November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्रहरीलाई निर्देशन दिएको कुरा बाहिर ल्याउन ओलीको चुनौती

740

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनको क्रममा आफूले प्रहरीलाई निर्देशन दिएको कुरा बाहिर ल्याउन चुनौती दिएका छन् ।

शनिबार एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने– ‘हामी कुनै छलछाम गर्दैनौँ, नीतिगत काम गर्छौ । सरकारले हामीलाई एक्सपोज गरोस् ।’

अध्यक्ष ओलीले अहिलेको जेनजी सरकार संवैधानिक बाटोबाट नभई तोडफोड र आगजनीबाट बनेको सरकार रहेको बताउँदै आफूले बोलेको र प्रहरीलाई दिएको निर्देशनका कुरा बाहिर ल्याउन सरकारलाई चुनौती दिएका हुन् ।

Advertisement

यस्तै, सुशीला कार्कीको अन्तरिम सरकारलाई ओलीले हो-हल्लाबाट बनेको सरकारको संज्ञा दिँदै उनीहरूलाई देश जिम्मा लगाएर कतै नभाग्ने बताए । ‘पासपोर्ट रोक्ने रे, के भनेको यो ?’, उनले भने,’ हल्लाबाट बनेको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्नेछाैँ के सोचेको हो यो ? उनीहरुलाई देश जिम्मा लगाएर विदेश भागिन्न, देशलाई सुशासनमा ल्याएर शान्ति सुव्यवस्था कायम गर्छाैँ ।’ 

यस्तै, सामाजिक सञ्जालमा आफ्नो घर  घेर्न आउने हल्ला चलेको भन्दै उनले सुरक्षा दिन सरकार के हेरेर बसेको भन्दै प्रश्न समेत गरे ।  ‘घर घेर्न जान्छौँ, यहाँ छ घर, त्यहाँ छ घर भनी सामाजिक सञ्जालमा भनिरहेका छन्, सरकारले के हेरेर बसेको छ ? उनले प्रश्न गरे । ओलीले मौसम सधैँ एकनासको नरहने समेत बताए ।