काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद भएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको छ । ‘ब्रेक शु’बाट छुट्टयाएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जनाएका छन् ।
गाल्नुअघि यो सुन ६० किलो ७८९ ग्राम थियो । गाल्दा खेरि सुन ७३ ग्राम घटेको जनाइएको छ ।
राजस्व अनुसन्धान विभागले गत साउन ३ मा सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । जसलाई सीआईबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन जोखिएको थियो ।
सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजस्व अनुसन्धान विभागले थप छानबिनको जिम्मा सीआईबीलाई लगाएको थियो । सीआईबीले संगठित अपराध र राजस्व छलीको कसुरमा यो प्रकरणको अनुसन्धान गरिरहेको छ ।