मनसुनमा डुल्ने लत पहिल्यैबाट लागेको हो । पोहोर असारमा छोरोल्पा गएको अनुभूतिले रोमान्चित बनिरहेको मेरो मन फेरि पनि फूलचोकी डाँडाको कुहिरोझैँ अर्को ट्रेकको कल्पनामा उडिरहेको थियो । त्यहिबेला बर्खे बिदामा बसिरहेको शिक्षक साथी शिखर थापाले फोन गर्दै सोधिहाल्यो– “यस पटकको मनसुनमा कहाँ जाने प्लान छ बुढा ?”
“जान त कताकता मन छ छ नि !” भनेँ– “बरु डुल्ने साथी पो छैन हौ !”
“लु उसोभए पाँच पोखरी जाम् ।” उसले उत्साहित हुँदै भन्यो– “मलाई नि ट्रेक जान मन छ ।”
मलाई त ढुङ्गा खोज्दा देउतै भेटेजस्तो भइहाल्यो । उत्सुक हुँदै भनिहालेँ– “ओक्के । ल डन् ।”
“कहिले जाम त ?“ उताबाट प्रश्न आयो ।
“म त जहिल्यै रेडी । बरु तपाईं कहिले भ्याउनुहुन्छ ?”
“ल उसो भए पर्सि नै चल्दिम् ।” उसले मिति फिक्स र्यो ।
त्यसको भोलिपल्ट उ शैलुङबाट काठमाडौँ झर्यो । साँझ जडिबुटी काउन्टर छेउको सोनाम ब्राण्डको सोरुमको तल्लो फ्लोरको फेन्सि पसलमा गएर ट्रेकिङ बुट, ब्याग, प्लास्टिक र आवश्यक कपडाहरू किन्यौँ । अनि भोलि बिहानै लोकन्थलिबाट मेलम्ची जाने हेलम्बु यातायातको लोकल बस चढ्यौँ ।
फस्ट दिनको यात्रा टुप्पिडाँडासम्मको थियो । मुलपानीबाट जर्सिङपौवाको माथ्लो बाटो हुँदै ननस्टप छिम्ती जाने एउटा डिलक्स चल्दो रैछ । त्यो बसको लागि काउन्टरमा अघिल्लो दिन दसपटक फोन गर्दा पनि उठेन । त्यसको हप्तादिनअघि छिम्ती जाने बस दुर्घटना भएको खबर पनि आइरहेको थियो । कतै त्यहीँ बर्खाको कारण गाडी ठप्प भएर फोन त नउठेको हैन ? फोन नउठ्दा मनमा भने सङ्का उठिरहेको थियो । तर हामीसँगै ट्रेक जाने हेलम्बुको सागर ज्वति भाइलाई सोध्दा गाडी चलिरहेको बुझ्यौँ । फेरि मेलम्चिबाट छिम्ती जाने लोकल बस नि पाइने रैछ । सोच्यौँ, ननस्टप डिलक्स नपाएर के भो ? लोकल बसमा मेलम्चिसम्म गएर त्यहाँ एकछिन डुलिवरी बिस्तारै छिम्ती जाम्ला न !
