ ।
ढाका अर्थात थाका नेपाली मौलिक उत्पादान हो, जो महिला दिदिबहिनीहरुको मिहिनेत र सिपबाट तयार हुन्छ । कतिपयले ढाका कपडा महङ्गो हुने बताएता पनि बजारमा पाईने महङ्गो फेन्सी कपडा भन्दा मुल्यमा खासै तलमाथि हुदैन । आफ्नै दिदिबहिनीहरुको मौलिक सिपबाट तयार भएको ढाका पोसाक लगाउदा तेसो त गर्वले छाती फुल्छ । यसैगरी ढाकाको बजार फराकिलो बन्दै गएमा एकदिन विश्व बजारमा नेपाली ढाकाको छुट्टै मौलिक ब्रान्ड कसो नबन्ला ? तर त्यसको लागि राज्यले पनि विशेष पहल , सहयोग र व्यावसायीहरुलाई प्रोत्साहन दिन एकदम जरुरी छ । बेरोजगारले चिथोरिरहेको लाखौं नेपाली युवा युवती विदेशमा दैनिक श्रम बेचिरहदा स्वदेश मै केही गर्न सकिन्छ भनेर उदाहरणीय बनेका ढाका उद्यमी दिदी– बहिनि यमुना तुम्सा सङ्यक र नुमा तुम्सा सङ्यक बाट अरुले पनि केही सिक्ने कि ?
प्रस्तोता – आपुङीहाङ याक्थुङ