लन्डन, बेलायत । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री उमाकान्त चौधरी आगामी जुन २१ देखि २७ सम्मको लागि बेलायत भ्रमणमा आउन लागेका छन् । उनको भ्रमण युनिभर्सिटी अफ हडर्सफिल्डको निमन्त्रणामा हुन लागेको जनसमपर्क समिति बेलायतका सभापति युवराज गुरुङले मिडियालाई जानकारी गराए ।
हडर्सफिल्ड विश्वविद्यालयको ’स्कूल अब ह्युमन एण्ड हेल्थ साइन्स’ द्वारा आगामी जुन २५ र २६ मा आयोजना हुन लागेको तेस्रो वार्षिक ’ग्लोबल कन्सोर्टियम फर पब्लिक हेल्थ रिसर्च’ सम्मेलनमा पूर्वस्वास्थ्य मन्त्री चौधरीको सहभागिता हुने कार्यक्रम तय भएको छ ।
बारा जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट वि.सं. २०५६ र २०७४ मा संघीय सांसद तथा २०६४ मा संविधानसभा सदस्यमा निर्वाचित चौधरीले अघिल्लो कार्यकालमा खानेपानी मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। त्यसअघि उनी २०६३ मा कृषि तथा सहकारी राज्यमन्त्री र २०६५ मा स्वास्थ्य मन्त्री समेत बनेका थिए ।
उनी यस पटक पत्नी गायत्री देवी थारुनी र छोरी डा. अर्चना चौधरीसहित बेलायत भ्रमणमा आउनेछन्। एक हप्ते बसाइका क्रममा चौधरीले बेलायतमा रहेका नेपाली संघसंस्था, राजनीतिक कार्यकर्ता, र समुदायसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम समेत तय भएको छ ।
यसैबीच, नेपाली जनसम्पर्क समिति, बेलायतले पूर्वमन्त्री चौधरीसँगको औपचारिक भेटघाट कार्यक्रम आयोजना गर्ने जनाएको छ । समितिका सभापति युवराज गुरुङका अनुसार जुन २२, आइतबारका दिन पश्चिम लन्डनस्थित फेल्थमको ’नमस्ते गोर्खा रेस्टुराँ’ मा कार्यक्रम हुने भएको हो ।
सभापति गुरुङले बेलायतवासी सम्पूर्ण प्रजातन्त्रप्रेमी नेपालीजन तथा नेपाली कांग्रेसप्रति आस्थावानहरूलाई उक्त कार्यक्रममा उपस्थित भई पूर्वमन्त्रीसँगको विचार आदानप्रदानमा सहभागी हुन आह्वान गरेका छन् ।




