March 12, 2025, Wednesday
२०८१ फाल्गुन २९
1:37:26 pm

मेरो अभिव्यक्तिको पूर्ण अंश र आशयलाई तोडमोड गरी अतिरञ्जित र विवादित बनाउने प्रयास गरियो: चौधरी

805

काठमाडौं । ‘लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतको दाबी पुग्छ’ भन्ने अभिव्यक्तिलाई लिएर विवादमा आएका नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले आफूले अभिव्यक्त गरेको पूर्ण अंश र आशयलाई तोडमोड गरी विषयलाई अतिरञ्जित गर्दै विवादित बनाउने प्रयास गरेको भन्दै प्रष्टीकरण दिएका छन् ।

पार्टीका उपमहासचिव तथा सांसद चौधरीले आफूले एक टेलिभिजनमा चुच्चे नक्साका सन्दर्भमा गरेको टिप्पणीलाई केही सेकेन्डको भिडियोलाई मात्र काटेर सामाजिक सञ्जालमार्फत दुष्प्रचार गरिएको भन्दैु शुक्रबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा भनेका छन्, ‘न मेरो त्यस्तो आशय थियो न त नियत नै । कार्यक्रममा मेरो अभिव्यक्ति हेर्ने सुन्ने जो सुकैले यो सजिलै बुझन सक्नुहुनेछ ।’

पाँच बुँदे स्पष्टीकरणमा चौधरीले मुलुकको भौगोलिक अखण्डता, स्वतन्त्रता, सार्वभौमसत्ता र पार्टी जीवनको विषयमा गम्भीर र संवेदनशील रहेको र रहने भन्दै मुलुकको भौगोलिक अखण्डता,स्वतन्त्रता र सार्वभौमसत्ताप्रति प्रतिबद्ध रहेको समेत जनाएका छन् ।

Advertisement

महाकाली सन्धिको कारणले नै भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा दाबी गरिरहेको र महाकाली सन्धि नै सच्चाउनु’ पर्ने विषयलाई इंगित गरेको उनले बताएका छन् ।

उनले भनेका छन्, ‘म मुलुकको अखण्डता, सार्वभौमसत्ता र स्वतन्त्रताप्रति प्रतिवद्ध रहने कुरामा कुनै आशंका नगर्न आग्रह गर्दछु । र, उक्त भूभाग हाम्रो पार्टीको समेत दाबीका आधारमा संविधानको अंग बनाइएको कुरामा म सदैव सचेत थिए, छु र रहने छु ।’ उनले नेपाल भारतवेष्ठित भएकोले बीआरआई सम्झौता कार्यान्वयनमा जोड दिँदै आएको कुरा पनि उल्लेख गरेका छन् ।

प्रष्टिकरणमा थप भनेका छन् ‘म मुलुकको भौगोलिक अखण्डता, स्वतन्त्रतता, सार्वभौमसत्ता र पार्टी जिवनको विषयमा गम्भिर र संवेदनशील छु । उपरोक्त विषयको अहित र आँच पुग्ने गरी न कुनै अभिव्यक्ति दिएको थिए, न दिएको छु, न त भविष्यमा दिन्छु नै । म सधैँ मुलुकको भौगोलिक अखण्डता, स्वतन्त्रता र सार्वभौमसत्ताप्रति प्रतिबद्ध रहेको थिए र रहिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।’

उनको विवादीत अभिव्यक्तिपछि महासचिव घनश्याम भुसालले बिहीबार चौधरीलाई तीन दिनभित्र लिखित स्पस्टीकरण दिन निर्देशन दिएका थिए ।चौधरीले भोलिपल्टै प्रष्टीकरण दिएका हुन् ।