काठमाडौं । नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री तथा रौतहटका पूर्वजिल्ला सभापति मोहम्मद अफ्ताब आलमको निधनप्रति गहिरो शोक व्यक्त गरेको छ।
पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा शनिबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले आलमको काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा भएको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो।
बैठकले आलमको निधनबाट पार्टीले एक अनुभवी र समर्पित नेताको निधन भएको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामना गरेको छ।
पार्टीले आलमको शोकमा कात्तिक २२, २३ र २४ गतेसम्म केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने, कात्तिक २३ गते सबै कार्यालय बन्द गर्ने, १३ दिनसम्म शोकपुस्तिका राख्ने र सम्बन्धित जिल्लामा शोकसभा आयोजना गर्ने निर्णय गरेको छ।





