November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

अविरल वर्षाका कारण पाटीगाउँमा ८० लाख बढी जनधनको क्षति

2.7K

मोरङ । अविरल वर्षाका कारण मोरङ जिल्लाको केराबारी गाउँपालिका वडा नं. १ पाटीगाउँ माेेरङको जनजीवन प्रभावित भएको छ । शुक्राबारदेखि करिब १४ घन्टाको अविरल वर्षाका कारण लाखौंको क्षतिसमेत भएको छ ।

अविरल वर्षासँगै सडक खण्ड पुर्णरुपमा क्षति भएको छ ।चट्याङको कारण  पाटीगाउँमा मात्र गोरु- ४ गाई -१ र सुँगुर -१ गरी ६ घरपालुवा जनावर मरेको जानकारी  आएको छ ।

विशाल राईको घरको किचनसहित सुँगुर बगाएको छ भने कुलबहादुर लिम्बु, शेरबहादुर लिम्बू , मनोज लिम्बूका घर आंशिक क्षति भएको छ। यस्तै, ददीकुमार राई, महानन्द राईको घर पुर्णरुपमा क्षति भएको छ ।

Advertisement

वर्षाका कारण कृषकहरुको अदुवा, मकै, फूलकोपी लगायतका नगदे बालीमा सबै भन्दा धेरै पुगेको टोल बिकास अध्यक्षहरूले जानकारी दिएका छन् ।

यस्तै, विद्युत र ईन्टरनेट सेवामा  पुर्णरुपमा समस्या देखिएको छ।लामेचौरी ट्रान्सर्फमर र समला,राट्माटे,किकिदुम र जिम्बाडाडा सञ्चालन भएको विद्युत ट्रान्सर्फमर  चट्याङका कारण जलेर पूर्णरुपमा क्षति भएको छ । १० वटै खानेपानीको मुहानहरु बाढीले बगाएको छ।

बाढीले १ नं. वडा पाटीगाउँको तथ्यांकअनुसार मात्र लगभग ८० लाख भन्दा बढीको क्षति गरेकाे अनुमान रहेको जानकारी दिएका छन् । वडा अध्यक्ष शरण थापा मगर भन्छन्, ‘अविरल वर्षाका कारण भएको क्षतिप्रति वडाको ध्यान गएको छ। सडक आजबाटै खोल्ने प्रयास गरिरहेका छौं । सबै क्षति वडाको तर्फबाट जति सक्दो अनुगमन र सम्बोधन गर्ने प्रयास गर्नेछौ ।’

अविरल वर्षाका कारण मानवीय क्षति नभएको जानकारी आएको छ ।