पाँचथर । पाँचथर जिल्लाको बिकट ठाउँको रुपमा चिनिने याङवरक गाउँपालिका २ स्थित बर्मेमा रहेको तिम्बुङपोखरी आधारभूत विद्यालयमा अध्ययनरत बालवालिकाहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरीएको छ । पाँचथर जिल्लामा स्थापित सामाजिक संस्था जनसेवा समाजको पहलमा विद्यालयमा शुक्रबार शैक्षिक सामग्री र जाडोमा लगाउने न्यानो कपडा लिएर प्रहरी पुग्दा विद्यार्थीसँगै अविभावकहरु पनि उत्साहित भएका थिए ।
१६ घर रहेको बर्मे गाउँमा अहिले पनि मोटरबाटो पुगेको छैन । यहाँ पुग्न याङवरक १ को बेतेती टोलदेखि लगभग चारघण्टा पैदल हिड्नुपर्छ । प्रहरी र कर्मचारी मात्रै नभएर जनप्रतिनिधि र संघ सस्थाको उपस्थिति पनि बिरलै मात्रै हुने यो गाँउको विद्यालयमा पुगेर जिल्ला प्रहरी कार्यालय पाँचथर र जिल्लाको सामाजिक संस्था जनसेवा समाजले पहिलो पटक यसरी सामाजिक उत्तरदायीत्वको काम गरेको हो ।
आधारभूत तहसम्म पढाई हुने यो विद्यालयमा ११ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा शैक्षिक सामग्री लिएर प्रहरी नायव निरिक्षक श्याम पौडेल,प्रहरी जवान सन्तोष खड्का,जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारी र उपाध्यक्ष चन्द्र जवेगु पुगेका थिए । सदरमुकामबाट हिँडेको उक्त टोलीलाई च्याङथापु हुँदै बर्मे गाँउ पुगेर फर्किन तीनदिन लागेको जनसेवा समाजका अध्यक्ष अधिकारीले बताए । ‘बाहिरका मान्छे बिरलै मात्रै पुग्ने यो ठाँउका बालबालिकालाई सहयोग गर्न पाँचथरका प्रहरी प्रमूख (डिएसपी) हरि खतिवडाले तत्परता देखाएपछि हामी त्यसतर्फ लागेका थियौं ।’ जनसेवा समाजका अध्यक्ष अधिकारीले भने ।
२ हजार ७ सय मिटरको उचाइमा अवस्थित यो विद्यालय सेवा क्षेत्रमा मंसिर नलाग्दै जाडो सुरु हुन्छ, यतिखेर तुसारो जमेर साँझ नपरी खानेपानीका पाइप बन्द हुन्छन्।
‘गाउँ पालिका र शिक्षा कार्यालयबाट अनुगमनका लागि पनि हम्मेसी आइपुग्दैनन, यस्तो बिकल ठाँउसम्म आएर विद्यार्थीलाई हौसला दिने प्रहरी र सामाजिक अभियन्तालाई धन्यवाद ।’ प्रधानाध्यापक केवलीप्रसाद मैनालीले भने ।
विद्यार्थीलाई कापी र कलमसँगै स्वेटर,टोपी र मोजा लगायतका सामग्री उपलव्ध गराइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपबहादुर राईले बताए ।
जिल्लामा सामाजिक सेवामा कार्यरत जनसेवा समाजले खास गरी बालवालिका र महिलाहरुको क्षेत्रमा समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएको छ ।