मेलम्चिमा झरेर खाना खायौँ । शैलुन छिरेर बाल काट्यौँ । अनि ज्वति भाइलाई पर्खिँदै बगरमा गएर पाँच बर्षअघि हेलम्बु र ईन्द्रावती खोलाले निम्त्याएको बिनास हेर्न थाल्यौँ । बाढीले मेलम्चिमा निक्कै ठुलो बिनास निम्त्याएको थिएछ । बगरको डिलमा कोल्टे परेर उभीरहेको बिल्डिङहरूको भग्नावशेषहरू हेर्दा त्यसको प्रष्ट असर देखिन्थ्यो । तर त्यत्रो बिनासको बाबजुत पनि मेलम्ची फेरि तङ्ग्रिएको देख्दा मनमा खुशी लाग्यो ।
ज्वति भाइ आइसकेपछि बाह्र बजेतिर छिम्तिको बस चढ्यौँ । बसमा पाँच पोखरी जाने मान्छेहरू खासै देखिएन । ईन्द्रावतीको तिरैतिर तीन घण्टाजतिको कच्ची बाटोको सकसपूर्र्ण यात्रापछि छिम्ती पुग्यौँ । भीरालो परेको पाखामा बसेको नपत्याउँदो बजार । सबै घरहरू बिल्डिङ । हरियो डाँडामा सेतोसेतो ढुङ्गाझैँ लपक्क टाँसिएकाजस्ता देखिने । गाडीको यात्रा त्यहीँसम्म मात्रै रैछ ।
गाडी रोकिनेबित्तिकै ज्वति भाइले हललल बान्ता गरिहाल्यो ।
अरे उत्रिने बेला पो दन्कायौ त केटा । जिस्काउँदै भनेँ ।
त्यै त पहिले कहिल्यै बमिट आउँथेन । आज कसरी आयो आयो ! उसले आफैसँग अचम्मित हुँदै भन्यो ।
पैदल हिँड्दा त बमिट गर्ने बानी छैन नि? झनै जिस्काउँदै सोधेँ ।
थेत ! सर पनि । उसले कपाल कन्याउँदै भन्यो ।
छिम्ति पुग्नेबित्तिकै झरना र अग्लाअग्ला पहाडहरूले दर्शन दिइहाल्यो । कुहिरोहरूले छोपेर पहाडहरूको टुप्पी भने देखिएन । नत्र त त्यहीँबाट पाँच पोखरी कता पर्छ, अनुमान लाउन सकिन्थेछ । वरिपरिको पर्यावरण हेर्दै एकछिन फोटो खिच्यौँ । त्यहाँभन्दा माथी एउटा सानो कच्ची बाटो हिँडेको थियो । एउटा होटलमा चाउमिन अण्डा खाइवरी हामी त्यहीँ बाटो पच्छ्याएर टुप्पिडाँडा लाग्यौँ ।
अलि पर्तिरको खोलामा पुगेपछि त्यो बाटो छोडेर सर्टकर्ट गोरेटो समायौँ । सुरुमा निक्कै उकालो बाटो रैछ । स्याँ–स्याँ र फ्याँ–फ्याँ हुँदै आधाघण्टा हिँडेपछि देउराली गाउँ आइपुग्यो । तीन चारवटा घरहरू भएको देउराली त्यो रुटको अन्तिम गाउँ रैछ । एउटा घरमा तीन चारवटा बाइक पार्क गरेर राखिएको थियो । राइडमा आउने ट्रेकर्सहरूले त्यहाँसम्म जेनतेन बाइक ल्याउने रैछ ।
देउराली कट्नेबित्तिकै झरी सुरु भइहाल्यो । मनसुनको ट्रेक गर्दा झरी परेन भने यात्राको के मज्जा ! झोला र टाउको जोगाउन प्लास्टिक ओढेर लेउ लागेको चिप्लो बाटो, भल र जुकाहरूसँग जोगिँदै हिँड्यौँ । बाटोमा पाँच पोखरीबाट फर्किरहेका केही युगल जोडीहरू भेटिए । उनीहरूको अनुहार थकानले खुम्चिएर रुन लागेझैँ देखिन्थ्यो ।
