काठमाडौं । प्रथम नेपाली तारा गायक दीपक लिम्बूको एकल गायन कार्यक्रम हुने भएको छ ।
‘दीपक लिम्बू स्वर्णिम साँझ २०८२’ नाम रहेको कार्यक्रमलाई भदौ २८ गते शनिबारको दिन ओएसआर म्युजिक प्रा.लि.ले आयोजना गर्ने भएको हो ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको मेघा हलमा ऐतिहासिक सांगीतिक कार्यक्रमको आयोजना हुने कुरा कार्यक्रमका संयोजक आशिष भट्टराईले जानकारी गराएका छन् । गायक दीपक लिम्बूको जन्मदिन एवं उनी नेपाली तारा भएको २० वर्ष पूरा भएको सुखद अवसर पारेर यो कार्यक्रमको आयोजना गर्न लागिएको समेत संयोजक भट्टराईले बताएका छन् ।
प्रसिद्ध सङ्गीतकार एवं सङ्गीत संयोजक अशोक लोहरुङ राईको सङ्गीत निर्देशनमा २४ जना वाद्यवादकहरुको लाइभ वाद्यवादनका साथमा गायक लिम्बूले आफ्ना लोकप्रिय २१ गीतको प्रस्तुति दिनेछन् । हरेकपटक ७ वटा गीत प्रस्तुत गरिसकेपछि गायक लिम्बूले केही समयका लागि विश्राम लिनेछन् भने सो समयमा दर्शकहरुको मनोरञ्नका लागि नृत्य प्रस्तुत गरिने छ । समारोहमा केही अग्रज कलाकर्मी र प्रायोजकहरुलाई सम्मान समेत गरिनेछ भने कार्यक्रम केही टेलिभिजन र रेडियोबाट लाइभ प्रसारण हुने छ ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नका लागि फरक फरक जिम्मेवारीका साथ आशिष भट्टाराईको संयोजकत्वमा १६ सदस्यीय आयोजक कमिटी गठन भएको छ ।
नेपाली सङ्गीत आकाशका अत्यन्तै लोकप्रिय गायक दीपक लिम्बूको जन्म सुनसरी जिल्लाको साविक प्रकाशपुर गाबिस–८ र हालको बराहक्षेत्र नपा–१० मा पिता रण बहादुर लिम्बू र माता आशारानी लिम्बूको सन्तानको रुपमा भएको थियो ।
२०५७ सालमा ‘ब्राइटर तिम्रो सुर मेरो जित’ र २०५८ सालमा ‘प्रथम पूर्वाञ्चल खुल्ला आधुनिक गीत प्रतियोगिता’ का विजेता दीपक लिम्बूले २०६२ सालमा प्रतिस्पर्धात्मक देशव्यापि गायन शो ‘प्रथम नेपाली तारा’ को टाइटल जितेका थिए । संगीत सुगमका सबैजसो शैलीका गीतमा उत्तिकै पारङ्गत दीपक आधुनिक र चलचित्र गीत गायनका लागि धेरै लोकप्रिय छन् । उनका ‘मैले त्यही भएर मन पराको, नाइँ नभन्नू ल, मुटु माग्यौ तिमीले, यहाँ देशको छ चिन्ता, सागर बरु सुकेर गैजाला लगायतका दर्जनौं गीत लोकप्रिय छन् ।
नेपालकै सबैभन्दा धेरै लाइभ कार्यक्रमका संगीत निर्देशक बहुआयामिक सङ्गीतकर्मी अशोक लोहरुङ राईको संगीत निर्देशन रहने भएकोले यो कार्यक्रमको सांगीतिक पक्ष उत्कृष्ट रहने र दीपक लिम्बूजस्ता सर्वप्रिय कलाकारको पहिलो एकल गायन कार्यक्रम भएकोले दर्शक÷श्रोताको पनि ऐतिहासिक रुपमा सहभागिता रहने आयोजकले विश्वास व्यक्त गरेका छन् ।