April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

आदिवासी साहित्यकारहरूको राष्ट्रिय भेला फागुन अन्तिममा हुने

4.7K

१ फेब्रुअरी, लन्डन(यूके), ÷ सिमान्तकृत समुदायका सर्जकहरूको कार्यनीति एवम् रणनीति तय गर्न आदिवासी जनजाति साहित्यकार महासङ्घ, नेपालले फागुनमा राष्ट्रिय भेला गर्ने भएको छ । आदिवासी जनजातिका मुद्दाहरूलाई थप उचाइमा पुर्याउनका लागि भन्दै महासङ्घले भेला आयोजना गर्न लागेको हो ।

आइतबार जुममार्फत बसेको पहिलो पूर्ण बैठकले फागुन २९ र चैत १ मा दुई दिने राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको संयोजक राजन मुकारुङले बताए । उनले भेलामा केन्द्रीय समिति, राज्य समिति र प्रवास प्रतिनिधिहरूको सहभागिता रहने जानकारी दिए । ‘आदिवासी एवम् सिमान्तकृत समुदायका मुद्दाहरू साहित्य र सिर्जनामार्फत् थप बुलन्द पार्न हामी हाम्रो रणनीति तय गर्नेछौँ । राज्यको एकात्मक चरित्रविरूद्ध कलम बोक्ने समूहहरू सदैव वैचारिक हिसाबले क्रियाशील रहनेछन्,’ भेला कार्यक्रमका संयोजक समेत रहेका मुकारुङले थपे । उनले राष्ट्रिय भेलाले सङ्गठनको विधि विधान र आगामी कार्ययोजनाहरूको तय गर्ने उल्लेख गरे । भेलाको स्थानबारे आगामी बैठकले टुङ्गो लगाउने उनले बताए । त्यस्तै, बैठकले केन्द्रीय सदस्य डा. विष्णु कुमार सिञ्जालीको संयोजकत्वमा पाँच सदस्यीय विधान तयारी समिति समेत गठन गरेको संयोजक मुकारुङले सुनाए । समितिका अन्य सदस्यहरूमा डा. सोमबहादुर धिमाल, उत्तम सुनुवार, सीता तुम्खेवा र उर्मिला गम्वा थारू रहेका छन् । सो समितिलाई फागुन १५ गतेसम्म विधान निर्माण गर्न जिम्मेवारी तोकिएको छ ।

त्यसैगरी, भेलालाई केन्द्रित गरेर बैठकले राज्य समितिहरूलाई पूर्णता दिने निर्णय गरेको सचिव बुद्ध योञ्जन लामाले जनाए । सबै राज्य समिति र सम्भव भएका प्रवास समितिहरूलाई फागुन १५ गतेसम्म पूर्णता दिइने सचिव लामाले बताए । उनले पहिलो बैठकमा केन्द्रीय समिति, राज्य समिति संयोजकहरू र विभिन्न मुलुकका प्रवास संयोजकहरू सम्मिलित भएको जानकारी दिए । गत माघ एक गते घोषणा भएको साहित्यकार मुकारुङको संयोजकत्वमा महासङ्घको ३४ सदस्यीय केन्द्रीय तदर्थ समिति, आठ राज्य समिति संयोजक र १४ प्रवास संयोजकहरू घोषणा गरेको थियो । साहित्यकार महासङ्घलाई नेपाल आदिवासी जनजाति महासङ्घ(नेफिन)ले सम्बद्ध संस्थाका रूपमा मान्यता दिएको छ ।

Advertisement