November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्रहरीको हतियार खोसेर सिंहदरबारको गेटमा पोजिसन लिने राजु पक्राउ

435

काठमाडौं । जेनजी आन्दोलनका बेला प्रहरीको एसएलआर खोसेर सिंहदरबारको गेटमा पोजिसन लिने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरका ३६ वर्षीय सम्राट भनिने राजु परियार पक्राउ रहेका छन् ।

प्रहरीको सेल्फ–लोडिङ राइफल (एसएलआर) कक गर्दै पोजिसन लिएको उनको फोटो सामाजिक संजालमा छरपस्ट भएको थियो ।

स्वचालित राइफल बोकेर उशृंखल गतिविधि गरेको आरोपमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको हो ।

Advertisement

परियारविरुद्ध विभिन्न मितिमा ८ वटा जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ । यसअघि नै उनी विभिन्न मितिमा ६ पटक पक्राउ परिसकेका छन् । पक्राउ पर्नु, छुट्नु पुनः अपराधमा सक्रिय हुनु उनको पेसाजस्तै देखिन्छ ।

आन्दोलनको दिन प्रहरीको हतियार खोस्ने, सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी गर्ने, मुलुकी अपराध संहिताको दफा २८५ बमोजिमको आपराधिक उपद्रव गर्न नहुने कसुरमा परियारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध अनुसन्धान गर्नका लागि जिल्ला अदालत काठमाडौंले ५ दिनको म्याद थप गरेको छ ।

प्रहरीले उनलाई पक्राउ गरे पनि उनले लुटेको हतियार भने फेला परेको छैन । प्रहरीसँगको बयानका क्रममा उनले हतियार सेनालाई बुझाएको बताएका छन् । तर, पुष्टि भएको छैन ।