कुनै समय अवधि नै नहुने
खै कस्तो कारागारको कैदी बन्न पुगेँ
न त भाग्न सक्छु कारागार तोडेर
न त मुक्त हुन सक्छु यादहरू छोडेर
यो तिम्रो सुमधुर यादको कारागारबाट ।
मलाई लाग्छ-
समयको धारसँगै जीवन रेटेर
वा भोगाइसँग अनुभूति धरौटी राखेर
हरदम तिम्रै यादको कठघरामा
बरु म तारिख धाउन मञ्जुर छु
मभित्र भएका सबै यादका साँवाहरू
तारिखसँगै किस्तामा चुक्ता गरेर
अब म साँच्चै मुक्त हुन चाहान्छु
यो सुमधुर यादको कारागारबाट ।
मेरो दिलमा निर्माण भएको
तिम्रै अनन्त यादको राजदरबार
विवेकको मालपोत कार्यलयमा गएर
कतै नामसारी गरी दिउँ लाग्न थालेको छ
तिम्रै सम्झनाका दैनिकीहरू बटुलेर
बनाएको जीवनको सुन्दर शृङ्खलाहरूलाई
किनकिन बेदखल गरी दिउँ लाग्न थालेको छ ।
अचेल म आफ्नै अन्योलमा अल्मलिएको छु
भित्र बाहिर मनकै बाटो अल्मलिएको छु
आफुले आफैँलाई नचिनेजस्तो
आफ्नो मनको बाटो आफैँ नहिनेजस्तो
बिपना निदाएर सपना बाँचेजस्तो
आर्यघाटको शोकधुनमा कतै नाँचेजस्तो
तिम्रै यादको कारागारमा कैदी भएजस्तो
मुक्त गरेपनि आफैँ फर्किएर कैदमा आएजस्तो
कस्तो कस्तो खोई हो कि होइन जस्तो
साँच्चै म अन्योलमा अल्मलिएको छु ।
यो समाज परिवेश र ब्रह्माण्ड
आफ्नै विवेकको बाकसमा बन्द गरेर
म तिम्रो यादको कैदी बन्न सक्दिनँ
यो घर, आँगन, स्कूल र देउराली
फूल, पुतली, चरा र जूनताराहरू
सबै सबै सुन्दरताका बिम्बहरू भुलेर
म तिम्रो यादको कैदी बन्न सक्दिन
सायद त्यसैले नै त होला
परित्यक्त एकलासे घरजस्तै
अब म छोडेर हिँड्न चाहन्छु
यो तिम्रो सुमधुर यादको कारागार ।
सूर्योदय नगरपालिका– १, गोर्खे पालीघर, इलाम ।