नढाँटी भन्ने हो भने पत्रकार डण्ड गुरुङले साइबर साक्षरतातिर डोर्याएका हुन् मलाई । कुनै समय हामी काठमाडौँको एउटै छानामुनि पसिना बगाउँथ्यौँ । त्यो समय डण्डजीको औँला मकै पड्केझै पटटट पड्कन्थे, कम्प्युटरको कीबोर्डमा । म आफू भने परम्परावादी काइते अक्षरवाला लेखनदास ।
उनैले कम्प्युटर चलाएको देखेर डाहले भुतुक्क हुँदै गइयो । लाग्यो, यो त नसिकी नहुने जिनिस रहेछ ।
दुई हप्ताजति कनिकुथी गर्दा विस्तारै त्यसमा हात बस्ने छाँट देखियो । डण्डजीलाई गुरु थापेकै थिएँ, गाह्रो अप्ठ्यारो पर्दा गुहार माग्न सजिलै थियो ।
“लौ डण्डजी, मेरो त इमेल ठेगाना पनि खोलिदिनुपर्ने भयो”, मेरो साइबरगुरुसँग बिन्ति बिसाएँ ।
उमेरमा कच्चा भएर के भो, कलिलैमा मेहनतले पाकेर परिपक्व भएका, विछट्टै नेतृत्त्व र ब्यवस्थापकीय क्षमतामा प्रवीण उनी भाषा र प्रविधिमा पनि उत्तिकै कुशाग्र । काठमाडौँको चिसो अङ्गालो र ठलमठेलमा डण्डजी, खिमजी, मोहनजी, गणेशजीलगायतसँगको सानिध्यको न्यानोले मेरो मनमा कहिल्यै एक्लोपनको छायाँ पर्न दिएन । माथि नै भनिसकेँ, डण्डजीको त म साइबर शिष्य हुँ ।
त्यो हटमेलको जमाना
कुरा पर्यो आजभन्दा २३ वर्षअघिको । म किरात याक्थुङ चुम्लुङको तत्कालिन केन्द्रीय कार्यालय, महालक्ष्मीस्थान पुगेको थिएँ । सिर्जना सुब्बासँग एकापसमा सल्लाह गर्दै कम्प्युटरमा ब्यस्त अवस्थामा भेटिए, विश्वासदीप तिगेला । उनी सात वर्षअघि मात्रै लाहुर गएका थिए ।
लाहुर गइसकेपछि महालक्ष्मीस्थानमा दोस्रो पटक उनीसँग मेरो भेट भइरहेको थियो । छुट्टीमा आएका रहेछन् ।
लाहुर गइसकेपछि पहिलोपटक मेरो भेट बसयात्रामा भएको थियो, उनीसँग । म धरानबाट धनकुटा जाँदै थिएँ । सिन्कीगुन्द्रुक खाँदिएझैँ थियो यात्रुहरुको अवस्था । चिनजानको नाताले मैले चाहिँ यातायात मजदुर नेता मोतीराज सुनुवारको विशेष कृपाबाट बसको अलि पछाडीतिरको सीट पाएको थिएँ ।
बस जीरो प्वाइन्टदेखि मास्तिर उक्लदै थियो । कन्डक्टरले प्यासेजमा खाँदिएका यात्रुहरुलाई ठेल्दै, सम्झाउँदै, सम्हाल्दै, मिलाउँदै जाँदा अगाडीबाट ठेलिदै आफूछेउ फुत्त आइपुगेका एक जना परिचित भाई देखा परे । “ओहो दाई नमस्कार”, उभिएको मान्छे, हल्लिएको बस । हात जोडेर जम्ला बनाउने अवस्था थिएन, उनले बसको डन्डी समाएरै नमस्कार भने ।
घरायसी कामको अपर्झटले उनै विश्वासदीप तिगेला लाहुरबाट छोटो छुट्टी मिलाएर नेपाल आएका रहेछन् । उनले यात्राभर मेरो पत्रकारिता जीवनको खुलेर सह्राना गरे । अनि बडो उत्साहसाथ सुनाए,“पत्रकारितामा सजिलो हुन्छ भनेर मैले कमल दाईलाई उतैबाट एउटा माइक्रोरेकर्डर ल्याइदिएँ नि !”
