आदिवासी फिल्म महोत्सवमा एउटा प्यानल डिस्कसनका लागि प्यानलिस्टका लागि आमन्त्रित थिएँ । स्थान माथि सुकेधारा, चलचित्र विकास बोर्डको भवनमा थियो । स्वास्थ्य उपचारमा तङ्ग्रिदै गरेको म जस्तो मनुवालाई किर्तिपुरबाट सुकेधारा आऊजाऊ गर्नु निकै चर्को भयो ।
नेपाली समाज थियटर कल्चरको होइन, जति चिनियाँ, बङ्गाली वा अन्य समुदाय छन् । असीको दसकमा ‘सिँदुर’ चलचित्र पहिलो बनेको थियो र भनिन्थ्यो, ‘स्टैमन कलरको पहिलो रङ्गीन चलचित्र सिँदुर !’
आदिवासी समाजको फिल्म बन्ने कुरो त कहाँ हो कहाँ !
त्यसो त गैरआदिवासी फिल्मले पनि समाजको चित्रण गर्छ, किनकी मानवीय चरित्रको साझेदारी जुनसुकै समाजमा रहन्छ । त्यसो भए आदिवासी चलचित्र किन जरुरी छ ? किनकी आदिवासी समाजको भिन्न भाषा, संस्कृति, इतिहास र विश्वदृष्टिकोण भएकोले त्यो चलचित्रमार्फत प्रतिविम्बित गर्न चाहिएको हो ।
याक्थुङ (लिम्बु) समाजको पहिलो चलचित्र वरिष्ट निर्देशक नविन सुब्बाले ९० तिर ‘तरेबा’ बनाए । उक्त फिल्ममा नायिकालाई बजारबाट तानेर लगेर घरजम गरेको सिन आलोचित रह्यो । नायिकालाई उसको अनिच्छामा तानियो भनेर आलोचना भयो । याक्थुङ समाजमा केटी केटासितको लामो सम्बन्धपछि घरजम गर्न दुबै मन्जुर भए पनि केटाको पछि,पछि केटी लुरुलुरु जाने नभई केटा पक्षले तानेर लग्न सक्नु पर्छ । त्यसरी लग्दा मात्र केटीको बैयक्तिक तथा माइतीको इज्जत, सान–मान रहन्छ भन्ने मूल्य र मान्यता केटीको हुन्छ । केटीलाई २÷४ जना साथीहरुको सहयोगमा केटाले तानेर लग्नै पर्छ । त्यो पक्ष सिनेमाको कथाले नमाग्दा सिनेमा आलोचित बन्यो ।
पोलियान्ड्री फिल्ममा महिलालाई बारम्बार सोधिन्छ, ‘तपाईंलाई अप्ठ्यारो भएन ?‘ भनेर । कस्तो अप्ठ्यारो ? सोध्ने स्वयमको अप्ठ्यारो सोधिरहेको हुन्छ । किनकी उक्त महिलालाई साँस्कृतिक, लैङ्गिक, यौनिक वा पारिवारिक रूपमा कुनै अप्ठ्यारो भएकै हुन्न । उनले भनिरहेको छ,‘छैन ।‘ बरू बहुपतिहरूलाई मातृसत्ताको अधिनमा पाउनुले उनी शक्तिशाली पात्र भएकी कस्ले बुझ्ने !? आजको समाजमा निजि लोग्ने÷स्वास्नीको मान्यताले छिन्–छिनमा झगडा र रिसरागले सम्बन्ध आक्रान्त छ । अर्कोतिर पोल्यान्ड्रि प्रथाले आदिवासीय मातृसत्ता प्रधानतालाई अभ्यास गर्दछ, त्यसको महत्व चलचित्रको माध्यमबाट कसरी उजागर गर्ने?
