काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा बद्री केसी र अस्ट्रेलियन राजदुत लियन जोनस्टनवीच भेट भएको छ ।
मंगलबार काठमाडौंस्थित अस्ट्रेलियाली दूतावासमा भएको भेटमा उप-मिशन प्रमुख ग्रेल क्लेम पनि सहभागी थिए ।
भेटमा अस्ट्रेलियामा भिसा कार्यालयको लागि लबिङ, अस्ट्रेलियाली अर्थतन्त्रमा प्रवासीको योगदानको मान्यता, छात्रवृत्ति अवसरको वृद्धि, सांस्कृतिक आदानप्रदान, व्यापार र द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने योजनाहरूमा चर्चा भएको एनआरएनएले जनाएको छ।
यस्तै विद्यार्थीहरूका लागि प्री- डेपाचर ओरिएन्टेशनको व्यवस्था, आगामी अन्तर्राष्ट्रिय महिलाहरूको सम्मेलनको योजना लगायतमा पनि छलफल भएको छ ।
यस भेटले नेपाल र अस्ट्रेलियाबीचको सम्बन्धलाई थप सुदृढ पार्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको एनआरएनए अध्यक्ष डा केसीले बताए ।
उक्त भेटका क्रममा संघका अध्यक्ष डा बद्री केसीसँगै प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत पनि उपस्थित थिए ।