कमलजी (डा. कमल तिगेला) को पनि त्यसबेला पत्रकारिता क्षेत्रमा रुझान बढ्दै थियो । उनको पत्रकारितालाई सहज बनाउन विश्वासदीपले लाहुरबाट कोसेली ल्याएका रहेछन् माइक्रोरेकर्डर । पछि यस्तो रेकर्डर मैले पनि कोसेलीस्वरुप विश्वासदीपबाट प्राप्त गरेको थिएँ ।
उनले मेरो लागि धेरै गरेका छन् । यसबारे मौका मिलाएर पछि लेखौँला ।
लाहुरभर्तीपछि विश्वासदीपसँगको दोस्रो भेट हुँदै थियो, चुम्लुङ कार्यालयमा । उनले सोधे,“दाई, तपाईँको इमेल एकाउन्ट के हो ?”
मैले पनि भर्खरै डण्डजीको सहयोगबाट बनेको इमेल एकाउन्ट बताइदिएँ । त्यसबेला म निक्कै फुर्कदै थिएँ ।
“हैट दाई, जमाना कहाँ पुगिसक्यो, तपाईँ पनि उही हटमेल चलाउने ?” उनको प्वाक्क प्रश्नले आफ्नो मुटुलाई अलिकति च्वास्स घोच्यो ।
भर्खरै साइबर साक्षरता लिइरहेको मेरा लागि त्यहीँ हटमेल सर्वश्व थियो । उनी नयाँ इमेलहरु याहु, जीमेल के के भन्दै थिए, ममा चाहिँ अलिकति रन्थनाहट आइरहेको थियो, “यो मुला लाहुरे, जान्ने भएको !”
चुम्लुङमा उनी त्यसबेला वेब डिजाइन गर्न पुगेका रहेछन्, स्वयम्सेवी रुपमा । उनले त्यसबेलै बुझेका रहेछन्, साइबर संसारको महत्त्व ।
भर्ती हुँदाको त्यो दुःख
त्यो दिन त्यतिकै भयो । हामी छुट्टियौँ ।
तर उनको प्रश्नले मलाई विझाउन भने छाडेन ।
त्यो बेला मैले काम गर्ने पत्रिकाको कार्यालय थियो, अनामनगरमा । मैलेभन्दा पनि उनी नै मलाई कल गरिरहन्थे । मोबाइलमा मेरो पहुँच पुगिसकेको थिएन, उनी पनि ल्याण्डलाइनबाटै कल गर्थे ।
एक दिन कार्यालयमै बोलाएर उनलाई सोधेँ,“तिमी त त्यत्रो राजनीतिमा लागेर नेता हुन दौडदै गरेको मान्छे, कसरी लाहुर भर्तीतिर दौडियौ हौ भाई ?”
त्यसपछि उनले लाहुर भर्तीको आफ्नो कथा सुनाए ।
खासमा उनका दाजु टेकराजले उनलाई लाहुर भिड्न कर गरेका रहेछन् । त्यसबेला उनको मनमा त लाहुर भर्ती कल्पनातीत थियो ।
दाजुकै करले उनी विहानै उठ्ने, अनि दाजुसँग दौडने गर्न थालेछन् । ह्याविङ, सेटअप अनि डोको बोकेर उकालोको हिँडाई । उनले सबै दाजुकै मन राख्न गरेछन् । दाजुकै मन राख्ने उपक्रममा पोखरासम्म पुग्दा उनी आफैलाई अचम्म लागिरहेको थियो । नभन्दै उनले पोखरा साँघुरो ढोकाबाट पनि पार पाए । त्यसबेलासम्म उनले आफैलाई प्रश्न गरिरहेका थिए, “होइन, तँ कहाँको मान्छे कहाँ पुग्दैछस् हँ ?”
