काठमाडौं । समाजवादी प्रेस संगठन नेपालले पत्रकार महासंघको निर्वाचन लक्षित गतिविधि सञ्चालन गरेको छ।
शनिबार समाजवादी प्रेस संगठन काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको विशेष भेला तथा अन्तरक्रिया कार्यक्रम मार्फत महासंघको निर्वाचन लक्षित गतिविधिलाई तीव्रता दिएको छ।
श्रमजीवी पत्रकार र पत्रकारिता क्षेत्रमा देखिएका विकृति र विसंगतिहरुलाई निरुत्साहित पार्न महत्वपूर्ण भूमिका निभाउने बताएको सो भेलाले काठमाडौं जिल्ला शाखामा अप्सरा गौतमलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेकाे छ । गौतम काठमाडौँ नेपाल पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखाकी उपाध्यक्ष समेत हुन्।
नेकपा (एकीकृत समाजवादी)का प्रचार विभाग प्रमुख तथा पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाको प्रमुख अतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा प्रचार विभाग सचिव प्रकाश खतिवडा, प्रेस संगठनका संस्थापक अध्यक्ष शम्भु श्रेष्ठ, प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी, नेपाल पत्रकार महासंघका सचिव गोविन्द चौलागाई, महासंघकै केन्द्रीय सदस्य शन्तराम विडारी,समाजवादी प्रेस संगठनका उपमहासचिव लेखनाथ सिकारू लगायतले धारणा राखेका थिए।
पार्टी प्रचार विभाग प्रमुख खतिवडाले जिल्लादेखि केन्द्रसम्म अनुभव र योगदानको आधारमा सहमति, सहकार्य र सद्भावसहित उम्मेद्वार छनोट गर्न सुझाव दिए। महासंघको निर्वाचनमा आइपर्ने समस्यालाई समाधान गर्न पार्टी पंक्तिबाट समेत सहयोग गरिने बताए। समाजवादी प्रेस संगठन जिम्मेवार पत्रकारहरूको संगठन भएकोले सशक्त भएर लाग्न निर्देशन दिए।
समाजवादी प्रेस संगठन जिल्ला कमिटीका अध्यक्ष भीम लामाकाे अध्यक्षतामा कार्यक्रम भएकाे थियाे ।