November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कविता: बाटाकी साथीलाई

सुरेन्द्र परदेशी लिम्बू
२०८२ श्रावण १७

2.7K


कुम्भकर्णको कुम–उकालो चढ्ने
भुइँकुहिरोका केही गुम्बजहरू
फालेलुङको ओसिलो हावा बोकेर
तमोरको गडतिरतिर झरिरहेका छन्
म एकैछिन चौतारामा बिसाएर जिन्दगी
त्यही कुहिराको लयमा थकाइ मेटिरहेको छु ।

उः माथि होला पोरोक्मी यम्फामिबाको गाउँ
म मनको उडानमा मुन्धुमी शक्ति जोड्छु
कर्याङ्कुरुङको हूलमा मिसिएर
सृष्टिभूमि मुनातेम्बे खप्पुतेम्बे पुग्छु
उमेरको ओरालो पनि सकिन लागेको छ,
श्रीअन्तुको डाँडामा घाम पर्खिनेहरूसँग
चिहानको डिलमा मृत्यु पर्खिनेहरूको
भावनात्मक समीकरण हुन सक्दैन
त्यसैले त समय र जीवनको कित्ता फरक छ ।

ओलिम्पस पर्वतको ईश्वरसँग
देउलिङ्गेको देउता या मेछ्यायेमको मेन्छ्या
रामायणको राम या जेरुसेलमको जिसस
शक्ति र भक्तिले त अवश्य फरक नै होला
एकचोटि ढोगेर मुक्कुमलुङ देवीलाई
हाँकेको–ताकेको पूरा गर्ने शक्ति माग्छु
मैले हिँड्ने ज्ञात–अज्ञात बाटाहरूमा
आस्थाका देवी–देवताबाट साथ माग्छु
जीवन भन्नु पनि त अज्ञात यात्रा न रहेछ ।

Advertisement

फेरि उठेर हिँड्नुअघि
मथिङ्गलमा सम्झनाको झल्को आउँछ
बाटामै छुटेका थुप्रै बाटाका साथीहरू
अचानक मेरो मौनता तानेर बोल्छिन् उनी
तपाईँ येबा शिरधोजको घर जानु हुने हो नि ?
म झस्किएर सोध्छु, तिमी को हौ नानी ?
म उतैकी मान्छे हुँ, जाऔँ म बाटो देखाउँछु
शिरधोज जान्ने येबा, म जोखाना हेराउन आएको
म अघिअघि उनी पछिपछि, बाटो देखाउँदै लगिन्
साँझको घाम पहेँलिएर डाँडामा पुगेको छ
उ त्यही हो शिरधोजको घर, उनी बाटो छुटिन् ।

अहिले म शिरधोजको पिँढीमा बसेको छु
आँगनमा छन् चुम्लुङका पञ्च–भलाद्मीहरू
सिकुवामा छन् येबा, साम्बा र फेदाङ्माहरू
औँसी–पुर्ने आत्मा खेल्छन् भन्ने जनविश्वास छ
त्यसैले आज तीनराते चिन्ताको तयारी चल्दै छ
भित्तामा भर्खरै मलाई पुर्याउनेको ठूलो फोटो छ
यो नानीको घर त कता पो ?
म सम्बालाई सोध्छु
शिरधोजकी कान्छी छोरी खसेको एक महिना भो
सुनेर म छक्क पर्छु
आफैँमाथि अविश्वास गर्छु
अचम्मले सम्झिरहेछु मेरो बाटाकी साथीलाई ।
०००