भर्ती हुनेहरुमा खुसीको लहरले उत्पात मच्चाइरहेको थियो । उनीहरु घरमा खबर गरेर खुसी साँटिरहेका थिए ।
तर विश्वासदीपको गङ्गा उल्टो बगिरहेको थियो । भर्खरै भर्ती भएका नम्बरीहरु सुन्दर भविष्यको कल्पनामा डुुबिरहेको बेला विश्वासदीप चाहिँ अचम्मका पीरमा डुब्न थालेछन्, “के सोचे मैले के भयो अहिले” गीतको भावजस्तो ।
आफ्नो योजना, कल्पना र चाहनाले उनी लाहुर भिडेका पनि थिएनन्, फेरि उनैले पाउनुपर्ने भर्तीको अवसर । “एक रात एकान्तमा गएर साह्रै पो रोएँ नि हौ दाई”, हाम्रो त्यो भेटमा उनले पोखराको सम्झना गरे ।

केही गर्ने अठोट
लाहुर भर्ती भइ त हालियो । चटक्क छाडेर हिँडिहालौँ भने पनि अनर्थ हुने मात्रै होइन परिवारका सदस्यहरुको आशाको दीयो पनि झ्याप्प निभ्ने । उनले आफूलाई लाहुर भर्ती भिड्न प्रेरित गर्ने दाजुलगायत परिवारका सदस्यहरुलाई सम्झे र एउटा कठोर निर्णय लिए–अब यसै लाहुरे भइयो, उसै लाहुरे भइयो । त्यहीँ पुगेर केही गरौँला । देशको नाम राखौँला ।
विश्वासदीपका पुर्खाको इतिहासको विरासत पनि गजबको छ । हात्तिखर्कमा त्यहाँका छोङदेनहाङ र रुदुवाहरुको युद्धमा छोङदेनहाङको पक्ष लिएर लडी उनीहरुको उद्धार गर्ने पुर्खा खेवा तिगेलाका सन्तति परे उनी । छोङदेनहाङहरुले हात्तीखर्क खेवा लिम्बूहरुलाई नै समर्पण गरिदिएपछि त्यहाँ उनीहरुको स्थानीय राज्य (सुवांगी) चल्यो । उनै सुब्बाका सन्तति विश्वासदीपलाई भने पेट पाल्न लाहुर लागेर अरुको भारी बोकौँला भन्ने लागेकै थिएन । दशैँको खसीबोका छानिएझैँ पराईका लागि छानिएर बलीमा चढ्ने चाहना उनमा एक रत्ति थिएन ।
सुरुमा उनी ब्रुनाई लगिए । जङ्गलको तालिम थियो । जङ्गलबासको टेन्टमा उनी एक्लै थिए । रातको चकमन्नतालाई चिर्दै किरीकिरी किराहरु कराइरहेका थिए । आकासमा टहटह जून लागिरहेको थियो । उनको मन भने एक तमास भइरहेको थियो ।
“तैँले पल्टनघरमै बसेर पनि केही न केही त गर्नैपर्छ” उनको मनले उनलाई यसै भनिरहेको थियो । उनी आफ्नो मनलाई आफै प्रश्न गरिरहेका थिए, “गर्ने त गर्ने, तर गर्ने चाहिँ के ?”
