काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको गलत काम, क्रियाकलापको कारण प्रतिगामी तत्त्वले धमिलो पानीमा माछा मार्ने दुष्साहस गरेको बताएका छन् ।
शनिबार काठमाडौंमा नेवाः राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले तर देशमा देखिएको प्रतिगामी षड्यन्त्र सफल हुन नदिने बताएका हुन् ।
उनले भने, ‘अहिले प्रतिगामी षड्यन्त्र जो देखा पर्न खोजेको छ । त्यो यथार्थमा अघि एकजना कम्रेडले भनेको जस्तैः सरकारका गलत काम, क्रियाकलापका कारणले धमिलो पानीमा माछा मार्ने दुस्साहस जस्तो गरिरहेका छन्, त्यो सफल हुनेछैन ।’
तत्कालीन समयमा संविधान नबन्ने देखिएपछि केही विषयमा सम्झौता गरिएको भन्दै उनले अब यथास्थितिवाद र प्रतिगामी षडयन्त्रविरुद्ध सबै उत्पीडित वर्ग र जाति समुदाय अगाडि बढ्नुपर्ने बेला आएको बताए । अन्य दलसँग तालमेल गरेर अघि बढ्दा त्यसको परिणाम जनतामा राम्रो नभएकाले आफ्नै बलमा निर्वाचन लड्नका लागि पार्टीलाई बलियो बनाउने अभियानमा आफू रहेको पनि उनले बताए ।
‘इनफ इज इनफ भनेजस्तै भयो । हामीले कहिले कसैसँग कहिले कसैसँग समन्वय गर्दा त्यसको परिणाम जनतालाई राम्रो भएन’, उनले भने ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले राष्ट्रिय विभूति शंखधर साख्वाको सम्मान र आदर्शलाई पछ्याउँदै गरिब किसानहरूको ३० हजारसम्मको ऋण मिनाहा गर्ने निर्णय आफू प्रधानमन्त्री हुँदा गरेको स्मरण गरे । ‘मैले जेजति आदिवासी जनजातिको पक्षमा प्रधानमन्त्रीको हैसियतले गर्न सकें, सबभन्दा पहिला शन्खधर साँख्वा राष्ट्रिय विभुतिलाई सम्माम औपचारिक रुपले गर्ने मात्रै होइन, वहाँका आदर्श पछ्याउँनुपर्छ भनेर पहिलोचोटि प्रधानमन्त्री हुँदा मैले गरिब किसानहरूको ऋण मिनाहा गर्ने निर्णय गरेको थिएँ । ३० हजारसम्मको ऋण’, उनले भने, ‘मिनाहा पनि भएको थियो । त्यो शन्खधर साँख्वाप्रतिको सम्मान र वहाँको आदर्शप्रति अगाडि बढ्ने मेरो प्रतिबद्धता, हाम्रो दलको प्रतिबद्धता र नेपाल सरकारको त्यतिबेलाको प्रतिबद्धता थियो ।’
उनले नेवार समुदायको समुदाय, भाषा, पहिचान स्थापित नभएसम्म माओवादीले साथ नछाड्ने प्रतिबद्धतासमेत जाहेर गरे ।