प्रणय लिम्बूको निर्देशनमा बनेको वृत्तचित्र “उर्मी”को ट्रेलर हेर्दै थिएँ । दिवङ्गत कवि विमल गुरुङका बुबा पूर्णबहादुरमाथि बनेको यो वृत्तचित्र हो । वृत्तचित्रमा पूर्णबहादुर आफ्ना दिवङ्गत छोराको आनीबानी कस्तो थियो ? भन्ने जिज्ञासा राख्दै धरान बुद्धचोकबाट विमलका समकालिन रेल्वेलाइनका कुलचन्द्र न्यौपानेलाई सोध्न पुग्छन् । कुलचन्द्रले पनि विमलबारे आफूले देखेको र सुनेको जति बताइदिन्छन् ।
आफ्नै छोराको आनीबानीबारे छोराका साथीलाई सोध्नुपर्ने बडो विडम्बनापूर्ण बाध्यता पूर्णबहादुरलाई कसरी आइपर्यो ? यो प्रश्न सिधै राज्यतिर सोझिन्छ । ब्रिटिशलाई खुसी पार्न राणाहरुले नेपाली र त्यसमा पनि नाक थेप्चा र आँखा चिम्साहरुलाई दशैँ बजारको खसी बोका झैँ छानी छानी, जिउडाल छामी छामी गोरखा भर्तीको नाममा समर्पण गरिदियो । पहिले गाउँका जिम्मुवाल मुखियाहरु लगाएर लाहुरका लागि युवाहरुलाई जबरजस्ती गरियो, पछि त्यो संस्कृति बन्यो र नेपाली युवाहरु रहरले लाहुर गए । पछिल्लो समय बाध्यताले लाहुर गइरहेका छन् ।
पूर्णबहादुरले पनि आफ्नो सम्पूर्ण बल र बैँश लाहुरमा खर्च गरे । उनी विदेशमा, छोरा छोरी भने धरानमा । १९ वर्षकै उमेरमा असामयिक रुपमा विमल हामीबाट खोसिएको बेला पूर्णबहादुर ब्रुनाईमा लेफ्टराइट गर्दै थिए । छोराको निधनपछि उनले विदेश यात्राको आफ्नो बाटोलाई सधैँको लागि बन्द गरे र लागे छोरा विमलको अपुरो सपना सुम्सुम्याउन । अहिले विमलको स्मृतिमा निर्मित पुस्तकालय कुरेर बसेका छन् उनी । वृत्तचित्रको ट्रेलर हेर्दा उनी कुलचन्द्रलाई सोधिरहेका थिए,“मेरो छोरा विमलको आनीबानी चाहिँ कस्तो थियो त बाबु ?”
आफ्ना दिवंगत छोराबारे पूर्णबहादुरको यस्तो निर्दोष जिज्ञासा देखेर मेरो आँखा अलिकति पिरो भयो, अनि परेली केही ओसिलो ।
विमलको त्यो सादगीपन
मैले यसअघि नै लेखिसकेको छु, विमलको घरमा म एक वर्ष छोरा भएर बसेँ । मलाई विमलले नै प्रयोग गर्ने गरेको कोठा उपलब्ध गराइएको थियो । कोठामा विमलले प्रयोग गर्ने गरेको दराज उसैगरी ठिङ्ग उभिएको थियो । दराजभित्र ह्याङ्गरमा झुण्डिएको एउटै मात्र गाढा निलो रङको कोट थियो, अरु केही थिएन । आमाको चाहनाअनुसार विमलको त्यो कोटलाई चाहिॅ सुरक्षित राखिएको रहेछ ।
विमलको घरको मैले नुन खाएको छु, पानी पिएको छु ।
आमा सरस्वतिलाई म छेमा भन्थेँ, अनि बुबा पूर्णबहादुरलाई मामा ।
विमलकै उमेरका हामीहरु मामा र छेमाका लागि असाध्यै प्रियकर लाग्थ्यौँ । एक दिन छेमा र म बार्दलीमा बसेर सुखदुःखका कुरा गरिरहेका थियौँ । विषयको सेरोफेरो विमलमाथि नै केन्द्रीत थियो ।
घरअगाडीको सडक हुँदै बुद्धचोकबाट भानुचोकतिर यात्रु बोकेर एउटा रिक्सा बढिरहेको थियो । तर बाटो केही उकालो भएकोले यात्रुको भार बोकेको रिक्सा पाइडलको भरले दौडाउनु सम्भव थिएन । त्यसैले रिक्सावाल ह्याण्डल समाएर मरीमरी रिक्सा घचेटिरहेका थिए ।
