काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्कालीन सत्ताधारीको दम्भ र अहंकारले मुलुकले अकल्पनीय क्षति बेहोर्नुपरेको आरोप लगाएका छन् । जेन–जी आन्दोलनका क्रममा सहिद भएकाहरुप्रति बुधबार एक शोक वक्तव्य जारी गर्दै अध्यक्ष नेपालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै यस्तो आरोप लगाएका हुन् ।
नेपालले लेखेका छन्, ‘जेन–जी आन्दोलनका मागहरूप्रति पार्टीको तर्फबाट आन्दोलन पूर्व नै समर्थन तथा ऐक्यबद्धता प्रकट गरेको कुरालाई म स्मरण गर्दछु । उक्त जायज मागहरूलाई समयमा सम्बोधन गर्नुको सट्टा तत्कालीन सत्ताधारीहरूले देखाएको दम्भ र अहंकारको कारण दर्जनौँ होनहार युवाहरूले शहादत प्राप्त गर्नुप¥यो भने हाम्रो मुलुकले अकल्पनीय तथा अपूरणीय क्षति बेहोर्नुप¥यो ।’
जेन–जी आन्दोलन लोकतान्त्रिक गणतन्त्र प्राप्तिपछि पनि जनताका चाहना र भावना अनुरूप पारदर्शी तथा जनउत्तरदायी शासन प्रणाली कायम गर्न नसक्दा उत्पन्न निराशा र आक्रोशको परिणाम रहेको कुरा स्वीकार गर्नुपर्ने उनले बताएका छन् ।
‘यसका अतिरिक्त कतिपय नेता तथा जनताको जीवनशैलीका बिचको अन्तर, भ्रष्टाचार, कुशासन, बेरोजगारी, युवा पलायन तथा आर्थिक सामाजिक रूपान्तरणको मार्गमा हिँड्न नचाहने, नखोज्ने कार्यशैलीका कारण यो अवस्था उत्पन्न भएको कुरालाई समेत मनन गर्नुपर्दछ,’ अध्यक्ष नेपालले लेखेका छन्।
अध्यक्ष नेपालले जेनजीहरुले उठाएका एजेन्डाहरूको सम्बोधन गर्दै मुलुकलाई अग्रगामी बाटोमा अगाडि बढाउन अन्तरिम सरकार गठन भएको पनि उनले उल्लेख गरेका छन्।