उपायहरु अनेकौँ आए, योजनाहरु अनेकौँ फुरे । तर तत्काललाई उनले एउटा योजना बनाउन भ्याइहाले । त्यो थियो, लाहुरेहरुमाझ पल्टनघरभित्रैबाट एउटा साहित्यिक पत्रिका निकाल्ने अनि लाहुरेहरुलाई पनि साहित्यिक गतिविधिमा सक्रिय गराउन एउटा संस्था नै खोल्ने ।
परिणाममा “प्रवासी वेदनाका आवाजहरु” नामको पत्रिका निस्कने भयो । अनि “प्रवासी साहित्य साहित्य समाज” (प्रभात) नामको साहित्यिक संस्था जन्मने भयो । पल्टनघरभित्रै यस्तो कर्म गर्नु असामान्य आँटले मात्रै सम्भव थियो, किनकि यस्तो कर्म पल्टनिया अनुशासनविपरित हुनजान्थ्यो ।
सुखको खोजीका लागि आफ्नै लागि आफैले निम्तो दिएको दुःखको एउटा परिस्थिति पनि हो, प्रवास । प्रवासी जीवनका अनेकौ वेदनाहरुलाई आवाजमा मुखरित गरेर मेडिटेसनको लागि थेरापीको एउटा उपायस्वरुप पनि पल्टनघरभित्र रोमन अङ्ग्रेजीमा छापिने पत्रिका “पर्वते”ले मात्रै धान्न नसक्ने भयो अब । त्यसैले पल्टनघरभित्रै पत्रिका प्रकाशन, साहित्यिक संस्थाको गठन अनि सिर्जनात्मक चहलपहल चलाउने निर्णयमा पुगे लाहुरेहरु । पल्टनघरभित्र यस्तो कर्म चलाउनु जोखिमपूर्ण थियो । यस्तो जोखिम मोल्ने अघिसरा बनेर देखा परे विश्वासदीप तिगेला ।
अब जोखिमको छायाँ उनको छेउछाउ देखा पर्न थाल्यो । भित्री रुपमा शुभचिन्तक भए पनि उनका कमाण्डरहरुले नै असजिलो महसुस गर्न थालेका थिए । तीमध्येका एक थिए भवानी पन्धाक । उनी विश्वासदीपलाई बारम्बार सम्झाउँथे,“होइन, तैँले यस्तो के गरेको हौ भाई ?” यस्तो बेला उनी आफ्ना कमाण्डरसमक्ष मुस्कुराउँथे,“हामीले त्यस्तो के गरेका छौँ र गुरु ? यसो नेपाली साहित्यको जगेर्ना त हो नि !”
यिनीहरुसँग नसकिने रहेछ भन्ने लागेछ क्यार, उनको कमाण्डर भवानी पन्धाकलाई । अनि उनले सिधै गोर्खा मेजर लक्ष्मीभक्त बान्तवासमक्ष पेश गरिदिए । बान्तवाले उनलाई आफ्नो कार्यकक्षमा पत्रिकाको प्रति लिएर त्यहाँ उल्लेख भएको पल्टनघरभित्रको ठेगानाले सुरक्षाब्यवस्थामा असर पर्ने भन्ने तर्क गर्दै त्यसो गर्न मिल्दैन भने ।
ब्रिटिश गोरखाली पल्टनघरभित्र यस्तो प्रक्रियालाई “इन्टरभ्यू” भनिन्छ । हाकिमले इन्टरभ्यूमा बोलाउनुलाई खतराको सूचक मानिन्छ । बढुवा रोकिने मात्रै होइन, पेन्सन नपाक्न सक्छ, जागिरै जाने जोखिम पनि हुनसक्छ । विश्वासदिपले ती गोर्खा मेजरलाई यस्तो इन्टरभ्यू एक पटक होइन, चारपटक दिन प¥यो । उनले यस्तो इन्टरभ्यूमा आफ्ना हाकिमलाई “सुरु गरिहाल्यौँ, अब छद्म नाममा लेख्छौँ” भन्न त भ्याए, तर जागिर जानेसम्मको जोखिम छँदै थियो ।
उनका साथीहरु भन्थे,“नम्बरी तिमीलाई त खाली खुट्टा नेपाल फर्काउलान् जस्तो छ यिनीहरुले ।”
उनी पनि कुनै दिन बिना पेन्सन खाली खुट्टा नेपाल फर्कनु पर्ने परिस्थिति आइहाले त्यसको सामना गर्ने आन्तरिक तयारीमा लागे । तर नेपाल फर्केपछि बरु सर्टरमा सानोतिनो दोकानै भए पनि चलाएर बसौँला, कम्तिमा टाउको लुकाउने एउटा छानो चाहिँ जोडिहालौँ भन्ने भयो उनलाई । त्यसपछि पहिलो छुट्टीमै आफ्नो गाउँ हात्तिखर्कनजिकैको सहरोन्मुख जङ्क्सन पाख्रिबासमा एउटा घर ठड्याइहाले । त्यतिबेला उनी २४ वर्षका नवयुवक थिए । उनको गतिविधि नियाली रहेका साइनोमा फुपाजु पर्ने अवकासप्राप्त गोर्खा मेजर झप्तमान लिम्बू पनि उनलाई सम्झाउँथे,“भदा, तिम्रो यस्तै गतिविधिले त चाडै तिमीलाई खाली खुट्टा नेपाल पठाउँछन् है !”