“कम्तिमा ट्रेक सफल गरेर फर्किदा त हँसिलो मुहार लाउनु नि है !” बाटो कटिसकेपछि शिखरलाई सुनाएँ ।
“फर्किदा हाम्रो नि यस्तै हालत हुने हो कि बुढा ?”– उसले निदारबाट खसिरहेको पानीको थोपा माइली औँलाले सोहोरेर फाल्दै भन्यो ।
“त्यस्तो हुन्न हौ । योभन्दा खत्रा ठाउँहरू हिँडेको अनुभव पो छ त बुढा ।” फुर्ती लाउँदै भनेँ ।
अलि मास्तिर एकजना अधबैँशे दिदी खुट्टा खोच्याउँदै आईरहेकी थिईन् । उनको अनुहार हेर्दा रुन मात्रै नसकिरहेजस्तो देखिन्थ्यो । सायद चिप्लिएर होला उनको सुरुवालभरी हिलैहिलो लागेको थियो ।
“आजै पाँच पोखरीबाट फर्किनुभा हो दिदी ?” शिखरले सोध्यो ।
“अँ भाइ ।” त्यो दिदीले करैले उत्तर दिईन् ।
“ए खासै टाढा त रैनछ । रातारात हिँडेर आजै पाँच पोखरी पुग्दिम् कि क्या हो केटा हो !” जिस्किँदै भनेँ ।
“पाँच पोखरी मात्रै हैन हिँड्यो भने त सिधै माथी नै पुगिन्छ नि ।” त्यो दिदीले मुर्मुरिँदै भनिन् ।
मलाई भने दिदीले मुर्मुरिँदै भनेको कुराले भित्रभित्रै हाँस उठ्यो ।
बर्खाको समय भएपनि बाटो राम्रो भएकोले बाढी र पहिरोको डर थिएन । बरु जुकाले भने बेलाबेला गोप्य अङ्गतिर आक्रमण गरिरहेको थियो । त्यत्रो ठूलो यात्रामा निस्केको हामीलाई नाथे जुकाजस्तो सानो कुराको के मतलब ! गफ गर्दै, गीत गाउँदै राती सात बजेतिर टुप्पिडाँडा पुग्यौँ ।
भ्लगमा हेरेको काले दाइको होटल बाटोमै रैछ । कोठा छिरेर चिसो कपडाहरू फेर्यौं । होटलमा अरु मान्छेहरू पनि गीत गाउँदै बसिरहेका रैछन् । उनीहरूले त्यस रात ढिँडो र मासु खाने योजना बनाएका रैछन् । दाइले हाम्रो लागि हतारहतार खाना बसाउनुभो । एक निद्रा सुतेर उठ्दा खाना पाकिसकेको थियो ।
भोकको झोँकमा खाना खान थालेँ । काले दाइले आलुसँगै मिसाएर निगुरोजस्तो देखिने केही पकाउनुभाको रैछ । टर्रो–टर्रो नमिठो स्वाद भएको त्यो सब्जी के हो मरिगए छुट्याउन सकिनँ । सोचेँ, दाइले हतारमा निगुरो भनेर जङ्गलको झारहरू पकाउन भ्यायो कि क्या हो ?


***
बिहान उठ्दा हनहनी ज्वरो आइरहेको थियो । हिजो भिजेकोले होला भनेर अनुमान लाएँ । शिखरले मुभ बोकेको रैछ, एकछिन ढाँड मालिस गरिदियो । अनि उठेर तातो पनि र अण्डा चना खाइवरी सात बजेतिर बाटो लाग्यौँ । बाटोमा निक्कै साह्रो पार्लाजस्तो भएपछि एउटा ब्रुफिन खाएँ ।
टुप्पिडाँडा कटेर ताङ्लुखर्क पुग्यौँ । त्यहाँ पनि चार पाँचवटा होटलहरू सन्चालनमा रैछन् । त्यहाँ पुग्दा डाँडामा ओथारो बसिरहेको कुहिरो हट्यो । ढुङ्गाको चौतारीमा थकाइ मार्दै वरपर हे¥यौं । उत्तर पूर्र्वतिर पाँच पोखरी भएको डाँडा देखियो । सोचेँ, खासै टाढा त रैनछ है !
