November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

काठमाडौंमा चलचित्र चे को विशेष प्रदर्शन

1.6K

काठमाडौं। याक्थुङ जातिको शवलाई गाडिने स्थलको सम्बन्धमा निर्माण भएको चलचित्र ‘चे’ (शव) राजधानीस्थित कमलपोखरीको बिग मूभिजमा मंगलबार विशेष प्रदर्शन भएको छ।

चलचित्र विकास बोर्ड अन्तर्गतको आदिवासी जनजाति मातृभाषी फिल्मका संयोजक, चलचित्र निर्माता ज्योतिराज राई, चलचित्र निर्देशक समाजका महासचिव अरुण प्रधान, निर्देशक सागर सुब्बा, याक्थुङ मुन्चइत् चोक् सयङका निवर्तमान अध्यक्ष सूर्यप्रकाश चेम्जोङ लगायतको उपस्थितिमा चलचित्रको प्रदर्शन गरिएको थियो ।

पूर्वी नेपालमा बसोबास गर्दै आएका आदिवासी जनजाति याक्थुङ (लिम्बू) समुदायको संस्कृतिमा आधारित चलचित्र ‘चे’ हेर्न राजधानीस्थित याक्थुङ (लिम्बू) समुदायका अगुवा, साँस्कृतिक अभियन्ता, युवा–युवती र बृद्ध–बुद्धासम्म उक्त मल्टिप्लेक्स पुगेका थिए।

Advertisement

भौतिक विकास गर्ने क्रममा प्राकृतिक एवं साँस्कृतिक सम्पदाहरुको बिनास गरिंदा निम्तिने समस्याको कथालाई चलचित्रमा भनिएको छ । चलचित्रले विकास निर्माणको क्रममा समाधीस्थलहरुको बिनास गरिएका सन्दर्भ र त्यसले निम्त्याएको समस्यालाई देखाउन खोजेको छ ।

याक्थुङ (लिम्बू) समुदायले भोग्नु परेको समस्यालाई चलचित्र मार्फत आम दर्शकलाई देखाउन खोजेको निर्देशक केरुङले बताए। दुई घन्टा लामो फिल्ममा आधुनिक विकासले निम्त्याएको द्वन्द्वको कथा छ। चलचित्रमा विकासको नाममा प्राकृतिक तथा साँस्कृतिक सम्पदा मास्न खोज्ने र जोगाउन खोज्नेबीचको द्वन्द्व देखाइएको छ।

याक्थुङ (लिम्बू) भाषामा ‘चे’ को अर्थ ‘लास’ हुन्छ। फिल्मले मानिस मरेपछि जमिनमुनि गाड्ने परम्परा बोकेको लिम्बू समुदायको समस्यालाई उजागर गरेको छ। आदिवासी लिम्बूबस्ती पाँचथरका विभिन्न स्थानमा छायाङ्कन गरिएको चलचित्रमा आधुनिक विकासले आदिवासीलाई कसरी लास सरह बनाउदै लगिरहेको छ भन्ने कुरा देखाउन खोजेको छ।

चलचित्रमा सागर केरुङ, बिमला खजुम, यासेली योङहाङ, निसाम तुम्बापो, भवेन्द्र थाम्सुहाङ लगायतको अभिनय छ । याक्थुङ फिल्मस् प्रा.लि.का लागि इन्दु फोम्बो र सबु लिम्बू थाम्सुहाङले निर्माण गरेको ‘चे’ लाई देश–विदेशका विभिन्न स्थानमा स्क्रिनिङ् गरिने निर्देशक केरुङले बताए।