April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सदन र सडकबाट प्रभावकारी भूमिका निर्वाह गनुपर्ने माओवादीको निश्कर्ष

780

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले देश र जनताका जल्दाबल्दा विषयमा सदन र सडकबाट प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने निश्कर्ष निकालेको छ ।

आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बागमती प्रदेशका नेता तथा कार्यकर्ताको बैठकमा धारणा राख्ने ८२ जना नेताले जनताको कार्यसूचीमा पार्टीले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका हुन् ।

पार्टीलाई प्रभावकारी बनाउनका लागि वर्गतिर फर्कनुपर्ने, विगतका गल्ती तथा कमजोरीलाई आत्मआलोचना गर्नुपर्ने, सङ्गठन निर्माणमा विशेष जोड दिनुपर्नेलगायत समसामयिक राजनीतिक विषयमा नेताहरूले आ–आफ्नो धारणा राखेका थिए ।

Advertisement

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीभित्र निरन्तर बहस र छलफल भइहेको र केन्द्रीय समितिको बैठकसम्म जारी रहने जानकारी दिए । उनले पार्टीभित्र देखिएको भनिएको विवाद समाधान भइसकेको बताए ।

आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीले निर्वाह गर्ने भूमिका तथा सङ्गठन विस्तारलगायतका विषयमा आफ्नो धारणा राखेका थिए ।

उपमहासचिव जनार्दन शर्माले पनि आफूले स्थायी समिति बैठकमा राखेको लिखित धारणाका बारेमा जानकारी राख्दै पार्टीलाई सुधार र जनमुखी बनाउने आफ्नो ध्येय रहेको बताए ।

बुधबारदेखि सुरु भएको सो बैठकमा बागमती प्रदेशका नेता तथा कार्यकर्ताले पार्टीको समग्र अवस्था आगामी दिनको भूमिका, जनपरिचालन, सङ्गठन निर्माणलगायत विषयमा आफ्नो धारणा राखे ।