November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एमाले र माओवादीले देखाएको बाटोबाट देश सफल हुँदैनः सिटौला

1.3K

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले एमाले र माओवादीले देखाएको बाटोबाट देश सफल नहुने अभिव्यक्ति दिएका छन् । नेपाली कांग्रेस झापा–काठमाडौं सम्पर्क समितिले शनिबार बत्तिसपुतलीमा गरेको कार्यक्रममा बोल्दै सिटौलाले उनीहरुले देखाएको बाटोमा हिँडेर नेपाल सफल नहुने बताएका हुन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सभामा कांग्रेस दल नेतासमेत रहेका सिटौलाले भने, ‘चाहे माओवादीसँग वा एमालेसँग सहकार्य भएको अवस्था होस्, उनीहरूले देखाएको बाटोमा नेपाल हिँडेर सफल हुन्छ भन्ने मलाई विश्वास छैन ।’

कांग्रेसले देखाएको बाटोमा एमाले र माओवादीलाई हिँडाउन सकेमात्र नेपाल सफल हुने भन्दै सिटौलाले भने, ‘उहाँहरूलाई बाटो देखाउने गरी हाम्रो नीतिचाहिँ बनाउनुपर्छ, तयार हुनुपर्छ । सबैलाई सहमतिमा जुटाएर संविधान संशोधनदेखि आर्थिक प्रगतिका लागि काम गर्न सक्छौं ।’

Advertisement

उनले देश बनाउने कांग्रेसले नै भएकोले मनोबल उच्च बनाउन कार्यकर्ताहरूलाई आग्रह पनि गरेका छन् ।

‘प्रधानमन्त्री, सभामुख, मुख्यमन्त्रीलगायत झापा एमालेको हुनुहुन्छ,’ सिटौलाले भने, ‘हाम्रो पनि संगठनको हिसाबले महामन्त्री विश्वप्रकाश शर्मा झापाकै हुनुहुन्छ। तर देशको पावर हेर्दा खर्लप्पै एमाले झापाको छ।’

सँगसँगै २०८४ को चुनावसम्म एमालेसँगै जाने भए पनि चुनावमा भने कांग्रेसको प्रतिस्पर्धा एमालेसँगै हुने उनले बताए।