April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

पूर्वाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र संकायले दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

सुजता लिम्बु
२०८१ मंसिर ६

650

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र संकायको आयोजनामा पहिलोपटक ‘प्रारम्भिक बाल विकास इकोसिस्टमको परिकल्पन’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयले आज पत्रकार सम्मेलनको आयोजना गर्दै मङ्सिर २१ र २२ गते विराटनगरको बिग होटलमा सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

सम्मेलनमा नेपाल, अमेरिका, मलेसिया, भारत बंगलादेश लगायत १५ भन्दा बढी देशका प्राज्ञ, नीतिनिर्माताहरू, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको सहभागिता रहने पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक डा. अनिल कुमार पोखरेलले जानकारी दिए ।

Advertisement

उनकाअनुसार नेपालमा प्रथमपटक आयोजित यस अन्तर्राष्ट्रिय सम्मेलनमा बालविकासका क्षेत्रमा प्राज्ञिक बहस र विमर्श गराउने मुख्य उद्देश्य राखिएको छ । यस सम्मेलनमा बालबालिका लक्षित नीति, विशेष आवश्यकता भएका बालबालिकाहरुको हेरचाह, बालविकासका क्षेत्रमा आवश्यक जनशक्ति, पेशागत विकास र नैतिकता, जलवायु परिवर्तन र त्यसले बालबालिकालाई परेको प्रभाव बालबालिकाको पोषण तथा यसले बाल विकासमा पारेको प्रभाव, प्रारम्भिक बाल्यकाल विकासमा नवप्रवर्तन आदि विषयमा ४० भन्दा बढी सहभागीहरुले आफ्नो अध्ययन अनुसन्धान प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

विभिन्न देशका विशिष्ट व्यक्तित्वहरुको धारणा तथा विविध प्रकारका कार्यशालाहरुसमेत आयोजना गरिने डा.पोखरेलले जानकारी दिए ।

कार्यक्रममा बालबालिकाहरूका सर्वाङ्गिण विकासका अवसरहरूको गुणस्तर र पहुंच सुधार एवं सुनिश्चित गर्ने विषयमा बहस केन्द्रित हुने साथै प्रस्तुत भएका कार्यपत्र एवं कार्यशालाहरुबाट विश्वविद्यालयले भविष्यमा शिक्षाशास्त्र संकाय अन्तर्गत रहने गरी सम्बन्धि अध्ययन/अनुसन्धान गर्ने केन्द्र सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको उनको भनाई छ ।

उनकाअनुसार कार्यक्रमले बालविकासका क्षेत्रमा नया एवं समाजको आवश्यकता अनुसारका स्नातक, स्नातकोत्तर लगायतका विशेष कार्यक्रमहरुको पहिचान गर्न र सो अनुरुप कार्यक्रमहरु थप गर्न सघाउ पुग्ने विश्वास विश्वविद्यालयको रहेको छ ।

सम्मेलन आयोजनाका लागि काठमाडौँ महानगरपालिका, विराटनगर महानगरपालिका, नविल बैंक, प्लान इन्टरनेशनल, सेभ द चिल्ड्रेनलगायतका विभिन्न संघसंस्थाहरुको सहयोग रहेको पूर्वाञ्चल विश्वविद्यालयले जनाएको छ ।

यो सम्मेलनको शिक्षक उत्पादन गर्ने उदेश्य रहेको र अन्तर्राष्ट्रिय सम्मेलनले ल्याएको निष्कर्षले अगाडी बढ्ने जनाइएको छ ।