तर उनको गतिमान लय रोकिनेवाला नै कहाँ थियो र ? “प्रवासी वेदनाका आवाजहरु” १० अङ्क छापियो । पल्टनघरभित्र साहित्यिक उभार आयो । लेख्ने मन भएको तर आँट नभएकाहरुमा पनि ऊर्जा भरियो । यस्ता ऊर्जाभरा साहित्यिक गतिविधिमा इश्वर चाम्लिङ, सुरेन्द्र इङ्नाम, विष्णु जिमी, काङमाङ नरेश, मिजास तेम्बेहरुले पनि पल्टनघरभित्र जम्जमाएर सिर्जनाको विगुल बजाउन थाले ।
विश्वासदीपको अर्को विशेषता हो, सूचना प्रविधिमा पहुँच । विशुद्ध साहित्यिक अनलाइन पोर्टल खोल्ने पहिलो स्रष्टा हुने कीर्तिमानका हकदार पनि हुन् उनी ।
११ वर्षअघि १८ वर्ष ब्रिटिश पल्टनमा गोर्खाली बूटले लेफ्ट–राइट गरेर उनले पेन्सन पकाए । पेन्सन पाक्नुलाई पनि आफ्नो जीवनमा गोरु ब्याएको घटना बराबर ठान्छन् । कुनै पनि दिन खाली खुट्टा घर फिर्ती हुनुपर्ने जोखिमलाई सहजतापूर्वक ग्रहण गर्दै साहित्य र राजनीतिमा आफ्नो नाम लेखाउँदै आएका उनका लागि पेन्सन पनि गोरु ब्याएको बराबर हुने नै भयो ।
पेन्सन पकाएपछि केही समय बिश्राम लिए लेखन र राजनीतिबाट । अनि सुरु गरे आफ्नो अधुरो अध्ययनलाई । अन्तराष्ट्रिय सम्बन्ध विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका उनको अबको एउटा धोको छ, विद्यावारिधि गर्ने । चट्टानमा फुल्न सिकेका उनका लागि यो पनि असम्भव छैन ।
पछिल्लो समय उनी राजनीति र एनआरएन अभियानमा छन् । राजनीतिमा अशोक राई र एनआरएनमा शेष घलेको निकट रहेर उनको नेतागिरी चलिरहेछ ।
उनको नेतागिरी पनि अचम्मको छ । २०६४ मा उनी बहालवाला लाहुरे नै थिए, त्यसबेलाको चुनावमा उनी नेपाली आएर ढुक्कैले माओवादीलाई सघाए । परिणाममा उनका दाजु हरिराज खेवाले संविधान सभाको चुनाव जिते, पछि अर्थ राज्यमन्त्री पनि भए । २०७० सालको चुनावमा हरिराज फेरि उठे, तर उनले सघाएनन् । किनकि उनी आफै तत्कालिन संघीय समाजवादी पार्टीको समानुपातिक उम्मेदवार थिए । अचम्म पनि कस्तो भने चुनावमा उम्मेदवार हुँदा ब्रिटिश सेनामा उनको पेन्सन पाक्न दुई महिना बाँकी नै थियो ।
उनको नशामा राजनीति कतिसम्म दौडिरहेको छ भने हालै उनी आफू बसोबास गर्ने बेलायतको आस्फोर्ड क्षेत्रको काउन्सिलमा पनि चुनाव लडे, तर केवल ६ मतले उनले पछि परे ।


अनि मेरो पनि गुरु