ताङ्लुखर्कबाट तेर्सो बाटो आयो । यात्रामा तेर्सो बाटो भेटिनु भनेको खुशी हुने एउटा बहाना भेट्नु हो । तेर्सो बाटो भेट्नेबित्तिकै तुफान हिँड्यौँ । एक घण्टाजति तेर्सैतेर्सो हिँडेपछि एउटा खोला आइपुग्यो । झोलुङ्गे पुलबाट खोला पार गरेर एकछिन पारिपट्टीको चौतारीमा विश्राम लियौँ । चौतारीको भित्तामा सेतोसेतो डाँक्ला भएको एउटा निगुरोझैँ झार देखियो ।
हिजो काले दाइले यसकै सब्जी त ख्वाएको हैन ? मनमा शंका उब्जियो ।
त्यहाँबाट माथी नाकै ठोक्किने उकालो थियो । उकालोमा फाट्टफुट्ट होटलहरू भेटियो । त्यतातिर होटलहरू बन्ने क्रम भर्खर सुरु हुन थालेको रैछ, त्यति राम्रो र व्यवस्थित भने देखिन्थेन । कुनैकुनै ठाउँमा त बस्ने कोठा र बाख्राको खोर सँगसँगै टाँसिएको थियो ।
बिहानको खाना नोस्र्याङ पाटीमा खाने सल्लाह भएकोले हामी बाटोमा भेटिएको कुनैपनि होटलमा ननिस्की हिँड्यौँ । रातोमाटे पुग्दा घाम छिप्पियो । त्यहाँबाट माथी ढुङ्गाको सिँढी चढ्नुपर्ने रैछ । सिँढी टेक्नेबित्तिकै थकानले खुट्टा फतक्कै गल्यो । एकछिनपछि त भोकले पेट पनि कटक्कै खान थाल्यो ।
अलि माथी पुगेपछि समथर परेको ठाउँ आयो । त्यहाँ तीन/चारवटा निलो त्रिपालले बनेको टहराहरू देखियो । भोकले थाङ्थिलो हुन आटेको मैले एकछिन उभिएर लामो सास फेरेँ, अनि हातल पेट छाम्दै भनेँ– “बल्ल नोस्र्यङपाती आइपुगियो जस्तो छ है केटा हो ।”
ज्वति भाइ दौडिँदै खाना अर्डर गर्न गयो ।
खाना खान पाइयो भनेर प्रफुल्लित भएको हामी एक्कासी निरास भयौँ । उफ ! त्यो होटलजस्तो देखिएको टहराहरू त चौँरी र भेँडाको गोठहरू पो रैछ । त्यहाँबाट नोस्र्याङपाती कतिको टाढा हो जङ्गलले गर्दा केही पनि अत्तोपत्तो पाउन सकिन्थेन ।
शिखर हिँड्न नसकेर थचक्कै बस्यो । ब्यागबाट मिनरल वाटर निकालेर घटघट पानी पियो । भोकले आक्रान्त बनिसकेको मैले पनि पेट हुस्स भईन्जेल पानी पिएँ । तर खानाको भोक नाथे पानीले के मेट्थ्यो र ? अलि मास्तिर पुग्नेबित्तिकै फेरि पेदुपेदु भइहाल्यौँ ।
“थुक्क ! चिउरा र चाउचाउ बोक्नुपर्थेछ ।” हिँड्न नसकेर चौतारीमा लम्पसार तेर्सिँदै शिखर मुर्मुरियो ।
“नोस्र्याङपाती यति टाढा होला भनेर के थाहा ?” उसको छेउमा ढल्किँदै मैले पनि थपेँ ।
ढल्किनेबित्तिकै निद्रा लाग्न थाल्यो । “जाउँ हौ सरहरू ।” अलि माथी पुगेर पर्खिरहेको सागरले बोलाउँदै भन्यो ।
हिँड्दै गर ! भन्नलाई तागत पनि थिएन ।
छोरोल्पाको उकालो हिँडेको सम्झेँ । मार्दीको उकालो हिँडेको सम्झेँ । शैलुङ, चन्द्रागिरी र शिवपुरीको उकालो चढेको सम्झेँ । बिना थकान त्यत्रो उकालोहरू पार गरेको मान्छेलाई के आज भोकले नै कमजोर बनाएको हो ?
