काठमाडौं। कास्कीको पोखरा क्षेत्रमा ‘मुख्यमन्त्रीको पिए हुँ’ भनेर ठग्ने युवक काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर–३१ घर भएका २८ वर्षीय सुवास सुवेदी रहेका छन् ।
सुवेदीलाई आपराधिक विश्वासघात सम्बन्धी मुद्दामा ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रहरीका अनुसार वैशाख २० मा सुवेदीले पोखरास्थित एउटा टुर्स एण्ड ट्राभल्स प्रालीमा फोन गरेर ‘म मुख्यमन्त्रीको पिए हुँ, तुरुन्तै मलाई पोखराबाट काठमाडौँ र काठमाडौँबाट नेपालगञ्जको हवाई टिकट पठाइदिनु’ भनेर फोन गरेका थिए ।
टिकट काट्न लगाएर यात्रा गरेपनि उनले ट्राभल्सलाई पैसा नदिएर ठगेका हुन् । वडा प्रहरी कार्यालय बैदामका डीएसपीलाई पनि उनले फोन गरेर ‘बालुवाटारबाट बोलेको हुँ’ भन्दै अभद्र व्यवहारको मुद्दा बुझाउन निर्देशन गरेको खुलेको प्रहरीले जनाएको छ ।
उनले पोखरा क्षेत्रमा ‘कास्कीको प्रमुख जिल्ला अधिकारीलाई मैले सरुवा गरेर ल्याएको हुँ’ भन्दै हिँड्ने र ठुला मान्छे चिनेको धाक लगाएर ठग्ने गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
आरोपीविरुद्ध २ वटा ठगी मुद्दाको जोहरी परेको प्रहरीले जनाएको छ।