काठमाडौँ नेपाली कांग्रेसको महाधिवेशन फागुनमा हुने सम्भावना नभएको महामन्त्री डा शशाङ्क कोइरालाले बताएका छन् ।
डा कोइरालाले क्रियाशील सदस्यता वितरणदेखि दावीविरोधलगायत काम गर्न बाँकी रहेकाले तोकिएका समयमा महाधिवेशन सम्भव नरहेको स्पष्ट पारे ।
यी सबै काम गर्नका लागि पनि अझै समय लाग्ने भएकाले पार्टीको महाधिवेशन चैत अन्तिम साता वा वैशाखमा गर्नुपर्ने उनको भनाइ थियो । उनले भने, “मङ्सिर मसान्तसम्म जिल्लाबाट क्रियाशील सदस्य आउनुपर्यो । त्यसमा दावी विरोध हुन्छ । त्यसलाई समय दिनुपर्यो ।”
महाधिवेशनमा आफू कुन पदमा लड्ने भन्ने विषयमा टुङ्गो लागिनसकेको उनको भनाइ थियो । पार्टीभित्रका जिम्मेवार व्यक्तिसँग कुरा चलिरहेकाले छलफलबाट उम्मेदवार टुङ्गो लगाइने उनले बताए । उनले भने, “कार्यकर्ताको चाहना मलाई सभापति भएको देख्ने छ । रामचन्द्रजी, प्रकाशमानजी, शेखर दाइ, सुजातालगायत जिम्मेवार व्यक्तिसँग छलफल भएको छैन ।”
उनले अहिलेका अवस्थामा कांग्रेस सरकारमा नजाने स्पष्ट गरे ।