लामो समयको अन्तरालपछि विश्वासदीपसँग पोर्तुगलमा भेट भयो । उनी बेलायतबाट साउने सक्रान्ति मनाउँदै युरोपस्तरमा सुरु गरिएको लिम्बूवान प्राज्ञिक वहसको पहिलो श्रृङ्खलामा विद्वत् विचार ब्यक्त गर्न आएका । विगत एक दशकदेखि म पनि पोर्तुगलमा सुखदुःखको भारी खेपिरहेछु, हामी दुई भाईको यहीँ भेट भयो ।
यहीँ अवसरमा उब्रिएको समयलाई हामीले घुमफिरमा बितायौँ । युरोप महादेशको दक्षिण पश्चिममा पर्ने अन्तिम चोसो कोबो दा रोकामा पुगेर एकैछिन टहलिदा विश्वासले आश्चार्य भावहरु आफ्नो आँखाभरि जम्मा गरेर सोधे, “होइन हौ दाई, यो परदेशको बसाईमा तपाईँ यतिको इतिहास अध्ययन गरेर कसरी लेखिरहनुभएको छ ? विदेशै बसेर चार वटा त कितावै छापिसक्नुभयो !”
“यो सबै तिमीबाटै सिकेको त हो”, मैले सहज भएर उनको जिज्ञासा मेटाउने प्रयास गर्दा उनले त थप उत्तेजित हुँदै सोधे,“होइन, कसरी त्यस्तो हुन सक्छ ? मबाट के सिक्नुभयो ?”
पल्टनघरमा बसेर करिअरमै आइपरेको जोखिमपूर्ण हुण्डरीबाट पनि विश्वासदिप तिगेलाले आफ्नो सिर्जनाको टुकी निभ्न नदिएको प्रसङ्ग माथि परिसकेको छ । बास्तवमा अध्ययन र लेखन फुर्सद वा अनुकुलताहरुको बसिबियाँलो होइन रहेछ, यो त रुवा बनाउन आफूछेउ भएर उडीहिड्ने सिमलको भुवाहरुको जोहो रहेछ, जसलाई टिप्न फुर्सद वा अनुकुलताहरु पर्खेर हुँदैन । लेखनको विषय पनि कतिखेर मनमा आइपुग्छ, थाहा नहुँदोरहेछ । त्यस्ता विषयहरु मनमा आउनेबित्तिकै टपक्क टिपिहाल्नुपर्दोरहेछ । हो म पनि त्यसै गर्छु, मनमा आइपुग्ने विषयहरुलाई टपक्क टिप्छु, केलाउँछु अनि निफन्छु ।
परदेशमा प्रतिकुलताहरु अनगिन्ति छन्, लेखेर साध्य चल्दैन । तर गरीबै भए पनि धीरताले, अनुहार कुरुपै भए पनि विनयशीलताले जसरी जीवनलाई सुशोभित बनाउन सकिन्छ, उसैगरी समयको प्रतिकुलताहरुसँग जुझ्दै लेख्नुको आनन्द नै बेग्लै हुँदोरहेछ । गमलामा मालीको स्याहार पाएर फुलेको फूल के फूल ? आँधी, असिना, हिउँ, तुसारो र खडेरीहरु झेलेर पहरामा फुलेको फूल पो फूल !
उमेरमा मभन्दा धेरै कान्छो, तर सिकाईका क्रममा विश्वासदीप तिगेला पनि डण्डजीजस्तै मेरा गुरु ।
“तिमीले पनि त कति प्रतिकुलताहरु झेल्यौ नि परदेशी जीवनमा, त्यस्ता प्रतिकुलताहरुले तिमीमा कहिल्यै विचलन ल्यायो भाई ?” मैले उल्टै विश्वासदीपसँग प्रतिप्रश्न गरेँ ।
त्यसपछि आफ्नो स्वभावअनुसार सम्भव भएसम्मको सबै दन्तलहर खोलेर उनी फिस्स हाँसे,“ओहो, हगि दाई ?”




