लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन् । अन्य दुई प्रतिष्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई फराकिलो मतान्तरले पराजित गर्दै उनी अध्यक्ष्यमा निर्वाचित भएका हुन् ।
निर्वाचित पुडासैनीले १४८२ मत प्राप्त गर्दा गोविन्द खरेलले ९७७ र मनिष खत्रीले ४९६ मत प्राप्त गरेका थिए ।
यस्तै, खुला उपाध्यक्षमा उज्ज्वल कार्कीले १८८४ र डा रक्षा थापाले १७२७ मत प्राप्त गरी निर्वाचित हुँदा शम्भु अर्याल र ज्ञानेन्द्र आलेले क्रमशः ११९६ र ९६१ मत पाएर उपविजेता बनेका छन् ।
स्कटल्यान्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा रामप्रसाद कंडेल १६०८ प्राप्त गर्दै विजयी बने भने शशी कार्की ११७४ मतसहित उपविजेता बने ।
यस्तै, महासचिवमा विजयी दिवाकर पाण्डेले १६६० मत पाए भने उपविजेता पुण्य रेग्मीले १२०१ पाए ।
खुला सचिवमा डिएन खराल १८७९ र कृष्ण देवकोटा २३०९ मतसहित विजयी बने भने भूपाल कार्की १३५६ मतसहित उपविजेता बने ।
यस्तै, आइसीसी सदस्यमा विष्णु खरेल २३२५, तुंगभद्र भुषाल २२०७ र छविलाल अर्याल २०१५ मत ल्याएर विजयी भए । देउमान इजम १८५३ मत ल्याएर उपविजेता बने ।
इंग्ल्यान्ड राज्य परिषद अध्यक्षमा राममाया विष्ट थापाले १०६९ मत पाएर विजयी हुँदा अहिल्या कुंवर ३ सय ४४ मतसहित उपविजेता भइन् ।
एनआरएनए यूके अध्यक्ष निर्वाचित पुडासैनीले संस्थालाई अझ सदस्य केन्द्रित, जवाफदेही, समावेशी र एकवद्ध बनाउने दृढ संकल्प व्यक्त गरेका छन् ।
पुडासैनीका लिडरसीप क्राइसीसबीच संघलाई रिब्रान्डिङ, वृहत्तर राष्ट्रवाद (एक्सटेन्डेड नेशनलिजम), संस्थागत एकता सुदृढ संगठन, दुःख र आपतकालमा सहारा, युवा तथा दोश्रो पुस्तालाई एनआरएनप्रति आकर्षण, लगानी, ज्ञान र सीप हस्तान्तरण गरि सुन्दर नेपाल निर्माणमा योगदान, भूतपूर्व गोर्खा र वरिष्ठ नागरिकको सम्मान, नेपाली कला संस्कृतिको संरक्षण र पहिचान, एकपटकको नेपाली सधैंको नेपाली भएकाले मातृभूमिसंग जोडिइराख्न वंशजको नेपाली नागरिकता निरन्तरता, संघसंस्थाहरुसंगको सहकार्य, विज्ञहरुको सञ्जाल निर्माण, पुस्तान्तरण अभियान, दीगो र भरपर्दो एनआरएन, सबै नेपालीको आस्थाको पुञ्ज साझा घर ‘नेपाल हाउस’ बनाउने जस्ता मुख्य एजेन्डा छन् ।