भोकको विवशताबाट निरीह हुँदै एउटा निष्कर्ष निकालेँ, अन्य ट्रेकभन्दा पाँच पोखरीको ट्रेक लास्ट गाह्रो रैछ ।
तत्क्षण अर्को अन्तरज्ञान पनि बुझेँ, बिर्सेर पनि भोक र तीर्र्खासँग ठट्टा गर्न नहुने रैछ ।
शिखर त झन् ढुङ्गाको चेपहरूमा दौडिरहेको जङ्गली मुसा देखेर काँचै खाउँ स्थितिमा पुगिसकेको थियो ।
उकालो बाटो, छिप्पिएको घाम अनि पेटमा दन्किँदै गरेको भोकको आगो । घरी सिँढी पिच्छे सुत्दै त घरी चारखुट्टे भएर घस्रिँदै । नाथे दस मिनेट लाग्ने बाटो एक घण्टा हिँडेर मर्नु हुँदै बल्लबल्ल नोस्र्याङपाती पुग्यौँ ।
धन्न त्यहाँको खाना चैँ काले दाइको भन्दा मीठो रैछ ।
***
नोस्र्याङपातीबाट दुई बजेतिर हिँड्यौँ । सुख्खा पहिरो जाने भीरको बाटो । मास्तिर टाउकोमा खसिहाल्लाजस्तो ठुल्ठुला ढुङ्गाहरू, तल्तिर लडिमरिएला जस्तो अफ्ठ्यारो पहराहरू । कुनै ठाउँ बुजुक्क परेको झाडी । कुनै ठाउँ ओढार र चेप । सात घुम्तीको नागबेली घुम्तिहरू कटेर लौरीबिनाको उकालो आइपुगियो । खासमा त्यहाँभन्दा पर लौरो लिएर जान नपाईने भएकोले त्यो ठाउँको नाम लौरीबिनाको उकालो राखिएको रैछ । त्यहाँ थकाइ मार्ने एउटा पाटी थियो । पाटीमा एकछिन थकाइ मार्यौं । नजिकै झरना झरीरहेजस्तो छङ्छङ् आवाज सुन्दा लाग्थ्यो, अब पाँच पोखरी टाढा छैन ।
पाटीको छेउमा एउटा भेँडीगोठ थियो । हामीलाई देखेर गोठबाट एकजना अधबैँसे दाइ कपाल कन्याउँदै बाहिर निस्क्यो अनि भन्यो– “चिया खाएर जानु हो भाइहरू । मीठो चिया पाउँछा ।”
तीर्खा लागिरहेको थियो । यसरी बाटोमा चिया दिने मान्छे पाउनु त खुशीको कुरा हो । हामी चिया पिउन गोठभित्र छिर्यौं । गोठभित्र अँध्यारो थियो । बस्नलाई बाँसको चित्रा ओछ्याइएको थियो । चुलाको छेउमा दाइको स्वास्नी पनि बसिरहेकी थिईन् । हामीलाई देखेर स्वागतमा मीठो मुस्कुराईन् । दाइले दूध चियामा बट्टाबाट चिनी हालेर चोर औँलाले घोल्दै हामीतिर बढायो । सागरले दाइको फोहोर हात देखेर नाक खुम्च्याइहाल्यो । शिखरले बल्लबल्ल चिया पियो । दूध चिया पिउने बानी नभएको मलाई भने सन्चै भयो ।
“लु धन्यवाद है दाइ ।” हामी अभारी हुँदै उठ्यौँ ।
“पैसा खै त ? गिलासको पचासले दुई गिलासको साये भो ।”– दाइले चुर सल्काउँदै भन्यो ।
ए, कुरा त यस्तो पो ! हामी छक्कै प¥यौं । शिखरले नबोली सयको नोट झिकेर दियो ।
“आइराक पानी खान्छ कि आस्याङहरू ?” फेरि आसे भावमा सोध्यो ।
गोठमा छिरेको हामीसँग त्यो दाइले त पुरै व्यवसाय नै गर्ने सोच बनाएछ । लाग्यो, अरु होटलवालाहरूले होटल गरेको देखेर त्यो दाइलाई पनि व्यवसायिक माइन्डले गिँजोलेछ ।
जे होस ! ट्रेकमा एकजना एपिक मान्छे भेटियो ।
साँझ ढल्न आटेको थियो । कुहिरोले फेरि चारैतिर घेर्यो । हतार–हतार गोठबाट निस्केर बाटो लाग्यौँ । आधाघण्टा उकालो हिडेँपछि एउटा समथर परेको ठाउँ आयो । अलि पर्तिर पुगेपछि घरहरू पनि देखिन थाल्यो । मैले बाटोको छेउमा ठडिएको होर्डिङ बोर्ड हेरेँ । त्यहाँ लेखिएको थियो “Wel Come to Panch Pokhari”.