क्रसकजिन म्यारिज अर्को आदिवासीको मौलिक र भिन्न प्रथा हो, जसका कारण परिवारको निर्माणको पहिलो दिनबाट नै शान्ति र मैत्री कायम हुन्छ । किनकी बुहारी स्वयम् फुपू वा माईजूको बुहारी बनेर घर भित्रिँदा सँगसँगै परिवारमा शान्ति र मैत्री भित्रिन्छ । त्यो अभ्यास समाजको लागि सकारात्मक सँस्कृति हो ! सासु–बुहारीको झगडाले परिवार जलेको अनेकौं घटनाको अघि क्रसकजिन विवाह पद्दतिले परिवारमा शान्ति छाइरहेको आदिवासीवादको मौलिक पक्ष छ ।
आदिवासी फिल्म बन्दा लोप हुन लागेको भाषाको शुद्ध हिज्जेदेखि बुझिनेगरी सम्बादको नितान्त जरुरी छ । नत्र भाषा सँस्कृतिको संरक्षणको नाउँमा सतही खेलबाड मात्र भईरहेको छ कि !? अझ कुनै पनि चरित्रको क्यारिकेचर जस्तोः फुलन्देको बाउ÷आमा, तक्मेबुढा, ‘कल्चरल एप्रोप्रिएसन’ आपत्तिजनक कार्य हुन् । सभ्य समाजले पचाउन्न । कुमार सागरको गीतको मामला सबैलाई जानकारी भाकै कुरो हो ।
आजसम्म करिब ८ सय फिल्महरु बनेको तथ्याङक दिइयो । तर तिनले समाज परिवर्तनको लागि कति काम गरे ? लेखाजोखा भने सायदै कसैसित होला ।
हिजो आदिवासी चलचित्र निर्माणमा, वितरणमा र आदिवासीको प्रतिनिधित्व गरिने राज्यको नीति भएकोमा, आज आएर राज्य अन्देखा बन्दै गएको गुनासो सुनियो । हो, हिजोको आदिवासी आन्दोलनको रापतापले आदिवासीको पक्षमा सोझिएको राज्य आज बाङ्गिएको सर्वत्र अनुभव छ । तर, सँगसँगै अर्को प्रश्न पनि उठ्छ– आदिवासी चलचित्र अभियन्ताहरुले आदिवासीको भिन्न र विशिष्ट विश्वदृष्टिकोण, जुन आदिवासीको मात्र हितमा नभई आम मानव जीवनको लागि महत्वको छ, त्यो प्रष्ट्याउन नसक्दा राज्यले महत्व दिन छाडेको हो कि !?
आदिवासी चलचित्रको कथा के हो ? त्यसको आफ्नै विचार, कला, भाषा, गीतसंगीत, दर्शनको अभावमा सामाजिक, वैचारिक चलचित्र बन्दैन । त्यसले समाजमा परिवर्तन ल्याउँदैन । आदिवासी समुदायले बनाएका फिल्महरू डोमिनेन्ट धारको तुलनामा ठुलो धनरासी खर्चेर बनिरहेका फिल्म हुन् । ति व्यापारिक र फगत मनोरञ्जनको लागि बनाउने आदिवासी चलचित्रकर्मीलाई सुविधा हुन्न ।
जस्तोः यही महोत्सवमा भाग लिन मैले दुई दिन समय दिएँ । ३१ सय रूपैयाँ ट्याक्सी खर्च गरेर कीर्तिपुरदेखि सुकेधारा आवतजावत गरेँ । तर, पैनल डिस्कसनमा आदिवासी चलचित्रकर्मीको सहभागीता प्रायः शून्य थियो । पैनालिस्टको डिस्कसनपछि प्रश्नोत्तरको लागि फ्लोर ओपन गर्दा एउटा प्रश्न गर्ने चलचित्रकर्मी, अभियन्ता, दर्शक भेटिएन । मनमनै गमे– ‘जुन समाजमा प्रश्न गर्ने व्यक्तिको अभाव खट्किन्छ, त्यो समाजमा गतिशिलताको अभाव हुन्छ । स्टैटिक बन्छ र ज्यू– हजुरको सँस्कृति मौलाउँछ !’ कतै आदिवासी समाज त्यो दिशामा उन्मुख भएको त होइन !?
लेखक डा बालकृष्ण माबुहाङ् त्रिभुवन युनिभर्सिटीका सहप्राध्याक हुन् । यो लेख लेखकको फेसबुकबाट साभार गरिएको हो ।




