काठमाडौं । व्यवसायी दीपक मल्होत्राले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामत भएको ठूलो परिमाणको सुनमा आफ्नो संलग्नता नरहेको बताएका छन् । समाचारमा आफ्नो नाम उल्लेख भएको भन्दै उनले उक्त समाचार कपोकल्पित, भ्रामक र असत्य रहेको बताएका हुन् ।
बिहीबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नोबारेमा गलत समाचार लेख्ने मिडिया र पत्रकारले माफी नमागे र खण्डन प्रकाशन नगरे कानूनी उपचारमा जाने चेतावनीसमेत दिएका छन् ।
मल्होत्राले वास्तविक दोषीलाई डाइभर्ट गराउन उक्त प्रकरणमा आफूलाई जोडेको हुनसक्ने आशंका व्यक्त गरे । उनले भने, ‘मैले निर्क्यौल के निकालेको छु भने जुन गिरोह, जुन ग्याङले यो सामन ल्याएको छ, जसको यो सामन हो, तिनीहरुलाई डाइभर्ट गर्नका लागि, तिनीहरुलाई बचाउनका लागि यो खाल्को समाचार मप्रति लक्षित बनाएर ल्याएको हुनसक्छ ।’
उनले अहिलेसम्म कुनै पनि अनुसन्धान गर्ने निकायबाट आफूलाई उक्त घटनामा फोन नआएको पनि बताए । उनले भने, आजमात्रै आफूलाई तीन सयभन्दा बढि फोन आएको र सबै फोनको जवाफ पनि दिएको उनले बताए । उनले भने, ‘आज साढे छ बजेदेखि मैले २/३ सय वटा फोन रिसिभ गरिसकेँ । आज मैले मेरो सबै फोन रिसिभ पनि गरिरहेको छु । मलाई अहिलेसम्म पुलिस प्रशासनबाट सोधपुछ भएको छैन ।’
उनले भन्सार विभाग र कुनै पनि भन्सार कार्यलय नपुगेको २५ वर्ष भएको बताएका छन् । सोहीकारण, भन्सारमा कार्यरत कोही पनि कर्मचारीलाई आफूले नचिन्ने र नाम समेत जानकारी नरहेको उनले बताए । उनले भने, ‘अहिले मेरो कम्पनीले गर्ने आयात मोबाइल फोन मात्रै हो । यसमा पनि भन्सार एजेन्टले क्लियर गर्छ ।’