फाईन्ल्ली आइपुग्यो है गाइज । शिखरले ठूलो स्वरमा चिच्याउँदै भन्यो ।
पाँच पोखरीमा दस बाह्रवटा होटलहरू सन्चालनमा रैछ । हप्ताहप्ताको पालो हुने भएकोले बाटो छेउको एउटा होटल बाहेक अरु सबै होटलहरू बन्द थिए । हामी होटलभित्र छिर्यौं । होटलमा पन्ध्र/बिसजना केटाहरू अघि नै आएर आराम गरिरहेका रैछन् । हाम्रो अघिल्तिरको एकजना मधेशी साथीले भनिरहेको थियो– “म प्रधानमन्त्री भएँ भने सुरुमा पाँच पोखरीमा केबलकार बनाउँछु ।”
सोचेँ, साथी साह्रै थाकेछ । नत्र किन प्रधानमन्त्री भएर केबलकार बनाउनेसम्मको कल्पना गर्न भ्याउँथ्यो ?
“केवलकार बनाएपछि आउनलाई यस्तो परेसान त हुँदैन ।” उसले फेरि भन्यो ।
“यस्तो धार्मिक ठाउँमा केबलकार बनाउन हुँदैन हौ !” मुक्कुमलुङको घटनालाई लिएर त्यसै त केवलकारको नाम सुन्नेबित्तिकै इरिटेड लाग्थ्यो । उसको कुराले थप इरिटेड हुँदै भनेँ, “यहिँसम्म हैन । अलि तलसम्म त ल्याउँदा हुन्छ नि !”
“उसो भए ठिकै छ । पहिले प्रधानमन्त्री हुनुहोस् ।”
झोला राखेर बाहिर निस्कियौँ । साँझ खसिसकेको थियो । वरिपरि अँध्यारो भएपनि पोखरीहरू भने सेतो देखिन्थ्यो । कहिले पोखरी दर्शन गरुँला भइरहेको हामीले नजिकैको दुईवटा पोखरीको वरिपरि एक चक्कर हाल्यौँ ।
“सात बजेसम्ममा भ्युटावर नपुगे कुहिरोले छोपेर पोखरीको दृष्य देखिँदैन ।” खाना खाँदैगर्दा होटलको आखेले भन्नुभाको सम्झिँदै लस्करै सुत्यौँ ।
भोलिपल्ट साढे चारबजे उठ्यौँ । हामी उठ्दा अरु मान्छेहरू उठेका थिएनन् । बरु चारैतिर उभिएका डाँडाहरू भने कुहिरोको सिरक फाल्दै ब्युँझिसकेको थियो । धारामा अनुहार धोएर वरिपरि हेर्यौं । वातावरण पुरै खुलेको थियो । जताततै रङ्गिचङ्गी मनसुनी फूल र हरियो चाउरहरू देखिन्थ्यो । तर कुना काप्चातिर फैलिएकोले पोखरीहरू भने देखिन्थेन । हामी ईन्द्रावतिको शिर हुँदै पोखरी हेर्न उत्तरतिरको भ्युटावर डाँडातिर उक्लियौँ ।
बाटोमा जताततै लेकाली फूलहरूको वासना चलिरहेको थियो । चाउरहरूमा भेँडा र चौरीहरू चरिरहेको थियो । हेर्दा नजिकैजस्तो लागे पनि भ्युटावर डाँडा उक्लिन हामीलाई आधा घण्टा लाग्यो । डाँडा उक्लिँदा घाम पनि झुल्कियो । घामको उज्यालोमा हामीले पहाडको हरियो काखमा लमतन्न भएर फैलिएको पाँचवटा पोखरीहरू नियाँल्यौँ । भगवानका पाइँतालाको डोब आकारका पोखरीहरू । अगाडीका केही ठूलो र पछाडिका केही सानो । बर्षौंदेखि ध्यानमा लिन भएर बसिरहेजस्तो शान्त । छातीमा निलो आकास बोकिरहेजस्तो सुन्दर । पोखरीको छेउतिर टलकटलक टल्किरहेका निला राता टिनका घरहरू । प्रकृतिको रङ्गमा अर्को रङ थपिएजस्तो । पूर्र्व, पश्चिम र उत्तरतिर अग्लाअग्ला डाँडाहरू । लाग्थ्यो, यी डाँडाहरूले पाँच पोखरीलाई कसैको नजर नलागोस् भनेर पहरा दिइरहेको छ ।