“बाबु, विमल त यस्तो रिक्सा चढ्नै मान्दैनथ्यो । रिक्सा चढ्नै परे चोकमा गएर रिक्सा लिन्थ्यो, तर चढ्दैनथ्यो । यसरी ठेलेर लैजाने ठाउँमा उत्रेर रिक्सासँगै ठमठम हिड्थ्यो । अलि तेर्सो ठाउँमा रिक्सा सजिलै गुड्ने भएपछि मात्रै रिक्सा चढ्थ्यो”, छेमा बिमलको आनीबानीबारे बेलिविस्तार लगाइरहेकी थिइन् ।
विमल सानैदेखि असाध्यै मानवीय थिए । रिक्सावाललाई पीडा हुन्छ भनेर रिक्सा ठेल्नुपर्ने ठाउँमा उनी रिक्साबाटै आर्लेर रिक्सावालाका लागि भार कम गरिदिन्थे ।
विमल थिए, हुनेखाने लाहुरेका एक्लो छोरा । लाहुरेका छोरा छोरी भन्नासाथ हाम्रो नजरमा आउने औसत चित्र हो, ब्राण्डेड विदेशी लुगाजुत्ता । विदेशी तडकभडक । पुग्दो पाकेटखर्च ।
तर विमल चाहिँ बाबुआमाले विदेशबाट पठाइदिएको ब्राण्डेड लुगाजुत्ता सबै साथीभाईलाई बाँडिदिदा रहेछन् । कपडाको चाइनिज जुत्ता, साधारण प्यान्टसर्ट अनि काँधमा प्रायः नछुट्ने घरबुना झोला हुन्थ्यो, विमलको पहिरन । खाऊँखाऊँ लाऊँलाऊँ लाग्ने त्यो उमेरमा विमलको यस्तो सादगी ब्यवहारको मुख्य कारण थियो, उनको अध्ययनशीलता । त्यो उमेरमा उनी चुर्लुम्मै माक्र्सवादी अध्ययनमा डुबेका थिए । उनी सर्वहाराको जबरजस्त पक्षधर थिए, त्यसबेला । आफूले पढेको दर्शनलाई ब्यवहारवादी अनुशरणको अभ्यास गरिरहेका थिए ।
उसबेलाको माक्र्सवादीहरुले गर्ने यस्तो अभ्यास अहिले दन्त्यकथाजस्तो लाग्छ ।
त्यो समय अनुशासन पनि कति लौहपूर्ण थियो भने विमलभन्दा एक दुई वर्षमात्रै जेठा भए पनि विमलले सघनसङ्गत गरेका कवि तथा रङ्गकर्मी रमेश केसी तथा नविन सुब्बाहरु पनि विद्यार्थी कार्यकर्ताको रुपमा त्यसबेला धरानमै माक्र्सवादी स्कूलिङमा थिए । त्यसबेला जिन्स पाइन्ट लगाएकोले नविन सुब्बामाथि पार्टीले कारवाही गरेको बेला बेलामा उनीबाट सुन्न पाइन्छ ।
पैसा चोरेकोमा पछुतो
बुबा र आमा प्रायः विदेशमा । यता विमल र बहिनी मात्रै धरानको घरमा । उता बुबा आमाले पठाएको सिमित खर्चले घर चलाउनुपर्ने । बहिनी शान्ति मीतब्ययी अनि विमल पनि सागदी ।
तर विमललाई कहिलेकाहिँ केही फाल्टु पैसा पनि चाहिने । खासमा उनी चुरोटको लतमा थिए । चुरोटको लतजस्तै उनमा अर्को चर्को लत थियो, पत्रपत्रिका र पुस्तक किन्नु र पढ्नुपर्ने ।
छोरालाई पुस्तक र पत्रिका अनि चुरोट खर्च भनेर विदेशबाट बुबा र आमाबाट फाल्टु पैसा आउने त होइन । त्यसमा पनि विमलको आदर्शले त्यस्तो पैसा माग्न मिल्दै मिल्दैनथ्यो ।
बेलाबेलामा उनी बहिनीको पैसा चोर्दारहेछन् । मीतब्ययी बहिनीले एक एक गरी हिसाव र गणना गरी राखेको पैसा तलमाथि हुनासाथ उनको शङ्काको खाँडो दाजु विमलतिरै तेर्सिदोरहेछ । बहिनीले दाजुको सातो झार्ने रहिछन्,“यसले फेरि पैसा चोरेछ !”
