April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

प्रदेश १ मा विकास निर्माणका योजनाहरु परिमार्जित गरिने

3.5K

विराटनगर: प्रदेश १ मा तोकिएको लक्ष्य अनुसार आन्तरिक स्रोतबाट हुने आम्दानी घटेकाले विकास निर्माणका योजनाहरुको बजेट परिमार्जित गर्नुपर्ने भएको छ । एकातिर आन्तरिक स्रोतबाट हुने आम्दानी घटिरहेको र अर्कोतिर खर्च बढेकाले विभिन्न मंत्रालयहरुलाई आर्थिक मामिला तथा योजना मंत्रालयले ५० प्रतिशत बजेट कटौती गरी योजना परिमार्जित गरेर ल्याउन निर्देशन दिएको छ ।

राजस्व बाँडफाँड अनुसार संघबाट आउनु पर्ने रकम आईरहेको भएपनि स्थानीय तहबाट ५० प्रतिशत मात्र रकम आएको र कोरोना रोकथाममा खर्च बढेकाले विकास योजनाहरु प्रभावित हुने आर्थिक मामिला तथा योजना मंत्रालयका प्रवक्ता पंकज भुर्तेलले जानकारी दिनुभयो ।

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा आन्तरिक स्रोतबाट ४ अरब ७५ करोड रुपैया आम्दानी हुने लक्ष्य राखिएकोमा कोरोना महामारीका कारण १ अरब २७ करोड ४८ लाख रुपैया मात्र राजस्व उठेको आर्थिक मामिला तथा योजना मंत्रालयले जनाएको छ ।

Advertisement

प्रदेश १ मा विगत ६ महिनामा करिब ११ अरब १७ करोड ६९ लाख रुपैया आम्दानी भएकोमा ७ अरब ६३ करोड रुपैया चालू र पूँजीगत खर्च भएको छ । समपूरक, सशर्त र विशेष अनुदानको बजेट सम्बन्धित क्षेत्रमा नै खर्च गर्नुपर्ने भएको र करिब साढे २ अरब रुपैया संघलाई फर्काउनुपर्ने अवस्था आएकाले प्रदेशको बजेट स्थिति संवेदनशिल रहेको बताइएको छ ।