प्रकृतिको क्या कलाकृति ! क्या अनुपम सिर्जना । त्यहीँ एकाकार भएर हराउँजस्तो ।
मान्छेहरूलाई एकैथोक मन पर्दैन । एकै याम र एकै ऋतु मन पर्दैन । जस्तो कि मनसुनले दिने वाइल्ड ग्रिनरी अरू ऋतुले प्रदान गर्दैन । आँत भिजाएर चील फिल गराउने झरी, टाढैबाट फु गरेर चिसो फुक्ने झरनाहरू, सननन गर्दै पहाडको फेदीमा गडगडाउने खोला, डाँडाहरूको छातीमा ओथारो बस्ने कुहिरो, क्षितिजमा टाँगिने ईन्द्रेणी, फूलहरूको रङ्गिचङ्गी एना देख्दा मलाई उमङ्ग र उत्साहले द्रवीभूत बनाउँछ । ती मनसुनी शौन्दर्य अर्को ऋतुमा पाउनु कहाँ ? अर्को मज्जाको कुरा भनेको एड्भेन्चर । जोगिने, होसियारी अपनाउने र बाँच्ने कुरा त छँदै छ । उसैपनि मलाई जीवनको उति लोभ लाग्दैन । तर बाँच्दा लिभिङ टु द फूललेस्ट बाँच्ने हो । फकिरी भएर, बेफिकर भएर ।
पाँच पोखरी हेर्दाहेर्दै झण्डै आफैभित्र हराएछु ।
डाँडामा चिसो हावा चल्यो । वरिपरि टाँगिएको लुङ्दरहरू हावामा फरफर फरफर हल्लिन थाल्यो । उत्तरतिर चाँदीजस्तै जुगल हिमाल टल्किरहेको थियो । त्यसको पूर्र्वमा गौरीशंकर र पश्चिममा लाङटाङ हिमाल नि देखिन्थ्यो ।
त्यहाँ एकजना तामाङ दाइको घर रैछ । घर वरिपरि गारो हाल्ने काम हुँदैथियो । “पहिले त यो गोठ थ्यो । घर बनेको भार्खारैमात्रै हो । तर मान्छेहरू आयो भने होटल नि चल्छा”, घर धनी दाइले भन्नुभो ।
शिखरलाई अल्टिच्युडले बिराम होलाझैँ भएछ । लसुन खाइवरी टाउकोमा रुमाल बाँध्यो । ज्वति भाइ र म भनेर ढुङ्गामा बसेर फोटोहरू खिच्न थाल्यौँ ।
सात बजेपछि वरिपरि कुहिरो लाग्न थालिहाल्यो । हेर्दाहेर्दै जुगल हिमाल छेलियो । बिस्तारै पाँच पोखरी पनि देखिन छोड्यो । हामी गफ गर्दै पोखरीतिर झर्यौं ।
हामी झर्दा अरु साथीहरू भर्खरै भ्युटावरतिर चढ्दै थिए । हुस्सु लाग्दा अब यिनीहरूले के हेर्लान् ? मनमा खुलदुली भयो । र चाँडो उठेकोमा आफैप्रति गर्व नि महसुस भयो । तल झरेर हामीले पाँचवटै पोखरीहरूलाई नजिकबाट नियाँल्यौँ । पोखरीहरूको रङ हाम्रो आँखामा सर्यो । हात डुबाएर पोखरीहरूको चिसो पानी स्पर्श गर्यौं । पोखरीको चिसो हाम्रो अङ्गअङ्गमा दौडियो ।
