November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

बिपी कोइरालाको पालाको जस्तो कांग्रेस बनाउन म सभापति बन्नपर्छ: शशांक

590

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले आफूले बिपी कोइरालाका पालाको जस्तो कांग्रेस बनाउन खोजेको बताएका छन् । कांग्रेस धनुषाले शुक्रबार जनकपुरमा गरेको कार्यकर्ता भेटघाटमा बोल्दै उनले त्यसका लागि आफू पार्टी सभापति बन्नैपर्ने अवस्था आएको बताएका हुन् ।

कोइरालाले भने, ‘मैले बिपी कोइरालाका पालाको जस्तो कांग्रेस बनाउन खोजेको छु । त्यही कारणले म कांग्रेसको सभापति बन्नपर्छ ।’

आफू लाखौं कमाउने भएपनि नेपाल र नेपालीको सेवाका लागि राजनीतिमा आएको दाबी गर्दै उनले भने, ‘म लाखौं कमाउने मान्छे हो, मैले त्यो छोडेर राजनीतिमा आएको हो । मलाई कुनै लोभ छैन । म त नेपाली कांग्रेस बलियो बनाएर नेपाल र नेपालीको सेवाका लागि आएको हो । बिपी १४ वर्ष जेल बस्नुभयो । पिताजी कृष्णप्रसाद कोइरालाले जेलमा नै मृत्युवरण गर्नुभयो । कृष्णप्रसाद कोइरालाको हजारौं विगाह जमिन थियो । आफूलाई कुनै अपुग नभएको मान्छे नेपाल र नेपालीका लागि जेलमै मृत्युवरण गर्न तयार हुनुभयो ।’

Advertisement

आउँदो महाधिवेशनमा नेता कार्यकर्ताहरूको सहयोग आफूले पाउने अपेक्षा राखेको बताउदै उनले भने, ‘सहयोग गर्नुहोला, म तपाईंहरूले खोजेको कांग्रेस बनाएरै छाड्छु ।’

कोइरालाले कांग्रेसको विधानलाई परिमार्जन गर्नुपर्नेदेखि पार्टीलाई एकढिक्का बनाउने र नेता कार्याकर्ताहरूलाई न्याय दिलाउने आधार पनि प्रस्तुत गरेका थिए ।

कांग्रेसको विधानमा भएको केही व्यवस्था गलत रहेको बताउँदै उनले पार्टी सभापतिको मात्र चुनाव गराउने व्यवस्था गरेर सभापतिलाई पूर्ण अधिकार दिएर काम गर्ने वातावरण बनाउनुपर्ने पनि बताए ।