“मैले कहाँ पैसा चोरेको हो र ? झिकेको पो त”, विमल हाँस्दै जवाफ फर्काउँदारहेछन् ।
यसरी बहिनीलाई सहज रुपमा हाँसेर पैसा चोरेको होइन, झिकेको भन्ने विमलको भित्री मन भने पैसा चोरेको प्रायश्चितले भतभती पोल्दोरहेछ ।
विमलको घरमा एक वर्ष बस्दा मैले उनको डायरी पानाहरू एकएक गरी पल्टाउने अवसर पाएको छु । परिवारजनले उनका डायरीहरू बडो जतनले रुमालमा बाँधेर सुरक्षित राखेका थिए ।
अहिले सुन्छु, डायरी कसैले छाप्न लागेको फिर्ता भएको छैन रे !
डायरीका केही पानाहरुमा उनले पैसा चोरेको उल्लेख गरेका छन् । “मैले आज फेरि पैसा चोरेँ, थाहा पाइहाले मैले के जवाफ दिने होला ?” उनले केही दैनिकीहरुमा यस्तो लेखेका छन् ।
मैले एक दिन छेमा सरस्वतिलाई सोधेँ, “होइन, विमलले पैसा चाहिँ कति चोर्ने गर्दाेरहेछ ?”
छेमाबाट उत्तर आयो,“विचरा, कति पो चोर्नु र बाबु ? त्यहीँ दश बीस त होला नि !”
अनि पैसा चोरेको आरोपमा बहिनीले सातो लिदा विमल भन्थे,“मैले पैसा कहाँ चोरेको हो र झिकेको पो त !”
दाजु विमल र बहिनी शान्तिबीचको यस्तो संवाद सुनाउँदै छेमा मरी मरी हाँस्नुहुन्थ्यो ।
उहाँ यसरी हाँसिरहेको देख्दा मलाई लाग्थ्यो, छेमामा अलिकति भए पनि छोराको न्यास्रो मेटियो ।
लागू पदार्थको लतमा
एक समय धरान नगरका युवा तथा किशोर पुस्तालाई एउटा नराम्रो हुण्डरीले छोएको थियो । त्यो थियो, लागूपदार्थले लठ्ठ हुने, सारा संसार बिर्सेर विन्दास बन्ने । त्यो हुण्डरीबाट विमलले पनि आफूलाई जोगाउन सकेनन् ।
उनले यो कुरा अग्रज कवि तथा लेखक श्यामललाई सुनाएका रहेछन् ।
उनी काठमाडौँ रातोपुलको घरमा केही महिना बस्न जाँदा स्वयम्सेवी पत्रकारको रुपमा साप्ताहिक “दृष्टि”मा धाउन थालेछन् । अन्यत्रै राम्रो जागिर भएका श्यामल पनि दृष्टिका लागि सेवा गरिरहेका थिए । छोटो समय विमल दृष्टिसँग जोडिए । कलिलो उमेरका विमलको परिपक्व लेखन शैलीले लेखनका अग्राख भइसकेका नारायण ढकाल र श्यामल पनि मज्जाले पग्लिएछन् ।