त्यसपछि हामी पश्चिम कुनातिर रहेको मन्दिर दर्शन गर्न गयौँ । मिथकअनुसार भेडी गोठालाहरूले पोखरी पत्ता लाएपछि त्यहीँ ठाउँमा पुजा गर्न थालेका रैछन् ।
एकछिन मन्दिर दर्शन गरेर हामी होटल फर्कियौँ । होटलको दाइले खाना खाने कि नखाने भनेर सोध्यो । हामीले सिधै नोस्र्याङपातिमा खाना खाने सोचेका थियौँ । त्यै भएर तीनजनाको तीन हजार तिरेर झोला बोकिवरी बाटो लाग्यौँ ।
ट्रेकमा जाँदाखेरी कतिखेर गन्तव्य पुगुम् हुन्छ । जब गन्तव्य पुग्छौँ, दृष्यहरूको धित मार्छौँ तब भने कतिखेर घर पुगुम् हुन्छ । हामीलार्ई फर्किँदा त्यस्तै भइरहेको थियो ।
कुनै ठुलै सफलता चुमेझैँ उत्साहले पाइला स्वाभाविकभन्दा छिटोछिटो चलिरहेको थियो । दस बजे पुगिएला भनेको नोस्र्याङपाती नौ बजेनै पुग्यौँ । अलि चाँडो हिँडे एक बजे छिम्ती झर्न सकिने हिसाब गर्यौं । छिम्ती एक बजे झरे डिलक्स बस भेटेर त्यही दिन काठमाडौँ पुग्न सकिन्थ्यो । समयको त्यही लोभले खाना बाटोतिरै खाने योजना बनाइवरी चिउरा र चाउचाउ किनेर नोस्र्याङपातिबाट तल झर्यौं ।
तर कहिलेकाँही जोस र जाँगरलाई परिस्थितिहरूले लगाम लाईदिन्छ । जोडजोडले मच्चिँदै हिँडिरहेको हामीलार्ई रातेमाटे पुग्दा भोकले साह्रो बनाइहाल्यो । मैले चिउरा र तातोपानीले पेट भरेँ । शिखर र ज्वतिले भने चाउचाउ खाए । शिखरले चिसोको कारण बिहानै टाउको दुख्दैछ भन्दैथियो, भोको पेटमा चाउचाउ ग्यास्ट्रीकले सताएर होला रातेमाटे ओरालोमा हललल छादिहाल्यो ।
मैले ढाडमा सुम्सुम्यादिएँ । तैपनि छाद्न छोडेन । एकछिनमा त ज्वरो र रुघाखोकीले पनि च्यापेछ । हिँड्नै सक्न छोड्यो । सम्झेँ, बिचरा बुटवले साथीलाई पहिलो ट्रेकले साह्रो पारेछ । मैले ग्यास्ट्रीक दबाउन लसुन पेल्न भनिरहेँ । उसले लसुन देख्दै बमिट आउन खोज्ने कुरा गर्यो ।
साथी बिराम भएपछि ज्वति भाइले झोलाहरू बोकिदियो । मैले भने बिस्तारै पर्खिँदै साथी दिएँ ।
एक बजे डिलक्स भेट्ने योजना बिफल भयो । छिम्ती झर्दा साँझ परिसकेको थियो । खुबै हिँड्छुजस्तो लागेको मलार्ई पनि ओरालोमा खुट्टाहरू बाउँडिन खोजेर मर्नु भइरहेको थियो । थकान, भोक र निद्राले आलसतालस भएको शरीर छिम्तिमै थन्क्याउने निर्णय गरेर टुप्पिडाँडाको काले दाइकै होमस्टेमा पस्यौँ ।
शिखरले टोइलेट पसेर फेरि हलल छाद्न थाल्यो । आउँदा ज्वति भाइले बमिट गर्यो । फर्किँदा शिखरले । जे होस् यसरी पनि यात्राको एउटा चक्र पूरा भयो ।






