लन्डन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली राजनीतिमा आफ्नो जस्तो निष्ठा जो–कोहीको नभएको दाबी गरेका छन् । भ्रमणका क्रममा बेलायत आइपुगेको उनले मंगलबार लिङ्देन समाज यूकेले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै ‘भ्रष्टचार गरेर खानु आमाको रगत खानु सरह हो’ भन्ने मान्यता स्थापित गरेको दाबी गरेका हुन् ।
फेल्थामस्थित नमस्ते गोर्खा रेस्टुरेन्टमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले भने, ‘भ्रष्टचार गरेर खानु आमाको रगत खानु सरह हो मात्रै भनेको छुइनँ, आजसम्मको यति लामो राजनीतिक जीवनयात्रामा १ रुप्पे भ्रष्टाचार गरेको छुइनँ भनेर जुनसुकै मन्दिरमा छिर्न सक्छु भनेर मैले संसदमा उभेर भनेको छु । त्यसकारण मैले जुन निष्ठाकासाथ काम गरेको छु, त्यही निष्ठाका कारण तपाइँहरुले विश्वास गर्नुभएको छ । त्यसमा कुनैप्रकारको धोका हुँदैन । यो जीवनमा त के, अर्को जीवनमा पनि धोका हुँदैन । यसले बेइज्जतै ग¥यो भन्ने तपाइँहरुले सुन्नु पर्दैन । राजेन्द्रको नाम लिँदा तपाइँहरुले लाज मान्नु पर्दैंन ।’
उनले आफू सिंगै देशको कुरा बोकेर हिँडेको भन्दै दाजुभाइलाई झनै नविर्सिने बताए । उनले भने, ‘आफ्नो दाजुभाइलाई के बिर्सुला र ? जुन धरातल छ, त्यो त कसरी बिर्सुँला र ?’
उनले आफ्नो दाजुभाइको मतको आवश्यकता रहेको पनि बताए । लिङ्देनले आफ्ना दाजुभाइहरुलाई भने, ‘तपाइँको छोरा/नाती/काका/दाइले एउटा संभावना बोकेर ल्याएर आयो त देशमा ! त्यसबेला तपाइँहरु चाहीँ डराउनुभयो भने त, हैन यसले काम टार्छ के ? भन्नुभो होला ! आज तपाइँहरुले मात्र हैन, सिंगो देशले एकचोटी तँलाई प्रधानमन्त्री भएको हेर्ने मन छ भनिराखेको छ । अब आफ्नो मान्छेहरुले चाहीँ डराउनुभयो, अफ्ठयारो मान्नुभयो भने त उस्कै परिवारले पत्याको छैन, हामीले बेक्कारमा बोकेर हिँडेछौं भनेर बाटैमा छोडिहाल्मछन् नि !’