श्यामलले एक रात विमललाई आफ्नो घर लगेका रहेछन् । त्यसैबेला कोठाको भित्तामा एउटा माउसुली यताउता गरिरहेको देखेपछि विमलले भनेछन्,“दाईलाई यो टिकटिकेबारे थाहा छ ? हारामी नशा दिन्छ ।” माउसुलीले कसरी नशा दिन्छ ? यसबारे श्यामललाई विमलले अनुभवसिद्ध ब्याख्या गर्दै यसले युवाहरुलाई कसरी बिगारिरहेको छ भन्ने सुनाउँदा आफूलाई यो कुराले करेन्ट जसरी छोएको श्यामलले दृष्टि साप्ताहिकको वर्ष ८ अङ्क २९ (२०४८ जेठ १, पृ.६) मा प्रकाशित विमलको सम्झनामा लेखेको लेखमा उल्लेख गरेका छन् ।
तर अध्ययन, सिर्जना, समाज र जीवनप्रतिको दायित्त्ववोधले आत्मबलको भरमा विमलले छोटै समयमा त्यो कुलतबाट मुक्ति पाए ।
विमललाई मन परेकी केटी
विमललाई डायरीहरू पल्टाउने क्रममा थाहा भयो, उनलाई एकजना केटी खुब मन परेको रहेछ । उनले दैनिकी लेखनका क्रममा केही पृष्ठमा आफूलाई मन परेकी “उनी”को बारेमा पनि उल्लेख गरेका छन् ।
डायरीमा उनीप्रति केही भावुक प्रेमभावहरु प्रकट भएका छन् । तर डायरी पढ्दा एकतर्फी प्रेम हो कि भन्ने लाग्छ । विमललाई ती केटी मन परेको स्पष्ट छ । तर उताको तर्फबाट विमल मन परेको या नपरेको केही उल्लेख छैन । ती केटीको गतिविधि अलि परैबाट तर गम्भीरतापूर्वक विमलले केही समययतादेखि नियाल्दै गरेको र उनीप्रति विमल दिनदिनै आकर्षित हुँदै गएको देखिन्छ । तर उनीहरू दुईबीच संवाद भएको प्रसङ्ग डायरीमा नपरेकोले विमलले आफूले प्रेम गर्न थालेको ब्यक्तिसम्म आफ्नो प्रेमभाव शब्दमार्फत् पुर्याउन नपाइरहेको वा त्यो पुर्याउने आँट जुटाउन नसकिरहेको पनि डायरी पढ्दा अनुभूत गर्न सकिन्छ । तर विमलले मन पराएको केटी को हुन् ? यसबारे मैले केही पत्तो लगाउन सकिनँ । खासै सोधीखोजी पनि गरिनँ ।
१८/१९को कल्कलाउँदो उमेरमा विपरित लिङ्गीप्रति प्रेमभाव उत्पन्न हुनु, कसैलाई मन पराउनु अस्वभाविक पनि होइन । तर माथि पनि भनिसकेँ, विमल लौह अनुशासनमा बाँधिएका किशोर थिए । त्यसैले आफूमा उत्पन्न प्रेमभावलाई उनले छताछुल्ल पार्न चाहेनन् । बरु चुपचाप डायरीमा लेखे, प्रेमपत्र भने लेख्न सकेनन् ।
यस्ता प्रतिभा हामीबाट खोसिएको पनि साढे तीन दशक हुन लागेछ । २०२८ साल कात्तिक १९ गते हङकङमा जन्मिएका विमलको २०४८ साल वैशाख २४ गते धादिङको जुकेपानीमा भएको बस दूर्घटनामा परी असामयिक निधन भयो । देशले एउटा प्रतिभा गुमायो ।




